दोलखामा मनसुनजन्य विपद व्यवस्थापनका लागि पूर्व तयारी

मनसुनजन्य विपद् प्रतिकार्यका लागि तामाकाेशी नदीमा कृत्रिम घटना अभ्यास

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३०
दोलखामा मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी थालिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएको जानकारी दिदैं औषतभन्दा बढी पानी पर्ने अनुमान गरेसँगै बाढी, पहिरो, चट्याङ लगायतका विपद्को जोखिम बढेको छ । दोलखामा पनि यस्ता विपद् आइपर्ने सम्भावना उच्च रहेकोले पूर्व तयारी थालिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लामा गत वर्षहरुमा मनसुनजन्य विपद्बाट जनधनको क्षति भएको थियो । ती घटनाहरुको समीक्षा गरी पाठ सिकेर पुर्व तयारी, प्रतिकार्य र पुर्नलाभ सम्बन्धि आवश्यक तयारी बेलैमा थालिएको समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो । ”विपद अकस्मात र अनपेक्षित रुपमा बिना सूचना जतिबेला पनि अाउन सक्छ । तर विपद् अघि गरिने तयारीले जनधनकाे बढी क्षति हुनबाट जोगाउन सकिन्छ ।“ उहाँले भन्नुभयो ”त्यसैले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक तयारी थालिएको छ।“
उहाँका अनुसार विपदबाट बच्न नागरिकलाई सचेतना प्रदान गर्ने, समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास गर्ने, जोखिम क्षेत्रको पहिचान गर्ने, खोजउद्धारका लागि जनशक्ति सतर्क र तयारी अवस्थामा रहने, आवश्यक सामाग्रीको व्यवस्थापन गर्ने, प्राथमिक उपचारका लागि औषधि तथा उद्धारका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्ने लगायतका काम सुचारु भएको छ । जेठ २३ गतेको बैठकको निर्णय अनुसार स्थानीय तहहरुलाई विपद जोखिम क्षेत्रको पहिचान गरी विवरण पठाउन निर्देशन दिइएको छ । विवरण प्राप्त हुनासाथ पुनः बैठक बसी आवश्यक निर्णय लिइने र थप तयारी गरिने समितिका संयोजक प्रजिअ खतिवडाले बताउनुभयो ।
जिल्लाको गौरीशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका सहित जिल्लाका विभिन्न स्थान पहिरोको जोखिममा छ । त्यसैगरी तामाकोशी नदिमा बाढी आउन सक्ने सम्भावना समेत रहन्छ । जसले नागरिकहरु प्रत्यक्ष प्रभावित हुन सक्ने जोखिम छ । यस्ता सम्भावित जोखिमबाट सुरक्षित रहन र क्षति न्यूनीकरण कम गर्न आवश्यक समन्वय र सहकार्यसहित आवश्यक तयारीलाई तीव्रता दिइएको उहाँले बताउनुभयो।
गत वर्षको असारमा भारी वर्षाका कारण आएको पहिरोले चिनको रोङ्सी नदी थुनिएर ताल बनेपछि फुटेर तामाकोशी नदीमा समेत बाढी आउने जोखिमले त्रसित बनाएको थियो । तर दोलखाको समन्वयमा चिनले तालको निकास दिएपछि जोखिम टरेको थियो । यदि ताल फुटेर बाढी आएको भए त्यसले ठूलो विनास निम्त्याउन सक्थ्यो । यो घटनाबाट दोलखा जिल्ला सहित छिमेकी जिल्लाले ठूलो पाठ सिकेको छ । यो वर्ष पनि त्यस्ता जोखिम आउन सक्ने भएकोले चिन सरकारसँग संवादको तयारी, पूर्व सूचना प्रणालीलाई थप सक्रिय पारिने र नदी क्षेत्रका बासिन्दालाई सदैव सचेत रहन आग्रह गरिने लगायतका कार्य थालिएको समितिका संयोजक प्रजिअ खतिवडाले बताउनुभयो ।
उहाँले जिल्लाको लापिलाङको पहिरो अझै नरोकिँदा स्थानीय त्रसित भएको र प्रदेश सरकारबाट प्राप्त दुई करोड रकमले पहिरो रोकथामको प्रयासमा तटबन्ध निर्माण भईरहेको उहाँले सुनाउनुभयो । वर्षाले थप जोखिम हुन सक्ने भएकोले वर्षा अवधिभर त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गर्न लागिएको उहाँले बताउनुभयो । वर्षामा बाढी, पहिरो र चट्याङका जोखिम हुने भएकोले नागरिकहरु पनि सचेत हुनपर्ने उहाँले बताउनुभयो । उहाँले सर्वसाधारण नागरिकले जोखिम क्षेत्र भए सुरक्षित स्थानमा बसोबास गर्ने, सम्भव नभए प्रशासनलाई जानकारी दिने, आधिकारिक सूचना अनुसार निर्णय लिने, एम्बुलेन्स, सुरक्षाकर्मी सहित विभिन्न कार्यालयको फोन नम्बर राख्ने लगायतका पूर्व तयारी गर्न अनुरोध गर्नभएको छ । पालिकास्तरीय र वडास्तरीय विपद व्यवस्थापन समितिले पनि विपद पूर्वको तयारीलाई थप प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभएको छ ।

Shares

Be the first to comment on "दोलखामा मनसुनजन्य विपद व्यवस्थापनका लागि पूर्व तयारी"

Leave a comment

Your email address will not be published.


*