दोलखामा वन पैदावरबाट ३८ लाखभन्दा बढी राजस्व संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १
डिभिजन वन कार्यालय दोलखाले गत आर्थिक वर्ष २०७५÷०७६ मा वन पैदावरबाट ३८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
जिल्लामा रहेका सामुदायिक तथा निजी वनको काठ तथा गैरकाष्ठजन्य पैदावरबाट ३८ लाख ७८ हजार ९ सय ५ रुपैँया राजस्व संकलन गरेको हो ।
डिभिजन वन कार्यालयका अनुसार ३८ लाख १ सय ४६ क्यु फिट परिमाणको काठ बिक्रि गरि ३८ लाख १ हजार ४ सय ४६ रुपैँया राजस्व संकलन गरेको छ । वन उपभाेक्ताहरुले उतिस, सल्ला, पाटेसल्ला र चिलाउने लगायतका अन्य काठहरु जिल्लाको विभिन्न स्थान र जिल्ला बाहिर बिक्री गरेको थियो ।
त्सैगरी १ लाख ४ हजार २ सय २ परिमाणको गैरकाष्ठबाट ७७ हजार ४ सय ४२ रुपैँया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालय वर्षेनी जडिबुटीबाट मात्रै लाखौँ रुपैँया राजस्व संकलन गर्दै आएको छ । गत आर्थिक वर्षमै १ लाख ४ हजार २ सय २ केजी उत्पादित जडिबुटी बिक्री भएको कार्यालयका अधिकृत तथा सुचना अधिकारी शम्भु बराइलीले बताए ।
जिल्लामा मच्छिनो ९ हजार ७ सय ९७ केजी, अर्गेलो १४ हजार ८ सय ७४ केजी, चुथ्रो ९ हजार ९ सय ५०, लोक्ता ३ हजार ८ सय ३० केजी, मजिठो २ हजार ६ सय, तितेपाती १ हजार ५ सय केजी परिमाणमा बिक्रीवितरण भएको उनले बताएका छन् ।
साथै खोटो ४७ हजार ८ सय ७३, नागबेली पाउडर २ सय २३, लौठसल्ला २० हजार २ सय ५०, कोइला १ हजार २ सय, नेपाली कागज ९ सय २२ केजीको परिमाणमा बिक्री भएको उनले बताए ।
चालु आर्थिक वर्षमा कार्यालयमा विभिन्न कार्याक्रमका लागि २ करोड ८३ लाख ४१ हजार रुपैँया प्राप्त भएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रमका लागि १ करोड ३५ लाख ५६ हजार, वन्य जन्तु तथा वासस्थान संरक्षण कार्यक्रमका लागि ३ करोड ३ लाख ३० हजारबजेट विनियोजित भएको छ ।
त्यसैगरि वृक्षारोपण निजी तथा शहरी वन कार्यक्रमका लागि ६८ लाख ९५ हजार, वातावरण संरक्षण कार्यक्रम २६ लाख ६० हजार, जडिवुटी विकास आयोजनाका लागि ४९ लाख रुपैँया बजेट विनियोजित भएको कार्यालयले जनाएको छ । जिल्लाको २ लाख १४ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमध्ये ४७ दशमलब ३७ प्रतिशत वन क्षेत्र रहेको छ । १३ दशमलब ७७ प्रतिशत क्षेत्र भने घाँसे भूमिले ढाकेको छ ।

Shares

Be the first to comment on "दोलखामा वन पैदावरबाट ३८ लाखभन्दा बढी राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*