दोलखामा न्यायिक समितिको विश्वास बढ्दै

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाका स्थानीय तहमा रहेका न्यायिक समिति प्रति विश्वास बढ्दै गएको छ । न्यायिक समितिमा गाउँको विवाद गाउमैं समाधान हुने र सबै पक्षको जीत हुने गरी सहज, छिटो र निष्पक्ष ढंगले न्याय पाईन्छ, भन्ने विश्वास नागरिकमा बढ्दै गएको हो । जिल्लाको बैतेश्वर गाउँपालिकाको न्यायिक समितिका संयोजक एवं पालिका उपाध्यक्ष रविचन्द्र आर्चायले न्यायिक समिति पदाधिकारीको सक्रियता र प्रभावकारी न्याय सम्पादनको कारण न्यायिक समितिप्रति जनविश्वास बढेको दाबी गर्छन् । दुबै पक्षको जीतको महशुस हुने गरी निष्पक्ष न्याय सम्पादन गरेका छौं । उनले भने अधिकाँश उजुरी उपर छलफल गरी मेलमिलापको माध्यमबाट निरुपण गरिन्छ । सोही कारण न्यायिक समितिप्रति नागरिकको विश्वास बढेको हो।  न्यायिक समिति संयोजक एवं पालिका उपाध्यक्ष आर्चायका अनुसार न्यायिक समितिको स्थापना भएपछि १ सय २८ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये अधिकांशको उजुरी उपर छलफल गरी मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको छ । न्यायिक समितिमा दर्ता भएको उजुरी मध्ये १ सय २ वटाको मेलमिलापको माध्यमबाट निरुपण गरिएको छ । तर बाँकी केहि मुद्दाको भने न्यायिक समितिले फैसला गर्न नमिल्ने भएकोले प्रहरी र अदालती प्रक्रियामा पठाइएको छ, भने कतिपय उजुरीकर्ता सम्पर्कमै आएनन् । न्यायिक समितिको गठन भएको पहिलो बर्ष २०७४÷०७५ मै ४४ वटा उजुरी दर्ता भएका थिए । त्यसमध्ये ३६ वटाको मेलमिलापको माध्यमबाट निरुपण गरिएको न्यायिक समितिको कानुनी सहजकर्ता नविन कुमार खतिवडाले बताए । आव २०७५÷०७६ मा न्यायिक समितिमा अघिल्लो आवको भन्दा कम उजुरी दर्ता भएका थिए । उक्त आवमा ३४ वटा उजुरी परेकोमा २९ वटाको मेलमिलापका माध्यमबाट निरुपण गरिएको छ । आव २०७६÷२०७७ मा ३६ वटा उजुरी परेकोमा ३० वटाको मेलमिलापको माध्यमबाट निरुपण गरिएको र ५ वटाको भने प्रहरी र अदालती प्रक्रियामा पठाइएको छ । चालु आवको मंसीर २३ सम्म १४ वटा उजुरी परेकोमा आधा अर्थात् ७ वटा उजुरी मेलमिलापको माध्यमबाट निरुपण गरिएको कानुनी सहजकर्ता खतिवडाले बताए ।

यता जिरी नगरपालिकाको न्यायिक समितिप्रति पनि जनताको उत्तिकै विश्वास रहेको समितिले दाबी गरेको छ । जिरी नगरपालिकाको न्यायिक समिति संयोजक एवं पालिका उपप्रमुख कृष्णमाया बुढाथोकीका अनुसार न्यायिक समितिमा न्याय पाउन सहज हुन्छ भन्ने नागरिकमा विश्वास बढेको छ । जसले गर्दा गाउँमा विवाद भए न्यायिक समितिमा उजुरी पर्छ । यसले गाउँमै मिल्ने विवादको उजुरी लिएर जो–कोही पनि प्रहरी र अदालत धाउन छाडेका छन् । न्यायिक समितिको कानुनी सहजकर्ता अनिता जिरेलका अनुसार न्यायिक समिति गठन भएदेखि मंसिर २३ सम्म १ सय ४२ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये १ सय ९ वटा निवेदनको मेलमिलापको माध्यमबाट निरुपण गरिएको छ । ७ वटा प्रहरी समक्ष र ७ वटा अदालती प्रक्रियामा पठाइएको कानुनी सहजकर्ता जिरेलले बताइन् । १९ वटा उजुरीको उजुरीकर्ता भने सम्पर्कमै आएनन् ।न्यायिक समितिमा लेनदेन, सामन्य विवाद, साँध सिमाना सम्बन्धी लगायतका विवादका उजुरी दर्ता हुने गरेका छन्

Shares

Be the first to comment on "दोलखामा न्यायिक समितिको विश्वास बढ्दै"

Leave a comment

Your email address will not be published.


*