दोलखामा महामारीमा मुल्यवृद्धिको मारमा उपभोक्ता

इश्वर बिश्वकर्मा चरिकोट,– “जब ठूला चाडपर्व आउँछ, तब स्थानीय प्रशासनले देखाउनकै लागि भएपनि बजार अनुगमन गर्छ ।” अरु बेला त अनुगमन गर्ने प्रशासन र स्थानीय सरकारलाई खासै चासो हुदैन । त्यसैले सामान्य जीवन जिइरहेका र कमजोर आर्थिक स्थिति भएका नागरिकहरु वर्षैभरि व्यापारीबाट ठगिने गरेका छन् । अहिले कोरोना महामारीको नयाँ भेरियन्टसहितको दोस्रो लहर देखिन थालेको छ । यो संकटको मौका छोपेर अत्यावश्यक वस्तुको मूल्य वृद्धि गर्दा त्यसको मारमा सर्वसाधारण परेका छन् । खाद्य वस्तु लगायतका दैनिक जीवनमा उपभोग्य र आवशीय सामाग्रीहरुमा व्यापारीहरुले अस्वभाविक मूल्य बढाएका छन् । चामल, दाल, खानेतेल, चिनी, तरकारी लगायतका खाद्य वस्तुको भाउ आकासिएको छ । “व्यापारीहरु कोठा भाडा तथा सटर भाडा तिनुपर्छ, अन्य ठाउँमा त भाउ बढेको छ, बजारमा सामानै पाइन छाडेको छ, भन्दै अनेकौँ बाहना बनाउदैँ उपभोक्तालाई मंहगोमा किन्न बाध्य बनाउने गरेको उपभोक्ता गुनासो गरेका छन् । सयौं उपभोक्ताले उपभोग्य वस्तुको खरीद गर्ने चरिकोट, सिंगटी, मैनापोखरी, जिरी, बाघखोर, पवटी, भैंसे लगायतका मुख्य बजारमा एउटै र उस्तै वस्तुको मूल्य पसलै पिच्छे फरक–फरक रहेका छन् । धेरैजसो पसलमा मुल्य सूचि राखिएका छैनन् । कतिपय पसलमा त सामग्रीहरुमा म्याद नाघेका वस्तुहरु खुल्लमखुल्ला बिक्री भईरहेका छन् । उपभोक्ताहरु महामारीको बेलामा पछि यही पनि नपाइएला भन्दै व्यापारीले जस्तो दियो त्यस्तै सामग्री खरीद गर्न बाध्य छन् । उपभोक्ताको अधिकार र स्वास्थ्यमाथि निरन्तर खेलबाड भइरहेको छ । बुधबार एक उपभोक्ता तेल किन्न पसलमा गए । तर उनले पसलै पिच्छे तेलको मूल्य फरक–फरक पाए । एक पसलका पसलेलाई किन यस्तो मंहगो ? भनेर सोध्दा उल्टै व्यापारीको मुखबाट ’तिमी को हौ ? अनुगमन गर्ने टोली हौ ? बजारमा सस्तो पाइन्छ भने मलाई पनि ल्याइदेऊ । बरु मेरोबाट नलैजाउ ।’ भन्ने गैरजिम्मेवारीपूर्ण र तितो जवाफ पाए । त्यसपछि अर्को पसलमा गए अघिल्लो पसलको भन्दा १५ रुपैयाँ कम मूल्यमा १ लिटर भटमासको तेल किने । नाम नबताउने सर्तमा उनले योबारेमा दीक्षण दैनिकलाई जानकारी दिए । यसरी तेलमा मात्र होइन, दैनिक जीवनमा प्रयोग हुने हरेक वस्तुको मूल्य पसलैपिच्छे फरकफरक रहेको छ । त्यसमा पनि चर्को मूल्य तिर्न बाध्य हुँदा उपभोक्ता मारमा परेका छन् । एका तिर कोरोना महामारीको त्रास, भने अर्को तिर बजारमा आवशकीय वस्तुको डरलाग्दो भाउ । यसरी विपतिमा पनि दिनप्रतिदिन उपभोक्ता खुलमखुल्ला