दोलखामा मतदाता संख्या १ लाख ५० हजार ८ सय ८१ जना

चरिकोट(दीस) –दोलखामा मतदाता संख्या १ लाख ५० हजार ८ सय ८१ जना रहेको निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।जसमा मतदाता नामावलीमा पुरुष ७५ हजार २ सय ८९ रहेका छन् भने महिलाको संख्या ७५ हजार ५ सय ९२ रहेका छन् । दोलखामा ९४ वटा निर्वाचन केन्द्र रहेको जनाइएको छ ।  सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । आयोगले बुधबार सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो । तर सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटन बदर गरिदिएको झण्डै एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेको हो ।
देशभर १ करोड ६२ लाख मतदाता
निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४९०, काठमाडौंमा ६ लाख १३ हजार ४९७ जना र झापामा ६ लाख ९ हजार ३७४ जना रहेका छन् । सबैभन्दा कम मनाङमा ५९७६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा मतदाता संख्या १ लाख ५० हजार ८ सय ८१ जना"

Leave a comment

Your email address will not be published.


*