दोलखामा निर्वाचनको तयारी पुरा, डेढ लाख भन्दा बढीले मतदान गर्दै

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २९
शुक्रबार देशभर ७ सय ५३ वटै स्थानीय तहमा एक साथ निर्वाचन हुँदैछ । यो स्थानीय तहको दोस्रो निर्वाचन हो । पहिलो निर्वाचन २०७४ मा भएको थियो । त्यतिबेला नागरिकले मतदान गरी आफ्नो जनप्रतिनिधि चयन गरेका थिए । पालिका र वडाका विभिन्न पदमा जनप्रतिनिधिले कार्यभार सम्हालेका थिए। पाँच बर्षपछि उनीहरुको बिदाइ गर्ने समय आएको छ । सो भन्दा अघि नयाँ जनप्रतिनिधि चयन गर्न शुक्रबार निर्वाचन हुँदैछ ।
निर्वाचनपछि नयाँ जनप्रतिनिधिको स्वागत र पुरानालाई ससम्मान बिदाइ गरिने छ । नेतृत्व हस्तान्तरण र ग्रहणको उपयुक्त विधि निर्वाचनको विकल्प छैन। सरकारद्वारा निर्वाचनको मिति घोषणा भएदेखि नै यसको तयारी थालिएको थियो। आशंका र धरमरबीच तयारी सुभारम्भ गरिएकोमा अहिले सम्पूर्ण तयारी पूरा भएको छ । अबको केही घन्टापछि निर्वाचन हुने छ। मतदाता नामावलीमा नाम समावेश हरेक नागरिकले मतदान प्रक्रियामा सहभागी हुँदै नयाँ जनप्रतिनिधि चुन्ने छन् । अर्को पाँच बर्षको लागि जनप्रतिनिधि चुन्न नागरिकहरु अन्य कामलाई थाती राखेर मतदानमा सहभागी हुँदैछन्।
दुई नगरपालिका, सात गाउँपालिका र ७४ वटा वडा रहेको दोलखामा पनि निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । सुरक्षित, सहज र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यालय, सुरक्षा समिति लगायतले सबै पालिकामा सम्पूर्ण तयारी पुरा गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले तालिम प्राप्त कर्मचारीहरु खटिएर मतदान स्थल, मतदान केन्द्रको साथै निर्वाचन सामाग्रीहरुको व्यवस्था गरिसकेका छन् । डिजिटल माध्यमबाट प्रदान गरिएको मतदाता शिक्षा कार्यक्रमको पहुँच नभएकाहरुलाई लक्षित गरी २८ र २९ गते मतदान प्रक्रियामा सहभागी हुने, मतदान गर्ने र बाहिरिने विधिको बारेमा जानकारी दिएको छ, भने मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाहरुलाई सोही दिन नयाँ मतदाता परिचयपत्र वितरण गरिएको उहाँले बताउनुभयो । “निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान अधिकृत सबै निर्वाचनको लागि तयारी भइसकेका छन् ।” निर्वाचन अधिकारी राईले भन्नुभयो “ निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राखिएको छैन । सम्पूर्ण तयारी पूरा भएको छ ।” मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै निर्वाचन सम्भ र शान्तिपूर्ण हुने जानकारी दिनुभयो ।
एक लाख ६० हजारले मतदान गर्दै
दोलखामा एक लाख ६० हजार ९६ जना निर्वाचन पक्रियामा सहभागी हुँदै छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ८० हजार ५१७ जना पुरुष र ७९ हजार ५७९ जना महिला गरी एक लाख ६० हजार ९६ जना मतदाता रहेका छन् । उनीहरुमध्ये केहीले पहिलो पटक निर्वाचनमा सहभागी हुँदै छन् । सबभन्दा बढी भीमेश्वर नगरपालिकामा २६ हजार ८३३ जना र सबैभन्दा कम जिरी नगरपालिकामा १४ हजार ५८ मतदाता रहेका छन् । कालिञ्चोक गाउँपालिकामा १८ हजार ६६१ जना, गौरीशङकर गाउँपालिकामा १५ हजार ३४१, तामाकोशी गाउँपालिकामा १५ हजार ८३५, मेलुङ गाउँपालिकामा १८ हजार १५३ जना मतदाता छन् । त्यसैगरी बिगु गाउँपालिकामा १४ हजार ४२३, वैतेश्वर गाउँपालिकामा १७ हजार र शैलुङ गाउँपालिकामा नौ १९ हजार ३३० जना मतदाता रहेका छन् । अध्ययन र कामको शिलशिलामा जिल्ला बाहिर रहेको दोलखाका मतदाता पनि मतदानका लागि गाउँ फर्किएका छन् । उनीहरुमध्ये अधिकांशलाई राजनीतिक दलले गाडीको व्यवस्था गरिदिएका थिए । अहिले बजारमा रहेका अधिकांश गाउँ गइसकेका छन् । जसले गर्दा चरिकोट लगायतका बजारहरु सुनशान भएका छन् । जिल्लामा पछिल्लाे समयमा अाचारस‌ँहिता विपरीतका गतिविधि भइरहेकाेले मतदाता त्रसित रहेकाे अवस्था छ । यस्ताे अवस्थामा मतदान सहज र सुरक्षित नहाेला कि भन्ने चिन्ता मतदातामा छ । सबैले मतदान गर्ने वातावरण प्रशासनले बताउनुपर्ने उनीहरुकाे माग छ ।
कति छन्, मतदान केन्द्र कर्मचारी कति ?
