दोलखामा पोलको भाडा नतिरेपछि प्राधिकरणले इन्टरनेटको तार काट्यो

इश्वर बिश्वकर्मा /चरिकोट, – पोल प्रयोग गरेबापत भाडा तिर्न चासो नदिएपछि दोलखामा पनि इन्टरनेट सेवा कम्पनीहरुको तार काट्न सुरु गरिएको छ । पोल भाडाको लागि सम्झौता गर्न आउन सूचना जारी गरी अनुरोध गरेपनि इन्टरनेट सेवा कम्पनीहरुले अटेर गरेपछि शुक्रबारदेखि नेपाल विद्युत प्राधिकरण दोलखाले तार काट्न थालेको हो । भीमेश्वर नगरपालिका–२ स्थित दोलखा बजारको एउटा पोलमा टांगिएको तार काटिदिएको प्राधिकरण दोलखाका इन्जिनियर राजेन्द्र चौधरीले बताउनुभयो । उहाँको अनुसार सुविसु इन्टरनेट कम्पनीको तार काटिएको हो । तार काटेपछि बजारका केही स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । प्राधिकरणको निर्देशन अनुसार यो सांकेतिक रुपमा दिइएको चेतावनी हो । यदी विद्युत प्राधिकरणको संरचना प्रयोग गर्ने इन्टरनेट प्रदायक कम्पनी, टेलिफोन, केबल टेलिभिजन कम्पनी सम्पर्कमा नआएको खण्डमा प्राधिकरणको निर्देशन अनुसार तार काटिने उहाँले बताउनुभयो । जिल्लामा सुविसु, एरोनेट, वल्र्डलिंक लगायतका कम्पनीहरुले इन्टरनेट सेवा प्रवाह गरिरहेका छन् । तर यी कम्पनीहरुले प्राधिकरणसँग भाडा सम्झौता नगरेको र बिना जानकारी पोलको प्रयोग गर्दै आएको प्राधिकरणले बताएको छ ।

Shares

Be the first to comment on "दोलखामा पोलको भाडा नतिरेपछि प्राधिकरणले इन्टरनेटको तार काट्यो"

Leave a comment

Your email address will not be published.


*