दोलखामा भोलीदेखि घरआँगनमा जाँदै गणक

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २४
दोलखामा कार्तिक २५ गतेदेखि मंसिर ९ सम्म हुन लागेको १२ औँ राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ । मेरो गणना, मेरो सहभागिता भन्ने मुल नाराको साथ हुन लागेको संघियतापछिको पहिलो जनगणनाको तयारी पूरा भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
जनगणनाको लागि गणकहरु छनौट गरी गणनाको तरिका, प्रक्रिया तथा प्रश्नावली भर्ने विधि सम्बन्धमा चार दिने प्रशिक्षण तालिम दिइसकिएको र उनीहरुलाई आवश्यक पर्ने गणक सामग्री प्राप्त गरेपछि घरघरमा खटाइएको छ । भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाका गणकको लागि चरिकोट स्थित गौरीशंकर क्याम्पस, विगु र गौरीशंकर गाउँपालिकाका गणकको लागि सिंगटीमा प्रशिक्षण दिइएको थियो । त्यसैगरी शैलुङ र मेलुङका गणकहरुलाई लक्षित गरी मेलुङ स्थित त्रिभुवन मावि र तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका गणकका लागि मैनापोखरी स्थित हनुमन्तेश्वर मावि परिससरमा प्रशिक्षण दिइएको छ ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा पालिका र ७४ वटा वडा रहेको जिल्लामा सामाजिक, सांस्कृतिक, आर्थिक, भौगोलिक अवस्था लगायत विविध पक्ष समेटिने गरी जनगणना हुँदैछ । यसका लागि गणना क्षेत्र तय गरिसकिएको र सोही गणना क्षेत्रमा तथ्याङ्क भर्ने गरी गणकहरु खटिएको जिल्ला जनगणना अधिकारी सन्तोष कार्कीले बताउनुभयो । जिल्लामा छनौट भएका तीन सय २० जना गणक मध्ये भीमेश्वर नगरपालिकामा अन्य पालिकाको तुलनामा सबैभन्दा धेरै ६० जना खटिएका छन् । जिरी नगरपालिकामा २८, कालिञ्चोकमा ३८, गौरीशंकरमा २८, विगुमा ३४, तामाकोशीमा २९, बैतेश्वरमा ३६, मेलुङ ३३ र शैलुङ गाउँपालिकामा ३४ जना गणक खटिएका उहाँले बताउनुभयो ।
जनगणनाको प्रारम्भिक चरण अन्तर्गत गत असोजमा घर सुचिकरण कार्य सम्पन्न भईसकेको छ । यस कार्यको लागि जिल्लाको नौ वटै स्थानीय तहमा गरी ८६ जना सुपरीवेक्षक खटिएका थिए । सोको आधारमा गणकहरुले जनगणना गर्ने जिल्ला जनगणना अधिकारी कार्कीले बताउनुभयो । एक जना सुपरीवेक्षकले सुचिकरण गरेको क्षेत्रमा तीन देखि चार जनासम्म गणक खटिएका छन् । सुचिकरण कार्य पूरा गरिरसकेका सुपरीवेक्षकको अहिलेको कार्य भनेको गणकहरुको कार्य विभाजन तोकिदिने, कार्य क्षेत्र देखाइने र गणकले गरेको कामको मूल्याङ्कन तथा सुपरिवेक्षण गर्ने रहेको उहाँले सुनाउनुभयो । घरघरमा आएका गणकले सोधेको प्रश्नको सबै नागरिकले सत्यतथ्य विवरण उपलब्ध गराई जनगणनालाई सफल बनाउनको लागि सहयोग गर्न उहाँको अनुरोध छ ।
हरेक दश वर्षको अन्तरालमा हुने गरेको जनगणनाको उद्धेश्य विभिन्न जाति, धर्म, भार्षा, क्षेत्र, वर्ग, लिंग तथा उमेर समुहका समग्र अवस्थाको बारेमा थाहा पाउन तथ्याङ्क संकलन गर्नु हो । यी तथ्याङ्कको आधारमा राज्यले आम नागरिकको हितका लागि सही नीति, योजना तथा कार्यक्रम बनाउन सक्दछ । प्रत्येक १०–१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिक रुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।

Shares

Be the first to comment on "दोलखामा भोलीदेखि घरआँगनमा जाँदै गणक"

Leave a comment

Your email address will not be published.


*