दोलखामा पर्यटनका लागि होम स्टेमा जोड

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ५
दोलखाका स्थानिय तहहरुले पर्यटन प्रर्बद्धनका लागि होमस्टे सञ्चालनमा जोड दिन थालेका छन् ।
जिल्लाको पर्यटकिय स्थलहरुमा घुुम्न आउने पर्यटकहरुलाई सहज बास दिई पर्यटन प्रर्बद्धन गर्न होम स्टे सञ्चालनमा जोड दिन थालेका हुन् ।
पर्यटकिय नगरी जिरी नगरपालिका र शैलुङ गाउँपालिकाले पर्यटकहरुलाई आकर्षण गर्न मौलिकता सहितको होम स्टे सञ्चालन गर्न लागेको छ । जिरी नगरपालिका वडा नम्बर १ पुम्पा, वडा नम्बर २ यलुङ, वडा नम्बर ७ को खावा, वडा नम्बर ९ को चिपचिपेमा होम स्टे सञ्चालन गर्ने योजना बनाई कार्य अगाडी बढाएको नगरले जनाएको छ ।
नगरपालिकाको पर्यटकिय क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई स्थानीय मौलिक शैलीको घरमा बास बसाई पारिवारिक आभास दिई पर्यटन आकर्षणका लागि होम स्टे सञ्चालन गर्न लागिएकोे नगर प्रमुख टंक जिरेलले बताए । केही स्थानमा भने होम स्टे सञ्चालनमा आएकाले आन्तरिक पर्यटकहरुलाई जिरी भ्रमणका लागि आग्रह गरे । आगामी आर्थिक वर्ष जिरी नगरपालिकाको सम्पुर्ण वडाहरुमा स्थानीय मौलिक शैलीका होमस्टे सञ्चालन गर्ने योजना रहेको नगरकी उपप्रमुख कृष्णमाया बुुुुढाथोकीले बताइन् । नगरले होमस्टे सञ्चालन गर्ने विधी, अतिथी सत्कार गर्ने तरिका लगायतको विषयमा होम स्टे सञ्चालकहरुलाई आवश्यक तालिमको दिईने बताइन् । उनले पर्यटन प्रर्बद्धनका लागि नगरपालिकाले विभिन्न योजनासहित कार्य गरिरहेको बताइन् ।
पर्यटकीय क्षेत्र शैलुङ गाउँपालिकाले विभिन्न वडामा होम स्टे सञ्चालन गर्न सुरु गरेको जनाएको छ ।
वडा नम्बर ३, ६ ,७ र ८ मा शैलुङको पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वासका साथ होम स्टे सञ्चालन गरिने गाउँपालिकाकी उपाध्यक्ष लालमाया योञ्जनले बताईन् । पालिकामा होम स्टे सञ्चालन गर्न तालिम पुस महिनामा आयोजना गरिएको थियो । तालिममा अतिथी सत्कार, मौलिक खाना बनाउने विधी लगायतको विषयम जानकारी दिइएको थियो । तालिममा होम स्टे सञ्चालनका लागि इच्छुक ४० जना भन्दा बढी होटल व्यवसायी सहभागी भएका थिए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले विगु र गौरीशंकर गाउँपालिकाको विभिन्न स्थानमा होम स्टे सञ्चालन गरेको छ । आइतबार आयोजनाले विगु गापाको वडा नम्बर ५, ६ र ७ मा होम स्टे सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । गौरीशंकर संरक्षण आयोजना क्षेत्रले उक्त स्थानका होम स्टेका लागि सिरक, डस्ना, तकिया, डोर म्याट, डस्बिन, तौलिया, ऐना, डटपेन होम स्टे बोर्ड लगायतका सामग्री वितरण गरेको आयोजनाले जनाएको छ ।
कला, संस्कृति, रहनसहनको संरक्षण गर्दै पर्यटन व्यवसायमा टेवा भन्दै जिल्लामा होम स्टे सञ्चालन गर्न स्थानीय तह तम्तयार भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा पर्यटनका लागि होम स्टेमा जोड"

Leave a comment

Your email address will not be published.


*