दोलखामा वन अतिक्रमण बढ्यो

दोलखा–दोलखामा स्थानिय सरकार गठन भएपछि आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा अत्याधिक वन अतिक्रमण बढेको हो । दोलखाका ५० प्रतिशत वन मध्ये चार सय २६ रोपनी क्षेत्रफलको वन अतिक्रमण भएको हो । स्थानिय सरकार गठनपछि सरकारी भवन, मोटर बाटो, खेलमैदान लगायतका संरचना निर्माण गरिएकाले वन अतिक्रण अघिल्लो वर्षको तुलनामा उल्लेख्य बृद्धि भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत शम्भु बराइलीले बताए । उनका अनुसारदोलखाका जनप्रतिनिधीहरुले विकास वा अन्य कार्यका लागि डोजर प्रयोग गरी वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी वन अतिक्रमण गरेका छन् । सार्वजनिक महत्वका सामुदायिक वन अतिक्रमणमा परेका छन् । दोलखामा पछिल्लो समयमा वन अतिक्रमणबाट जलवायु परिबर्तन भई असरमा बृद्धि, भु—क्षय, बाढी पहिरो, डुवानको समस्या दिनानुदिन बढिरहेको छ । मरुभूमिकरण प्रकृयामा अत्याधिक बृद्धि, विभिन्न किसिमका प्रकोपजन्य रोग तथा किराहरुको प्रकोप बढ्न सक्ने उनले बताए । “अतिक्रमण रोक्न वन कर्मचारीको एक्लो प्रयासले मात्र सम्भव छैन ,अतिक्रण रोक्न राजनितिक तथा स्थानीय समुदायहरुको सहयोग र समझदारी आवश्यकता पर्दछ” उनले भने ।
उत्कृष्ठ कवुलियती वन समूह पुरस्कृत
डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष उत्कृष्ट कवुलियती वन समूहलाई पुरस्कृत गरेको छ । वन संरक्षण गर्ने समुहलाई कार्यालयले प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको हो । जसमा जनहित कवुलियती वन समूह, शैलुङ ५, काटाकुटीलाई नगद आठ हजारले पुरस्कृत गरिएको छ । साथै भीमेश्वर नगरपालिका २ मा रहेको रमिते कवुलियती वन समूहलाई नगद छ हजारले पुरस्कृत गरिएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी भि.न.पा. २ मा नै रहेको चक्पा गुमडाँडा कवुलियती वन समूहलाई नगद चार हजारले पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।
उत्कृष्ठ सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत
कार्यालयले उत्कृष्ठ ३ सामुदायिक वन उपभोक्ता समूहलाई नगद सहित पुरस्कृत गरेको छ । शैलुङ गाउँपालका ४ मागापौवाको सल्लेरी सामुदायिक वन उपभोक्ता समूहलाई नगद नौ हजारले पुरस्कृत गरिएको छ । त्यसैगरी गौरीशंकर गाउँपालिका २ जँुगूको लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहलाई नगद ६ हजारले पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । दमारथामी देउराली सामुदायिक वन उपभोक्ता समूह भि.न.पा. १ सुष्पाक्षमावतीलाई चार हजार नगदले पुरस्कृत गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा वन अतिक्रमण बढ्यो"

Leave a comment

Your email address will not be published.


*