दोलखामा बहिरङ्ग उपचार केन्द्रकाे सेवा प्रभावकारी बन्दै

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १५
दोलखाका विभिन्न स्वास्थ्य चौकी तथा अस्पतालमा १५ वटा बहिरङ्ग उपचार केन्द्र सञ्चालनमा रहेका छन् । त्यस्ता केन्द्रले कुपोषित बालबालिकाको पहिचान गर्ने र कुपोषित भएकालाई उपचारात्मक सेवा उपलब्ध गराउनुका साथै आवश्यक परामर्श पनि प्रदान गर्ने गर्दछ। जिल्लाको ९ पालिकाहरुमध्ये भीमेश्वरमा ३ वटा र जिरी नगरपालिकामा १ वटा बहिरङ्ग उपचार केन्द्र सञ्चालित छ । त्यस्तै गौरीशंकरमा १, विगुमा ३, कालिञ्चोकमा २, शैलुङ गाउँपालिकामा २, मेलुङमा १, तामाकोशीमा १ र बैतेश्वर गाउँपालिकामा १ गरि जिल्लामा १५ वटा बहिरङ्ग उपचार केन्द्र सञ्चालित रहेका छन् । केही वर्षअघि बहिरङ्ग उपचार केन्द्रलाई विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका थिए । आवश्यक सामग्री तथा उपकरणको पनि अभाव थिएन । पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको थियो । जसले गर्दा उपचार केन्द्रको सेवा व्यवस्थित र प्रभावकारी बनेको थियो । तर २०७४ साल यता संघसंस्थाको सहयोग नपाउँदा, दक्ष स्वास्थ्यकर्मी नहुँदा लगायतका कारण उपचार केन्द्रकाे सेवा व्यवस्थित र प्रभावकारी बन्न सकेको छैन् । यसरी बहिरङ्ग उपचार केन्द्र निष्क्रिय बन्दै जाँदा यसको प्रभावकारीता बढाउने उदेश्यले ९ वटै पालिकाका स्वास्थ्य संयोजकसहित उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइएको छ । माघ १३ र १४ गते बहिरङ्ग उपचार केन्द्रको प्रगति समिक्षा गोष्ठी विषयका कार्यक्रमको आयोजना गरि केन्द्रको प्रगति प्रस्तुत तथा केन्द्रको सेवा प्रभावकारी बनाउने बारे प्रशिक्षण दिइएको हो । स्वास्थ्य कार्यालय दोलखाको आयोजना र युएसएआइडी सुआहारा दुई कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण विकास टुकी संघ दोलखाको व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रममा पहिलो दिन कडा शिघ्र कुपोषित बालबालिकाहरुको उपचार गर्न आवश्यक ज्ञान र सीपको पुनरावलोकनबारेमा प्रस्तुति दिइएको थियो । सोही दिन बहिरङ्ग उपचार केन्द्रहरुको प्रस्तुतिकरण र प्रस्तुतिकरणबारे छलफल गरिएको थियो । त्यस्तै बहिरङ्ग उपचार केन्द्रहरुको दिगोपना तथा सुदृढिकरणमा पालिकाको भुमिका लगायतको विषयमा अन्तरक्रिया गरिएको थियो । दोस्रो दिन अर्थात् बुधबार कुपोषित बालबालिकाको व्यवस्थापन, बहिरङ्ग उपचार केन्द्रहरुको विस्तार, स्थानान्तरण वा बन्द गर्ने प्रक्रिया, कार्ययोजना निर्माण, आगामी रणनीति लगायतको बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा राज नन्दन मण्डल, ज्ञानु पौडेल, लवहरी बुढाथोकी, रुपेन लामा घिसिङ र अनिल ढुङ्गनाले सहजीकरण गरेका थिए । शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम र बहिरङ्ग उपचार केन्द्र सम्बन्धि प्राविधिक ज्ञान तथा सीपको विषयमा स्वास्थ्यकर्मीसहित पालिकाका स्वास्थ्य संयोजकहरुलाई पुनर्ताजगी गराउन उक्त गोष्ठिको आयोजना गरिएको सुआहारा कार्यक्रम दुईका पोषण र स्वास्थ्य अधिकृत रुपेन लामाले बताए ।
‘कुपोषित बालबालिकाको पहिचानमा जोड दिऔँ’
कार्यक्रम समापन समारोहमा स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु झाले कुपोषित बालबालिकाको पहिचान गर्न जोड दिनुपर्ने बताए ।  कुपाेषित बालबालकाकाे पहिचान कम भएकोले कुपाेषित बालबालिकाकाे सँख्या पनि न्युन रहेकाे पाइएकाे छ ।  तर  कुपाेषित बालबालिका पहिचानकाे दायरा बढाउने हाे भने गाउँगाउँमा कुपाेषित बालबालिका भेटिन  सक्ने उनले बताए । बालबालिकामा पाेषणकाे अवस्था कस्ताे रहेकाे छ भन्ने कुरा थाहा पाउन प्रभावकारी याेजना बनाएर कार्य गर्नुपर्ने उनले बताए । यसका साथै अभिभावकले पनि आवश्यक पोषणको व्यवस्था गरि बालबालिकाको पोषणमा सन्तुलन ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । समयसमयमा स्वास्थ्य संस्थामा ल्याई आफ्नो बालबालिकाको पोषणको अवस्था बारेमा जानकारी अभिभावकले लिनुपर्ने उनको भनाइ छ । बालबालिकामा कुपोषित हुनबाट जोगाउन बजारमा पाइने तयारी खाना र जंगफुडबाट टाढै राख्नुपर्ने र स्थानीय स्तरमा पाईने खाना आश्यक अनुसार मात्रा मिलाएर खुवाउनुपर्ने उनले बताए । गोष्ठीमा सहभागी स्वास्थ्यकर्मीहरुले पहिले सक्रिय बहिरङ्ग उपचार केन्द्र अहिले सुस्त हुन थालेको भन्दै यसको निरन्तरता र सक्रियताको लागि गोष्ठीले थप प्रोत्साहन मिलेको बताए । उनिहरुले केन्द्रकाे सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने समेत जोड दिएका थिए ।

Shares

Be the first to comment on "दोलखामा बहिरङ्ग उपचार केन्द्रकाे सेवा प्रभावकारी बन्दै"

Leave a comment

Your email address will not be published.


*