जिल्लाको सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाभर ९४ वटा मतदान स्थल रहेको निर्वाचन अधिकारी शकुन्तला राईले बताउनुभयो । निर्वाचन अधिकारी राइका अनुसार कालिञ्चोक गाउँपालिकामा १०, गौरीशंकरमा १२, जिरी नगरपालिकामा १०, तामाकोशी गाउँपालिकामा ८, भीमेश्वर नगरपालिकामा १७ वटा मतदान स्थल छ । मेलुङमा ८, विगु गाउँपालिकामा १२, बैतेश्वर गाउँपालिकामा ८ र शैलुङ गाउँपालिकामा ९ वटा मतदान स्थल रहेको छ ।
जिल्लामा १ सय ९३ वटा मतदान केन्द्र रहेका छन् । भीमेश्वर नगरपालिकामा ३४, जिरी नगरपालिकामा १७, कालिञ्चोक गाउँपालिकामा २१ मतदान केन्द्र रहेका छन् । गौरीशङ्कर गाउँपालिकामा २०, तामाकोशी गाउँपालिकामा २०, मेलुङ गाउँपालिकामा १९, बिगु गाउँपालिकामा २१, वैतेश्वर गाउँपालिकामा १९ र शैलुङ गाउँपालिकामा २२ मतदान केन्द्र रहेको छ । निर्वाचन कार्यालयका अनुसार पाँच सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रको संख्या चार रहेको छ । गौरीशंकर गाउँपालिकामा दुई वटा र विगु गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा पाँच सय भन्दा कम मतदाता रहेका छन् । जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत खटिएका छन् । साथमा अन्य कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, मर्यादित, निष्पक्ष तवरले सफलतापूर्वक सम्पन्न गर्न मतदान अधिकृत सहित सबैको जिम्मेवारी महत्वपूर्ण हुने निर्वाचन अधिकारी राईले बताउनुभयो । निर्वाचन कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार १ सय ९३ मतदान अधिकृत र १ सय ८३ सहायक मदान अधिकृत खटिएका छन् । त्यसैगरी सहायक कर्मचारी तीन सय ८२ जना खटिएका छन् । जसअनुसार कालिञ्चोक गाउँपालिकामा ४२, गौरीशंकरमा ३८, जिरी नगरपालिकामा ३४, तामाकोशी गाउँपालिकामा ४० जना, भीमेश्वर नगरपालिकामा ६८ जना सहायक कर्मचारी रहेका छन् । मेलुङमा ३८ जना, विगु गाउँपालिकामा ४०, बैतेश्वरमा ३८ र शैलुङमा ४४ जना छन् । सबै मतदान केन्द्रमा गरी १ सय ९३ जना सहयोगी कर्मचारी खटिएका छन् । पाँच सय ७९ जना स्वयंसेवक परिचालन हुने हुँदै छन् ।


चुनावी मैदानमा एक हजार भन्दा बढी उम्मेदवार
जिल्लामा स्थानीय तहको निर्वाचनका लागि एक हजार ३ सय ३८ जना उम्मेदवार रहेका छन् । उनीहरुले निर्वाचन प्रचारप्रसार मौन अवधि अघि नै गरिसकेका छन् । उनीहरु तयार अवस्था छन्। जिल्ला निर्वाचन कार्यालयको चुनाव चिन्ह प्राप्त उम्मेदवारको संख्यात्मक विवरण अनुसार पालिका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, दुई महिला (एक दलितसहित) सदस्य पदमा गरी उक्त संख्यामा उम्मेदवार रहेका छन् । पालिका अध्यक्ष÷प्रमुखमा ७३ जना उम्मेदवार छन् । जसमा पाँच जना महिला र ६८ जना पुरुष रहेका छन् । पालिका उपाध्यक्ष÷उपप्रमुखमा ३७ जना उम्मेदवार छन् । जसमा २२ जना महिला र १५ जना पुरुष रहेका छन् । वडाध्यक्ष पदमा तीन सय ४८ जना उम्मेदवार रहेका छन् । जसमा ९ महिला र ३३९ जना पुरुष छन् । त्यसैगरी सदस्य पदमा ८ महिला र ४५७ पुरुष गरी ४६५ जना उम्मेदवार रहेका छन् । महिला सदस्यमा २२० र दलित महिला सदस्यमा १ सय ९५ जना उम्मेदवार रहेका छन् ।
