दोलखामा प्रहरीको गाँजा फडानी अभियान तिब्र

दीक्षण समाचार ÷चरिकोट, –दोेलखामा प्रहरीले गाँजाको बोट फडानी अभियानलाई तीव्रताका साथ निरन्तरता दिएको छ । प्रहरी निरीक्षक राजेश सिग्देलले निजी तथा सार्वजनिक जग्गामा आफैँ उम्रिएर हुँर्किदै गरेको गाँजाको बोटलाई नष्ट गर्ने अभियान तीव्र रुपमा अगाडि बढाइएको बताउनुभयो । “यो हाम्रो नियमित अभियान हो । यसको निरन्तरताको क्रममा अहिले थप तीव्रता दिएका छौँ ।” उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी चौकीमा कार्यरत प्रहरीहरुको गस्तीका क्रममा गाँजाको बोट देखिएमा फडानी गरी नष्ट गर्ने कार्य भईरहेको छ ।” उहाँका अनुसार आफैँ उर्मिएका ती गाँजाका बोटहरु बेलैमा फडानी नगरेमा पछि त्यसको प्रयोग र कारोबार हुन सक्ने हुँदा त्यस्तो अवस्था आउन नदिन फडानी अभियान सञ्चालन गरिएको हो । “खोला, सडक, जंगल, चौरमा गाँजा झाँगिएको पाइएको छ । खेतबारी छेउछाउमा समेत स्वतः गाँजा उम्रिएको तर जग्गाधनीले देखेर पनि त्यसलाई नसासी जोगाउने गरेको पाइयो । त्यसरी प्राकृतिक रुपमा आफैँ उम्रिएका गाँजाको बोट फडानी गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।” उहाँले भन्नुभयो “तर जिल्लामा व्यवसायिक रुपमा गाँजा खेती नै गरेको भने पाइएको छैन । तर कहिँकतै त्यस्तो भेटिएमा त्यसमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने छ ।” अभियानको क्रममा चालु आवको विभिन्न स्थान र मितिमा एक हजार ५० बोट गाँजाको बोट नष्ट गरिएको छ ।
गत आर्थिक वर्ष १२ हजार ३ सय ४० बोट नष्ट गरिएको र अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नौ हजार ६ सय ५० बोट नष्ट गरिएको थियो । अभियान निरन्तर सञ्चालन हुने भएकोले प्रहरीद्धारा देखे र भेटे जति गाँजाको बोट नष्ट गरिने प्रहरी निरीक्षक सिग्देलले बताउनु भयो । कहिँकतै गाँजा आफैँ उम्रिएको भए असल नागरिकको परिचय दिदैँ देख्ने बित्तिकै काटेर नष्ट गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । लागू पदार्थ अन्तर्गतको गाँजा हुर्किनै नदिई नष्ट गरी सम्भावित अपराधको जोखिमबाट बच्न नागरिक सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा प्रहरीको गाँजा फडानी अभियान तिब्र"

Leave a comment

Your email address will not be published.


*