दोलखामा रहेको अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई

दीक्षण समाचार /चरिकोट, – चरिकोट अस्पतालमा अझै अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन । पहिलो र दोस्रो लहरको कोरोना भाईरस महामारीको रुपमा फैलिएको बेला जिल्लाकै अस्पतालमा भर्ना भएका संक्रमित बिरामीको उपचारका लागि अक्सिजन जुटाउन निकै समस्या भएको थियो । यस्तो समस्यालाई दूर गर्न कोरोनाको दोस्रो लहर फैलिन थालेसगैँ गत असार महिनाबाट जिल्लामैँ पहिलो पटक चरिकोट अस्पतालमा अक्सिजन प्लान्टको जडानको तयारी थालिएको थियो । तर नेपालमा दोस्रो लहर न्यूनीकरण भई तेस्रो लहर आउने जोखिम बढिरहेको बेला दोलखामा भने अझैपनि अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो । कोरोना संक्रमित र अन्य श्वासप्रश्वासका बिरामीको उपचारमा अतिआवश्यक रहेको अक्सिजन उत्पादनको लागि जिल्लामैँ प्लान्ट जडान हुँदा बाहिरबाट अक्सिजन खरीद गरी आयात गरिरहेको दोलखाले यहीँ उत्पादन भएपछि निर्यात गर्न सक्ने थियो । तर अक्सिजन प्लान्ट जडानमा ढिलाई भएपछि अस्पतालमा ल्याइएका प्लान्टका सामग्रीहरु थन्क्याएर राखिएको छ ।प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि मेटेलाइन इक्वीप्मेन्ट प्रालिले नगरसँगको सम्झौता अनुसार प्लान्टका सम्पूर्ण सामाग्री कार्तिक महिनामा अस्पतालमा उपलब्ध गराएको थियो ।
यसमा करिब ८० लाख खर्च भएको छ । भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदीश अर्यालले ट्रान्सफर्मरको कारण अस्पतालमा हालसम्म पनि प्लान्ट सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालमा अहिले ५० केबिएको मात्र ट्रान्सफर्मर रहेको छ ।प्लान्ट सञ्चालनका लागि एक सय ५० केबिएको ट्रान्सफर्मर आवश्यक पर्ने रहेछ ।” ट्रान्सफर्मरको उपलब्धताको लागि नेपाल विद्युत प्राधिकरण दोलखासँग समन्वय भएपनि उसले अभाव रहेको बताएको छ । उहाँले भन्नुभयो “ प्राधिकरणले उपलब्ध नगराउने भन्ने बुझिएकोले अब खरीद गर्ने प्रक्रियामा लागेका छौँ ।
त्यस किसिमको ट्रान्सर्फमर प्राप्त हुनासाथ जडान गरी अक्सिजन प्लान्ट सञ्चालन हुन्छ । अहिले रोकिएको यसैको कारणले हो ।”

Shares

Be the first to comment on "दोलखामा रहेको अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई"

Leave a comment

Your email address will not be published.


*