दोलखामा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुँदै

दीक्षण समाचार
चरिकोट, भदौ ८
दोलखाको सदरमुकाम चरिकोटमा बुधबार मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले आगामी मंसिर ४ गते एक साथ सम्पन्न हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेको सुनाउँदै भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम शुभारम्भ हुने जानकारी दिनुभयो ।

उक्त समयमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन सकिने छ । एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिने उहाँले बताउनुभयो ।
मतदाता नामावली अद्यावधिक कार्यक्रमको कार्यतालिकाको विषयमा जानकारी दिँदै उहाँले अद्यावधिक तथा दाबी विरोध प्रक्रिया पूरा गरी त्रुटि रहित अन्तिम मतदाता नामावली तयार गरी प्रकाशन गरिने बताउनुभयो । उहाँले निर्वाचनको मिति घोषणा पूर्व संकलन भएको मतदाता नामावली वडा कार्यालय, निर्वाचन कार्यालय तथा डिजिटल माध्यममा प्रकाशन गरिने र अद्यावधिक कार्य शुभारम्भ हुने बताउनुभयो ।

कार्यक्रममा गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा सहित आगामी निर्वाचनको तयारी सन्दर्भमा छलफल गरिएको छ । आगामी निर्वाचन पनि स्थानीय तहको जस्तै निष्पक्ष, धाँधली र भयरहित तथा शान्तिपूर्ण बनाउने रणनीति र तयारीको सन्दर्भमा छलफल गरिएको छ । केही ठाउँमा बाहेक समग्रमा स्थानीय तहको निर्वाचन अपेक्षा अनुसार सुरक्षाको दुष्टिकोणले शान्तिपूर्ण भएको प्रशासन र राजनीतिक दलको निष्कर्ष कार्यक्रममा सुनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले राजनीतिक दलले आफ्ना प्रतिबद्धता र निर्वाचन आचारसंहिता पालना गरेका कारण समग्रमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताउँदै आगामी निर्वाचनलाई पनि सभ्य र शान्तिपूर्ण बनाउन अनुरोध गर्नुभयो । उहाँले जिल्लामा बुथ कब्जा र चलखेल हुने सम्भावना प्रबल रहेकोले त्यसलाई निरुत्साहित र नियन्त्रणका लागि सुरक्षा प्रशासन अहिलेदेखि नै सचेत, चनाखो भएको बताउनुभयो ।

उहाँले स्थानीय तहमा भएका गडबडीको समीक्षा गर्दै आगामी निर्वाचनमा त्यस्तो गडबडी हुन नदिन राजनीतिक दलसँगै नागरिकहरूसमेत जागरुक हुन आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकार खतिवडाले भन्नुभयो, यदि मेरो सरुवा गराइएन भने, आगामी निर्वाचन समेत शान्तिपूर्ण र बुथकब्जा रहीत बनाउन मेरो सक्रियता रहने छ । मतदाताको अधिकार सुनिश्चित गरिने छ ।
उहाँले अहिले सुरक्षा संयन्त्र निर्वाचन केन्द्रित हुन थालेको बताउँदै निर्वाचनको तयारी समेत थालिएको सुनाउनुभयो । प्रमुख जिल्ला अधिकारी खतिवडाले अद्यावधिक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवाला विषेश भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, नेकपा एमाले दोलखाका अध्यक्ष नर श्रेष्ठ, राप्रपा अध्यक्ष नवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "दोलखामा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुँदै"

Leave a comment

Your email address will not be published.


*