ठगिईरहेको बेला सम्बन्धित निकायले बजार अनुगमनमा तदारुकता देखाएको छैन् । कोरोना कहरको पहिलो लहरको समयमा अनुगमन टोली १–२ पटक बजारतिर निस्केपनि प्रभावकारी अनुगमन नहुँदा उक्त समयमा पनि व्यापारीले उपभोक्ता ठगिरहेका थिए । त्यो समयमा अनुगमन टोलीले अनुगमनको नाममा उपभोक्तालाई झुक्याउने काममात्र गरेको उपभोक्ताहरुको आरोप रहेको छ । एक उपभोक्ताले भने स्थानीय प्रशासन तथा जनप्रतिनिधिको गैरजिम्मेवारीपन र उनिहरुको व्यक्तिगत स्वार्थका कारण बजार अनुगमनमा ध्यान जान नसकेको हो । उपभोक्ता ठगिएको गुनासो जनप्रतिनिधि समक्ष गरेपनि त्यसको कुनै सुनुवाई भएको छैन् । व्यापारीबाट चुनावको बेला भोट पाइदैन कि भन्ने डरले देखाउन र उपभोक्ता झुक्याउन मात्रा अनुगमन हुने गरेको छ । यसअघि गरिएको अनुगमनमा पनि ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन भएको, उपभोक्ता ठग्ने व्यापारीलाई उन्मुक्ति दिने गरिएको समेत उपभोक्ताहरुको आरोप रहेको रहेको छ । चरिकोट निवासी विष्णु कटुवालले भने आर्थिक स्थिति कमजोर भएका र मजदुर वर्गको पिडा कसले सुन्छ । व्यापारीहरुबाट उपभोक्ताहरु दिनदिनै ठगिईरहेका छौँ। हाम्रो पिडा र मर्का सुनिदिने कोही छैन् । सुनेर पनि कुनै ठोस काम हुँदैनन् ।
उपभोक्ता ठगिएको गूनासो आएको छैन– नगरउपप्रमुख बस्नेत
बजारमा उपभोक्ताहरु व्यापारीबाट ठगिएको गूनासो आइरहेको बेला जनप्रतिनिधिहरुले त्यस्तो कुनैपनि गूनासो आफूहरुकहाँ नआएको बताएका छन् । जिल्लाको सदरमुकाम चरिकोट समेत रहेको भीमेश्वर नगरपालिकाका उपपप्रमुख कमला बस्नेतले बजारमा व्यापारीहरुले उपभोक्ता हित विपरितको कार्य गरेको भनि कोही कसैले जानकारी तथा गूनासो नगरेको बताइन् । यद्यपी बजारमा उपभोक्ताहरु ठगिएको हुन सक्ने भन्दै बजार अनुगमनमा आफूहरु सक्रिय हुने बताइन् । भीमेश्वर नगरपालिकाले बजार अनुगमनसम्बन्धि ऐन समेत निर्माण गरी बजार अनुगमन समिति बनिसेकेकोले छिट्टै बैठक बसी बजार अनुगमनमा निस्कने उपप्रमुख बस्नेतले बताइन् । उनले कोरोना कहरको पहिलो लहरमा बजार अनुगमन गरिएको र उपभोक्ता हित विपरित कार्य गर्ने व्यापारी तथा पसलेललाई कारबाही गरिएको दाबी गरेकी छन् । यता जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले भने कोरोना महामारीको संक्रमण बढीरहेको अवस्थामा बजार अनुगमनमा अनुगमन टोली निस्कन पनि सम्भव नहुने बताएका छन् ।

Shares

Be the first to comment on "दोलखामा महामारीमा मुल्यवृद्धिको मारमा उपभोक्ता"

Leave a comment

Your email address will not be published.


*