दोलखामा मतदाता नामावली प्रकाशन गरियो, अद्यावधिक कार्यक्रम सुरु

दीक्षण समाचार
चरिकोट, भदौ १२
दोलखामा पनि आइतबारदेखि मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सुरु भएको छ । मंसिर ४ गते तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन गर्न नामावली अद्यावधिक कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

जिल्लामा निर्वाचनको मिति घोषणा पूर्व सङ्कलन भएको मतदाता नामावली अद्यावधिक कार्यक्रमको पहिलो दिन वडा कार्यालय, निर्वाचन कार्यालय तथा डिजिटल माध्यममा प्रकाशन गरिएको छ । सोही आधारमा १९ गतेसम्म दाबी विरोध तथा अद्यावधिक कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले बताउनुभयो ।
उहाँका अनुसार १३ गतेदेखि १५ गते सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने र कुनै मतदाताको नाम एक बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र काय गर्न निवेदन दिन सकिने छ ।

१३ गतेदेखि १६ गतेसम्म मतदाता नामावलीमा मृत्यु भएको वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि हटाउनेको लागि सूचना दिने र १८ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहितको सफाइको मौका दिने कार्यतालिका रहेको छ । मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएपछि भदौ ३१ गते अन्तिम नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी राईले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन घोषणापछि साउन २० गतेदेखि सङ्कलन कार्य स्थगित भएको थियो । नामावली सङ्कलन सुरु भएको करिब ५० दिनको अवधिमा २५ सय भन्दा बढीको मतदाता नामावली सङ्कलन भएको थियो ।

Shares

Be the first to comment on "दोलखामा मतदाता नामावली प्रकाशन गरियो, अद्यावधिक कार्यक्रम सुरु"

Leave a comment

Your email address will not be published.


*