दोलखामा निषेधाज्ञामा पनि रक्तदान, १५ पिन्त रगत संकलन

दीक्षण दैनिक
चरिकोट, जेठ ११
कोरोना महामारीका कारण जारी निषेधाज्ञाकै बीच दोलखाको सदरमुकाम चरिकोटमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक तथा सामाजिक कार्यमा विगतदेखि नै सक्रिय लालीगुँरास युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । कोरोना भाइरसको महामारीमा पनि अस्पतालहरुमा रगतको माग बढेको र रगतको अभाव हुन सक्ने भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताए । उनले भने “जारी निषेधाज्ञा र कोरोना सन्त्रासका कारण रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । जसले गर्दा रगत चाहिने बिरामीका लागी रगत प्राप्त गर्न लागि समस्या हुन सक्छ । यी कुराहरुको मध्यनजर गरी विषेश सावधानीका साथ कार्यक्रम आयोजना गरिएको हो ।” रक्तदान कार्यक्रमबाट १५ पिन्त रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले जानकारी दिए । कार्यक्रममा क्लबका सदस्य तथा अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए । भीमेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरीशरण शिवाकोटीले उक्त कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघ कोषाध्यक्ष अनिता श्रेष्ठ र क्लबको सचीव मनकुमार श्रेष्ठ लगायतको सहभागिता रहेका थियो ।

Shares

Be the first to comment on "दोलखामा निषेधाज्ञामा पनि रक्तदान, १५ पिन्त रगत संकलन"

Leave a comment

Your email address will not be published.


*