दोलखामा नेपाल सुशासन अभियानद्धारा आयोजित कार्यक्रम सम्पन्न

SAMSUNG CSC

इश्वर विश्वकर्मा
चरिकोट, कार्तिक २३
दोलखाको सदरमुकाम चरिकोटमा नेपाल सुशासन अभियानका बारेमा जानकारी, जनजागरण तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ‘जागौँ नेपाली उठौँ नेपाली भ्रष्टचार र वेथिति विरुद्धमा जुटौँ नेपाली’ भन्ने मुल नाराका साथ जिल्ला समन्वय समिति दोलखाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
देशलाई समृद्ध बनाउन सुशासन अपरिहार्य रहेकोले नेपाल सुशासन अभियानलाई तीव्रता दिइएको अभियानका संयोजक रमेश प्रसाद खरेलले बताउनुभयो । उहाँले अभियान अन्तर्गत देशभर नागरिकसँग परामर्श गर्ने क्रममा सुशासन कायम गरी देशलाई विकासको यात्रामा निर्वाध रुपले अघि बढाउन नेतृत्व, निर्देशन र सहजीकरण गर्न बैकल्पिक राजनितिक दलको रुपमा संगठित हुुनुपर्ने सुझाव आएकोले त्यो सुझावलाई आत्मसाथ गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो “राजनीति सुधार भएपछि देशमा सुशासन कायम हुन सक्ने भएकोले अभियानलाई पार्टीको रुपमा रुपान्तरण गरी देश विकासको खातिर जनताले चाहेमा बैकल्पिक राजनीतिक दल स्थापना हुनेछ ।”
संयोजक खरेलले देशलाई समृद्ध बनाउन भ्रष्टाचार उन्मुलन हुनुपर्ने बताउनुहुँदै बेथिति र भ्रष्टाचार बिरुद्ध हरेक नागरिकलाई आवाज बुलन्द पार्न आह्वान गर्नुभयो । “वेथिति बिरुद्ध नबोली मौन बस्दा अझ वेथिति बढ्छ । यसले देशलाई अधोगति तर्फ लान्छ । “उहाँले भन्नुभयो“ त्यसैले सचेत नागरिकले शान्तिपुर्वक खबरदारी, बिरोध र दबाबमुलक गतिविधि गर्नुपर्छ ।”
अन्य देशमा राष्ट्रपतिले सानो गल्ती गर्दा तुरुन्तै कारबाही हुन्छ । तर नेपालमा माथिल्लो तहतप्काले ठूलो विगार गरेपनि कारबाही नहुँदा दण्डहीनता बढेको उहाँले बताउनुभयो । यी यस्ता वेथिति, विसंगति र भ्रष्टाचारको नागरिकले भण्डाफोर गरी कारबाहीको दायरामा ल्याउन सहयोग तथा पहल गर्नुपर्ने उहाँले सुनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलगाईँले भ्रष्टाचार नियन्त्रणको अभियानमा पत्रकारहरुको भूमिका सशक्त भएको सुनाउनुभयो । उहाँले जिल्लामा भ्रष्टचार गर्ने कर्मचारीलाई सरुवा समेत गरिदिएको दाबी गनुहुँदै सुशासन कायमका लागि यस्ता दबाबमूलक कार्यहरु नागरिक समाजसँगको सहकार्यमा निरन्तर भईरहने बताउनुभयो ।

युवा नेत्री तारा तामाङले समाज रुपान्तरणको लागि आफू सक्रिय भएको उल्लेख गर्नुहुँदै विभिन्न कार्यहरु गर्ने दौरानमा धेरै चूनौतिको समाना गर्नुपरेको बताउनुभयो । उहाँले चुनौति तथा समस्याहरु काम गर्ने क्रममा आउने भएकोले त्यसलाई पन्छाएर बलियो भएर हिँड्नुपर्ने बताउदैँ नेपाल शुसासन अभियान सफलताको शुभकामना दिनुभयो ।
त्यसैगरी पूर्वप्रहरी स्टालिन श्रेष्ठले जिल्लाको हरेक कार्यालयमा बेथिति रहेको आरोप लगाउनुहुँदै सरकारी कार्यालयमा चिनजान र पहुँचको आधारमा काम छिटो हुने तर सोझा नागरिकको काम अति नै सुस्त हुने गरेको बताउनुभयो । यस्तो विसंगति रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उहाँको माग थियो । त्यसैगरी पूर्व प्रहरी भीम बहादुर खड्काले शुभकामना दिदैँ नेपाल सुशासन अभियानले सुशासन कायम राख्न अहम भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित दिगो विकसित राष्ट्रको निर्माणको लागि नेपाल सुशासन पार्टीको आवश्कता रहेको भन्दै २९ वटा बुँदामा पार्टीको महत्व र आवश्यकता रहेको जानकारी दिइएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डियसपी भेषराज रिजालसहित पूर्वप्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा नेपाल सुशासन अभियानद्धारा आयोजित कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*