दोलखामा निर्वाचनको तयारी अन्तिम चरणमा

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २९
दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा सुरक्षित, सहज र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नको लागि अन्तिम तयारी भइरहेको हो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले निर्वाचन घोषणा भएदेखि नै विभिन्न चरणमा सुरु गरिएको तयारी निर्वाचन आउन पाँच दिन बाँकी रहँदा अन्तिम चरणमा पुगेको बताउनु भयो ।
उहाँका अनुसार निर्वाचन कार्यालय र सम्बन्धित कार्यालयहरूले मतदान पूर्व गर्नुपर्ने तयारी तीव्र गतिमा गरिरहेका छन्। यस अन्तर्गत मंगलबारदेखि मतदान केन्द्रमा निर्वाचन सम्बन्धी सामाग्री व्यवस्थापन, कर्मचारी र सुरक्षाकर्मी खटनपटन लगायतका कार्य सुरु भएको छ। केन्द्रमा तालिम प्राप्त मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीलाई निर्वाचन सामाग्री सहित खटाउन सुरु गरिएको निर्वाचन अधिकारी राईले बताउनुभयो। मतदान केन्द्रमा खटिएका कर्मचारीको भूमिका निर्वाचनमा स्वच्छता, निष्पक्षता र विश्वासनीयता कायम गराई मतदान सम्पन्न गराउने हो ।
“सम्पूर्ण कर्मचारीलाई नियूक्ति पत्रसँगै निर्वाचन सामग्रीहरु हस्तान्तरण गरी पठाइएको छ । उनीहरुले मंसिर १ गते भित्र तोकिएको केन्द्रमा पुगेर आ–आफ्नो जिम्मेवारीको कार्य सम्पादन गर्ने छन् । उहाँले भन्नुभयो “मंसिर ३ गतेसम्म मतदान पूर्व गर्नुपर्ने सबै तयारी पूरा भई ४ गते निर्वाचन उत्साहका साथ सम्पन्न हुने छ ।”
खटिएका कर्मचारीले आफ्नो राजनीतिक आस्थालाई बिर्सिएर निष्पक्ष र भयमुक्त वातावरण कायम राख्दै मतदाताले स्वतस्फूर्त मतदान गर्न पाउने व्यवस्था मिलाउने र लक्ष्यअनुरुप निर्वाचन सफल हुनेमा सबैलाई विश्वस्त रहन अनुरोध गर्नुभयो । जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित एक हजार पाँच ५ सय ६६ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् ।
यसैगरी निर्वाचनका लागि मतदातालाई दक्ष बनाउने र बदर मत न्यूनीकरण गर्ने उद्धेश्ययले सञ्चालित मतदाता शिक्षा कार्यक्रम जारी रहेको उहाँले बताउनुभयो । उक्त कार्यक्रम मंसिर १ गते सम्पन्न हुने छ ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले निर्वाचनमा अवाञ्छित तथा आपराधिक गतिविधि हुन नदिन भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार जिल्लामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनको अन्तिम तयारी भईरहेको बेला उम्मेदवाहरु भने मतदाता फकाउने अन्तिम कसरतमा जुटेका छन् । आइतबारदेखि मौन अवधि सुरु हुने र प्रचारप्रचारको अवधि दुई दिन मात्र रहेकोले उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र बनाएका हुन् । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी ५३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवाहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक, पुल लगायतका विषयवस्तुलाई चुनावी एजेण्डा बनाएका छन् । जिल्लामा एक लाख ६१ हजार ४ सय ४५ जना मतदान गर्दै छन् ।

Shares

Be the first to comment on "दोलखामा निर्वाचनको तयारी अन्तिम चरणमा"

Leave a comment

Your email address will not be published.


*