दोलखामा विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काटियो

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ३०
नेपाल विद्युत प्राधिकरण दोलखाले लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काटेको छ । विद्युत महशुल संकलन विनियामावली २०७७ मा भएको व्यवस्था अनुसार दुई महिना भन्दा बढी लामो समयसम्म विद्युत महशुल नतिर्ने एक सय २० जना ग्राहकको विद्युत  लाइन काटेको हो । मिटर रिडिङ गरेको ६० औं दिनसम्म ग्राहकले विद्युत महशुल नतिरेमा प्राधिकरणले सम्बन्धित ग्राहकलाई थाहै नदिई जुनसुकै समयमा पनि लाइन काट्न सक्ने विनियामावलीमा उल्लेख छ ।
प्राधिकरणका अनुसार जिल्लामा दुई करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता रकम उठाउनको लागि तिहार सकिएलगतै महशुल नतिर्ने ग्राहकको पहिचान गरी लाइन काट्न सुरु गरिएको थियो । हालसम्म उद्योग तथा निजी आवाससहित गरी एक सय २० ग्राहकको लाइन काटिएकोमा चार लाख ५० हजार रुपैयाँ संकलन भएको छ । ग्राहकले बक्यौता भुक्तान गरेपछि पाँच सय रुपैयाँ जरिवाना तिराएर पुनः लाइन जोड्ने काम भइरहेको प्राधिकरणका प्रमुख मेघराज ढकालले बताउनुभयो ।
मिटर रिडिङ भएपछि समयमैँ महशुल बुझाएमा बिल रकमको केही प्रतिशत छुटको व्यवस्था रहेको छ । यस प्रकारको व्यवस्था भएपनि ग्राहकले लामो समयसम्म महशुल तिर्न अटेर गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो “ समयमैँ बिजुलीको महशुल बुझाएमा छुट पाइन्छ । तर लामो समयसम्म महशुल प्राधिकरणले लाईन काट्नेदेखि अन्य कारबाही गर्न सक्छ । त्यसैले समयमै बिल भुक्तानी गरी जरिवाना एवं प्रशासनिक झन्झटबाट बच्नुहोस् । चरिकोट, मैनापोखरी, जफे, जिरी, सिंगटी, भैँसे, बाघखोर, खरिढुँगा युनिटबाट महशुल भुक्तानी गर्न मिल्छ । भने अनलाइनबाट पनि भुक्तानी गर्न सकिन्छ ।
प्रमुखको रुपमा एक महिना अघि आएका ढकालले जिल्लामा गुणस्तरीय विद्युत सेवा निरन्तर उपलब्ध गराउनको लागि आफू प्रतिबद्ध भएर काम गरिरहेको सुनाउनुभयो । साथै उहाँले विद्युत चोरी नियन्त्रणका लागि योजना बनाएको बताउनुभयो । विद्युत सस्तो पैसामा बाल्न सकिने बनाइएपनि चोरेर बाल्नेहरु पनि रहेकोले उनीको सामान जफत गर्नेदेखि प्रहरी लगाएर पक्राउ गर्ने लगायतका कारबाही गर्ने उहाँले बताउनुभयो । केही दिनपछि छापामार शैलीमा विद्युत चोरी गर्नेहरु रहेको स्थानमै गएर कारबाही गरिने उहाँले सुनाउनुभयो ।
बिजुलीको पोल प्रयोग गर्नेहरुको अटेरी
जिल्लामा इन्टरनेट तथा टेलिफोन सेवा कम्पनीहरुले बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिर्न अटेर गरिरहेका छन् । प्राधिकरणले पोल प्रयोग गर्ने कम्पनीहरुलाई पत्र पठाएर कार्तिक मसान्तसम्मभित्र पोल भाडा सम्भmौताको लागि आउन भनेको थियो । प्राधिकरणले सम्झौताको लागि आउन दिएको अवधि मंगलबार सकियो । तर कुनैपनि कम्पनी प्राधिकरणको सम्पर्कमा नआएको प्रमुख ढकालले बताउनुभयो ।

इन्टरनेटको लागि बिजुलीको पोल भाडा नबुझाई प्रयोग गरिएको भन्दै असोजमा इन्टरनेटको तार काट्ने देशव्यापी कार्यक्रमअन्तर्गत दोलखा बजारको एउटा पोलमा टांगिएको तार काटिदिएको थियो । त्यसपछि केन्द्रमा छलफलपछि कम्पनीहरुले पोल भाडा तिर्ने सहमति गरेपछि काटिएको तार पुनः जोडिएको थियो । जिल्लामा कार्तिक मसान्तसम्म पोल भाडा सम्झौताको लागि आउन समय दिइएकोमा इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक कम्पनीले उक्त समय गुजारेका हुन् । सम्झौताको लागि आउन नमान्ने विरुद्ध प्राधिकरणले केन्द्रको निर्देशन अनुसार कार्य गरिने प्रमुख ढकालले बताउनुभयो । जिल्लामा सुविसु, एरोनेट, वल्र्डलिंक लगायतका कम्पनीहरुले इन्टरनेट सेवा प्रवाह गरिरहेका छन् । तर यी कम्पनीहरुले प्राधिकरणलाई भाडा नतिरी बिजुलीको पोल प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा विद्युत महशुल नतिर्ने ग्राहकको लाइन काटियो"

Leave a comment

Your email address will not be published.


*