दोलखामा प्रथम चौमासिकमा पुँजीगततर्फ स्थानीयतहमा लक्ष्य अनुसार खर्च भएन

ईश्वर बिश्वकर्मा चरिकोट, –दोलखाका स्थानीय तहले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा लक्ष्य अनुसारको विकास बजेट खर्च गर्न असफल भएका छन् । ७ पालिका र २ नगरपालिका गरी ९ स्थानीय तह रहेको दोलखामा अधिकाँश स्थानीय तहले चालु आर्थिक बर्षको २०७७÷०७८ मा विनियोजित विकास बजेट प्रथम चौमासिकमा लक्ष्य अनुसारको खर्च गर्न नसकेका हुन् । कार्यक्रम तथा योजनाको कार्यहरुमा अपेक्षित प्रगति हासिल गर्न नसक्नुमा स्थानीय तहले प्रमुख कारण कोरोना भाइरस (कोभिड १९) लाई लिएका छन् । कर्मचारीको अभावले पनि विकास बजेट खर्च गर्न नसक्नुको प्रमुख कारण रहेको स्थानीय तहहरुले जनाएका छन् । जनप्रतिनिधि बिचको विवाद तथा कर्मचारीको सरुवा, कर्मचारी र जनप्रतिनिधिको कम सक्रियता, समन्वय र सहकार्यको अभावले अधिकाँश स्थानीय तहले चालु खर्चको तुलनामा पुँजिगत तर्फको खर्च न्यून गरेका हुन् । जिल्लाको पुरानो भीमेश्वर नगरपालिकाले पुँजीगत तर्फ ४७ करोड ३२ लाख ९२ हजार ६ सय ५० रुपैयाँ मध्ये ३ करोड ८८ लाख ७८ हजार ३ सय ४५ रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ । अर्काे नगरपालिका जिरी नगरपालिकामा २० करोड ६८ लाख १७ हजार पुँजीगत बजेट मध्ये २ करोड १९ लाख ९९ हजार ५ सय रुपैयाँ खर्च भएको जिरी नगरपालिकाका लेखा अधिकृत ( छैटौँ) महेश्वर अधिकारीले बताए । कालिञ्चोक गाउँपालिकामा पुँजिगत तर्फ २८ करोड ४ लाख २८ हजार रुपैयाँ बजेट मध्ये २ करोड ११ लाख ६४ हजार रुपैयाँ खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । गौरीशंकर गाउँपालिकामा पुँजिगत तर्फ १८ करोड ४५ लाख ९६ हजार रुपैयाँ मध्ये १६ लाख ४९ हजार ७ सय २५ खर्च भएको पालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख लिलाराज पौडेलले बताए । तामाकोशी गाउँपालिकाले पुँजिगततर्फ २६ करोड ३० लाख ८८ हजार ६ सय रुपैयाँ रहेकोमा २ करोड ६२ लाख १४ हजार ९ सय खर्च गरेको छ । जिल्लाको मेलुङ गाउँपालिकामा पुँजिगततर्फ ३६ कराड ६० हजार विनियोजन गरेकोमा २ करोड ६८ लाख ९ हजार रुपैयाँ खर्च भएको लेखा सहायक विपना सुर्यवंशीले बताइन् । बैतेश्वर गाउँपालिकाको पुँजीगत तर्फ २१ करोड ८० लाख ९६ हजार ५ सय मध्ये २ करोड ११ लाख ५५ हजार ८ सय रुपैयाँ खर्च भएको लेखा अधिकृत सञ्जय शिवाकोटीले बताए । त्यसैगरि चालु आवको प्रथम चौमासिकमा शैलुङ र विगु गाउँपालिकाले पनि पुँजीगत बजेट लक्ष्य अनुसारको खर्च नगरेको बताएका छन् । जसले गर्दा आर्थिक वर्षको अन्तिम महिनामा बजेट खर्च गर्ने प्रवृति स्थानीय तहमा दोहोरिने संकेत देखिएको जानकारको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा प्रथम चौमासिकमा पुँजीगततर्फ स्थानीयतहमा लक्ष्य अनुसार खर्च भएन"

Leave a comment

Your email address will not be published.


*