दोलखामा महिला हिंसा बढ्यो

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा तीन वर्ष ४ महिनाको अवधिमा घरेलु हिंसा पीडित महिलाले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा दुई सय वटा उजुरी दर्ता गराए । कार्यालय अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको अनुसार दुई वटा उजुरी मध्ये एक सय १० वटा मिलापत्र भएको छ । १९ वटा सम्बन्धित निकायमा गएका छन् । बाँकी ६१ वटा उजुरीका उजुरीकर्ता सम्पर्कमै आएनन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ८३ वटा उजुरी दर्ता भएकोमा ५३ वटा मिलापत्र भएको थियो । २५ वटा उजुरीका उजुरी कर्ता सम्पर्कमा आएनन्, भने पाँच वटा उजुरीमाथि छलफल गर्दा नमिलेपछि सम्बन्धित निकायमा पठाइएको थियो । २०७६÷०७७ मा ५० वटा उजुरी दर्ता भएकोमा २५ वटाको मिलापत्र भएको र २० वटाको उजुरीकर्ता सम्पर्कमैँ आएनन् । पाँच वटा सम्बन्धित निकायमा गएका थिए । त्यसैगरी २०७७÷०७८ मा ५६ वटा उजुरी दर्ता भएकोमा ३२ वटाको मिलापत्र भएको थियो । १६ वटा सम्पर्कमैँ आएनन्, भने आठ वटा सम्बन्धित निकायमा गएका थिए । चालु आवको साउनदेखि कार्तिकसम्म १० वटा उजुरी दर्ता भएकोमा चार वटा मिलापत्र भएका छन् । एक वटा सम्बन्धित निकायमा पठाइएको छ । अन्य प्रक्रियामा रहेको सेवा केन्द्रले जनाएको छ । यी घटना प्रहरी कहाँ न्यायका लागि आउनेहरुको मात्र हो, यहाँ हिंसा भएपनि डर, दबाब र प्रलोभनमा परी सहेर बस्ने महिलाहरु पनि थुप्रै रहेका छन् । पीडितहरु न्यायका लागि नआउँदा पीडकहरुले उन्मुक्ति मिल्ने र हिंसाका लागि थप प्रश्रय हुने गरेको महिला अधिकारीकर्मीहरुले बताएका छन् । समाज आधुनिकतातर्फ उन्मुख भइरहेको बेला घर, कार्यालय, सवारीसाधन लगायतका ठाउँमा विभिन्न स्वरुपमा महिला हिंसा हुने गरेको छ । अहिले घरै बाट सुरु गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ भन्ने मुल नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान जारी छ । महिलापुरुष दुबैलाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक सबै प्रकारको हकअधिकार समान तथा दुबैको हैसियत बराबर रहेको रहेको सन्देश दिदैँ हिंसा हुन नदिन हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान अन्तर्गत सरकारी तथा गैरसकारी निकायले विविध सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ । तर यीयस्ता कार्यक्रमहरु सदरमुकाम र सहरमा मात्र केन्द्रीत हुँदा गाउँमा अभियानले छुन सकेको छैन । नत अभियान सञ्चालन भएको सहरमैँ यसको प्रभावले महिला हिंसा रोकिएको छ । महिलामाथि हुने हिंसा नरोकिएपछि समतामूलक समाज निर्माण गर्ने लक्ष्य भेट्टाउनै कठिनाई भएको छ । महिला हिंसा नियन्त्रणको लागि सहर मात्र होइन गाउँगाउँमा सदैब सचेतनामुलक कार्यक्रमसगैँ हिंसा गर्ने जुनसूकै व्यक्तिलाई कानुनी कारबाही गरिनुपर्ने महिला अधिकारकर्मी एवं आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले बताउनुभयो । सचेतनामूलक कार्यक्रम लगायतका अभियानहरु मनाउँदा समाजमा परिवर्तनमा सघाउ पुग्ने भएकोले यस्ता कार्यक्रमहरु एउटै स्थानमा सीमित नभई गाउँसहर सबै ठाउँमा व्यापक बनाउनुपर्छ । तीन तहकै सरकारले यसमा लगानी गरी सही सदुपयोग गर्नुपर्ने उहाँले सुनाउनुभयो । हिंसा हुनाको कारणहरु पहिचान गरी त्यसको समाधानतर्फ गर्नुपर्छ भने हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । महिलाको पहुँच सम्पूर्ण क्षेत्रमा पुग्न सकेमा महिला हिंसा न्यूनीकरण हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Shares

Be the first to comment on "दोलखामा महिला हिंसा बढ्यो"

Leave a comment

Your email address will not be published.


*