दोलखामा वडाबाटै राष्ट्रिय परिचयपत्र सम्बन्धी काम सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ६
दोलखामा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र सम्बन्धी काम सुरु भएको छ । आगामी असोजसम्म जिल्लाका सबै नागरिकको परिचयपत्र बनाउने लक्ष्यका साथ वडाबाटै काम सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले नागरिकता प्राप्त गरेका नागरिकहरूको परिचयपत्र चार महिनाभित्र बनाउने उद्देश्यसहित वडास्तरबाट काम सुरु गरिएको सुनाउनुभयो । पहिलो चरणमा भीमेश्वर नगरपालिकामा वडास्तरबाटै परिचयपत्रका लागि नागरिकको जैविक र वैयक्तिक विवरण संकलन तथा प्रविष्ट गर्ने कार्य शुभारम्भ गरिएको छ । सो कार्यका लागि प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले उपकरण, सामाग्रीको व्यवस्थापनका साथै दुई जना कर्मचारी खटिने गरी एक वटा दर्ता स्टेसन स्थापना गरेको छ । नगरपालिकामा विवरण संकलन कार्य सम्पन्न भएपछि अन्य पालिकामा काम सुचारु हुने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाईँले असार १ गतदेखि नै वडास्तरबाटै राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य अभियानकै रुपमा सञ्चालन भइरहेकोले योग्यता पुगेका नागरिकले आवश्यक कागजात साथमा लिई विवरण दर्ता गराउन अनुरोध गर्नुभयो । सम्बन्धित वडाको दर्ता स्टेसनमा कार्यालय समयमा उपस्थित भई विवरण दर्ता गर्न सकिने छ । अभियानमा नागरिकको उत्साहजनक सहभागिता भई विवरण दर्ता गरिरहेका छन् । नगरमा असार १५ गतेसम्म विवरण संकलन गरिने हुँदा सो अवधिमा नागरिकता प्राप्त गरेका कोही पनि छुट्न नहुने बताउँदै प्रवक्ता चौलागाईँले वडाबाटै परिचयपत्रको लागि विवरण दर्ता गरेकाहरूले अरुलाई पनि सो सम्बन्धी जानकारी दिएर अभियान सफलताको निम्ति सघाउनुपर्ने बताउनुभयो । एक स्टेसनबाट दैनिक एक सय जना सम्मको विवरण दर्ता संकलन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र सम्बन्धी काम हुने गरेकोमा अहिले वडाबाटै सो काम हुने भएपछि नागरिकहरूले सहज भएको बताएका छन् । भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुका युविन घतानीले वडाबाटै राष्ट्रिय परिचयपत्रको काम हुने भएपछि घन्टौँको बाटो हुँदै चरिकोट बजार आउन नपरेकोमा खुशी व्यक्त गर्नुभयो । नागरिकको पहिचानका लागि विभिन्न थरिका पुराना जमानाका कागजपत्रलाई विस्थापन गरी एक वटा मात्र कागजात बोकेमा सबै सेवा उपलब्ध हुने भएपछि प्रविधि र डिजिटल युगमा परिचयपत्रको रा उपयोगिता र महत्व प्रचुर रहेको बताउनुभयो । उहाँले विवरण सङ्कलनको काम वडाबाटै हुँदा सहज भएको बताउँदै यस्तै सहजता परिचयपत्र पाउँदा पनि हुनुपर्ने माग गर्नुभएको छ ।
राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्न नेपाली नागरिकता, राहदानी लिएको भए राहदानीको सक्कल वा फोटोकपी, बसाइँसराई गरेको हकमा बसाइँसराइको सक्कलै प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको सक्कलै प्रमाणपत्र, श्रीमान् श्रीमतीको मृत्यु भएको भएको हकमा मृत्यु दर्ताको प्रमाण पत्र आवश्यक पर्छ ।  यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्र परिचयपत्रको काम हुने गरेको थियो । जसले गर्दा प्रशासनमा भीड हुने र रातीसम्म लाइन बस्नुपर्ने अवस्था थियो । तर अहिले वडास्तरबाटै सो काम गर्ने गरी भीमेश्वर नगरपालिकाबाट काम सुरु भएपछि प्रशासनमा धाइरहन नपर्ने भएको छ ।

Shares

Be the first to comment on "दोलखामा वडाबाटै राष्ट्रिय परिचयपत्र सम्बन्धी काम सुरु"

Leave a comment

Your email address will not be published.


*