दोलखामा बैकल्पिक विधीबाट पढाई गरिने

चरिकोट, (दीस) – विद्यार्थीहरु ‘स्कुले’ पोशाक लगाएर किताबको ’ब्याग‘ भिरेर ठमठम हिंडेको नियमित देखिन्थ्यो । चरिकोटको सडकपेटीहरु बिहान ९ र बेलुका ४ बजेतिर विद्यार्थीले भरिन्थे । विद्यालयका गाडीहरु बालगीत बजाउँदै विद्यार्थी लिएर दौडिन्थे । तर ती दृष्यहरु अहिले चाहेर पनि देख्न सकिदैन । खरायोको गतिमा फैलिएको कोरोना महामारीका कारण विद्यालयमा पठनपाठन कार्य बन्द गरी गेटमा लाल्चा लगाइएको छ । नियमित अध्ययन–अध्यापन गर्ने विद्यार्थी–शिक्षक फुर्सदिला भएका छन् । संस्थागत विद्यालयका शिक्षक तलब नपाएपछि चरम आर्थिक संकटमा परेका छन् । सामुदायिक विद्यालयका शिक्षक बसीबसी तलब पचाईरहेका छन् । उनीहरु अल्छि भएका छन् । यद्यपी केही विद्यालयहरुले वैकल्पिक विधिमार्फत शिक्षण सिकाईलाई निरन्तरता दिईरहेका थिए । भने धेरै जसो विद्यालयका शिक्षकहरुको यस कार्यमा जाँगर चल्न सकेको थिएन । अब भने शिक्षक तथा विद्यार्थीले अल्छि गर्न पाउने छैनन् । जिल्ला शिक्षा समितिले जिल्लाका सबै विद्यालयहरुलाई बैकल्पिक विधिबाट सिकाई सहजीकरण गर्न निर्देशन दिएको छ । बुधबार जिल्ला शिक्षा समिति दोलखाका संयोजक एवं जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेको अध्यक्षतामा भएको बैठकले सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार बैकल्पिक विधिबाट सिकाई सहजीकरण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । बैठकमा सबै शिक्षक तथा विद्यालय कर्मचारीहरुले शैक्षणिक योजना, शैक्षिक सामग्री निर्माण, हरित विद्यालय, कक्षाकोठा व्यवस्थापन गर्ने तथा बैकल्पिक प्रणालीमार्फत् विद्यार्थी सिकाई सहजीकरण गर्ने निर्णय भएको छ । शैक्षिक सत्र २०७८ को एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली अध्यावधिक गरी भाद्र १५ गते भित्र ‘अनिवार्य अपलोड’ गर्ने । कक्षा एघारको वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार साउन मसान्तभित्र सम्पन्न गर्ने, भौतिक उपस्थितिमा पठपाठन गर्न उपयुक्त नभएसम्म वैकल्पिक विधिबाट नियमित सिकाई सहजीकरण गर्ने निर्णय गरिएको बताइएको छ । बैठकले सिकाई सहजीकरणका लागि विद्यार्थी, अभिभावक र स्थानीय सरकार सँग समन्वय गर्न पनि अनुरोध गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकर बाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा बैकल्पिक विधीबाट पढाई गरिने"

Leave a comment

Your email address will not be published.


*