दोलखामा “लामखुट्टेको बासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन

दीक्षण समाचार
चरिकोट, असोज ४
दोलखामा डेंगु संक्रमित फेला परेपछि सतर्कता अपाउन थालिएको छ । बाचौँ र बचाऔँ भन्ने अभिप्रायका साथ डेंगुको जोखिम नियन्त्रण र रोकथामका लागि सतर्कता अपनाउन थालिएको हो ।
जिल्लामा सतर्कता स्वरुप डेंगु विरुद्धको सचेतना सहित लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख उत्तमराज खनालले डेंगुको विस्तार हुन नदिन सचेतनासँगै सरसफाई अभियान सञ्चालन गरिएको बताउनु भयो । जिल्ला स्थित स्थानीय तह, सरकारी कार्यालय, स्वास्थ्यसंस्था, संघसंस्था र स्थानीयको सहभागितामा अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । सोही अनुरुप सबै स्थानीय तहमा अभियान सञ्चालन भईरहेको उहाँले बताउनु भयो ।
अभियान अन्तर्गत टोल, बजार, बस्ती वरपर सरसफाइ गर्ने, पानी जम्न नदिन खाल्डाखुल्डी पुर्ने, घाँसपात र झाडीहरु हटाउने, टायर, प्लास्टिक र सिसाजन्य फोहोरहरु व्यवस्थापन गर्ने कार्य भईरहेको छ । नागरिकलाई पनि आफ्नो घर वरिपरि सरसफाइ गर्नुका साथै शरीर ढाकिने कपडा लगाइ लामखुट्टेको टोकाइबाट जोगिन सचेतनामूलक कार्यक्रम मार्फत अनुरोध गरिएको स्वास्थ्य कार्यालय प्रमुख खनालले सुनाउनु भयो ।
“हालसम्म १३ जना संक्रमित फेला परेका छन् । अहिले उनीहरु सबै घरमा रहेको र सबैको अवस्था सामान्य छ । बाहिरी जिल्लाबाट दोलखा फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । यहीँ रहेका नागरिकमा भने डेंगु संक्रमण भएको होइन ।” उहाँले भन्नु भयो “जिल्लामै रहेका व्यक्तिहरुमा समेत डेंगुको जोखिम भएको अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यनीकरण र रोकथामका लागि लामखुट्टेको टोइकाबाट बच्न भनेका छौँ ।”
उहाँका अनुसार हालसम्म सबैभन्दा बढी जिरी नगरपालिकामा आठ, तामाकोशी र मेलुङ गाउँपालिकामा दुईदुई र भीमेश्वर नगरपालिकामा एक जनामा डेँगु संक्रमण पुष्टि भएको हो । उनीहरु सबै संक्रमण मुक्त भइसकेका छन् । जिल्लामा सचेतना र सरसफाइ अभियानसँगै डेँगु परीक्षण तथा पहिचानलाई समेत निरन्तरता दिइएको छ । यद्यपि पर्याप्त मात्रामा किट नहुँदा परीक्षण र पहिचान कार्य व्यापक हुन सकेको छैन ।
स्वास्थ्य कार्यालय प्रमुख खनालले जिल्लामा बाहिर हल्ला भएजस्तो पूर्ण रुपमा किट सकिएको अवस्था भने नरहेको बताउनु भयो । “हाम्रो कार्यालयबाट स्थानीय तहलाई हस्तान्तरण गर्दा किटको मौज्दात कम हुँदै गएका हुन् । पूर्ण रुपमा सकिएर परीक्षण कार्य ठप्प भएको होइन ।” उहाँले भन्नु भयो “परीक्षण पहिचानलाई सहज र सुलभ बनाउन किट आपूर्ति र प्रयोगशाला व्यवस्थापनका लागि समन्वय तथा सहकार्य भईरहेका छन् । स्थानीय तहले पनि किटको अभाव आउन दिएका छैनन् ।” उहाँले कोही कसैलाई डेंगुको मिल्दोजुल्दो लक्षण देखा परी शंका लागेमा तुरुन्तै परीक्षणको दायरामा आउन अनुरोध गर्नु भयो ।

Shares

Be the first to comment on "दोलखामा “लामखुट्टेको बासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन"

Leave a comment

Your email address will not be published.


*