दोलखामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

दीक्षण समाचार
चरिकोट, असोज १
मंसिर ४ मा हुने संसदीय निर्वाचनको सुरक्षाका लागि दोलखामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको  छ । जिल्ला प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ अनुसार म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको हो । कार्यालयले सार्वजनिक सूचना जारी गरी म्यादी प्रहरीमा भर्ती हुन इच्छुक १८ वर्ष पूरा गरेका, ५४ वर्ष ननाघेका नेपाली नागरिकलाई भदौ ३० देखि असोज ६ गते सम्म आवेदन दिन अनुरोध गरेको छ ।
कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजेश सिग्देलले जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन दिन सकिने बताउनु भयो । आवेदन दिएका मध्ये योग्यता पुगेकाहरूलाई म्यादी प्रहरीका लागि असोज ९ देखि १४ गतेसम्म छनोट गरी असोज २५ गते अन्तिम नतिजा प्रकाशन गरिने छ । म्यादी प्रहरीमा छनौट भएकाहरूलाई कार्तिक ६ देखि ८ गते सम्म प्रशिक्षण दिइने छ । “म्यादी प्रहरी कति भर्ना गर्ने भनी संख्या त निर्धारण भएको छैन । तर एक हजार हाराहारीमा भर्ना गर्न लागिएको हो ।” प्रहरी निरीक्षक सिग्देलले सुनाउनु भयो “पछि आवश्यकताको आधारमा संख्या बढ्न पनि सक्ने छ ।”
साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसुर नलागेको, कुनै दलको सदस्यता नभएको, शारीरिक मानसिक रुपमा स्वस्थ व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने छन् । पूर्व म्यादी प्रहरी, पूर्व सुरक्षाकर्मी तथा पूर्व वनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई म्यादी प्रहरीमा प्राथमिकता दिइने प्रहरी निरीक्षक सिग्देलले सुनाउनु भयो ।
म्यादी प्रहरीले पारिश्रमिक बापत ३४ हजार ६७० रुपैयाँ पाउने व्यवस्था रहेको छ । यसको अतिरिक्त खाना खर्च, तोकिएको पोशाक एवं अन्य बन्दोबस्तीका लागि समान खरीद खर्च, यातायात खर्च र खाजा खर्च पाउने व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु"

Leave a comment

Your email address will not be published.


*