कुन पालिकामा कति उम्मेदवार
जिल्लाका ९ वटै पालिका र ७४ वटै पालिकामा उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिदैँ छन् । कालिञ्चोक गाउँपालिकामा अध्यक्ष पदमा एक महिला र ९ पुरुष गरी १० जना, उपाध्यक्ष पदका लागि एक महिला र दुई पुरुष उम्मेदवार छन् । त्यसैगरी वडाध्यक्ष पदमा एक महिला र ३० पुरुष, वडा सदस्यमा १ महिला र ५२ पुरुष, महिला सदस्य २२ जना र दलित महिला सदस्य २० जना उम्मेदवार छन् । पालिकामा ४६ महिला र ९३ पुरुष गरी १ सय ३९ जना उम्मेदवार छन् । गौरीशंकर गाउँपालिकामा अध्यक्षकालागि १ महिला र ७ पुरुष, उपाध्यक्ष २ महिला र १ पुरुष, वडाध्यक्षमा ३ महिला र ५६ पुरुष, वडा सदस्यमा २ महिला र ५४ पुरुष, महिला सदस्यमा २४ र दलित महिला सदस्यमा २३ जना उम्मेदवार छन् ।
गौरीशंकरमा ५५ महिला र ११८ जना पुरुष गरी १७३ जना चुनावी प्रतिस्पर्धामा छन् । जिरी नगरपालिकामा प्रमुख पदमा चार पुरुष, उपप्रमुखमा ३ महिला र २ पुरुष, वडाध्यक्ष पदमा १ महिला र ३० पुरुष, वडा सदस्यमा १ महिला र ४९ पुरुष, महिला सदस्यमा २५ र दलित महिला सदस्यमा २१ जना उम्मेदवार छन् । जिरीमा महिला ५१ र पुरुष ८५ गरी १३६ जना उम्मेदवार छन् । तामाकोशी गाउँपालिकामा गाउँपालिकामा अध्यक्ष पदमा ६ पुरुष, उपाध्यक्ष पदमा ३ महिला र १ पुरुष, वडाध्यक्ष पदमा ३६ पुरुष, वडा सदस्यमा २ महिला र ४९ पुरुष, महिला सदस्यमा १८ र दलित महिला सदस्यमा १८ जनाको उम्मेदवारी छ । तामाकोशीमा ४१ महिला र ९२ पुरुष गरी १३३ जना उम्मेदवार रहेका छन् ।
भीमेश्वर नगरपालिकामा प्रमुख पदमा १ महिला र ७ पुरुष, उप्रमुखमा ३ महिला र २ पुरुष, वडाध्यक्षमा ३९ पुरुष, वडा सदस्यमा ५७ पुरुष, महिला सदस्यमा ३१, दलित महिला सदस्यमा २४ जना उम्मेदवार रहेका छन् । नगरपालिकामा ५९ महिला र १०५ जना पुरुष गरी १६४ जना उम्मेदवार छन् । मेलुङ गाउँपालिकामा अध्यक्ष पदमा १ महिला, ९ पुरुष, उपाध्यक्ष पदमा ३ पुरुष र ३ महिला, वडाध्क्षमा २ महिला र ३७ पुरुष, वडा सदस्यमा ४५ पुरुष, महिला सदस्यमा २५ र दलित महिला सदस्यमा २३ जना उम्मेदवार छन् । पालिकामा ५४ महिला र १०० पुरुष गरी १५४ जना उम्मेदवार छन् ।
विगु गाउँपालिकामा अध्यक्ष पदमा १ महिला र १० पुरुष, उपाध्यक्षमा २ महिला र १ पुरुष, वडाध्यक्ष पदमा ३४ पुरुष, सदस्य पदमा १ महिला र ५५ पुरुष, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २३ जना चुनावी मैदानमा उत्रिदै छन् । विगुमा ४८ महिला र ९६ पुरुष गरी १४४ जना उम्मेदवार रहेका छन् । बैतेश्वर गाउँपालिकामा ८ पालिका अध्यक्ष र उपाध्यक्षमा १ महिला र २ पुरुष, वडाध्क्षमा १ महिला र ३६ पुरुष, सदस्यमा ५० पुरुष, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी छ । बैतेश्वरमा ४८ महिला र ९६ पुरुष गरी १४४ जना उम्मेदवार छन् । शैलुङ गाउँपालिकामा अध्यक्ष पदमा ८, उपाध्यक्षमा ४ महिला र १ पुरुष, वडाध्क्षमा १ महिला रर ४१ पुरुष, वडा सदस्यमा १ महिला र ४६ पुरुष, महिला सदस्यमा २४ र दलित महिला सदस्यमा २० जना उम्मेदवार रहेका छन् । ५० महिला र ९६ पुरुष गरी शैलुङमा १४६ जना चुनावमा भिड्दै छन्। जिल्लामा १४२३ जनाले उम्मेदवारी दर्ता गराएकोमा ८३ जनाले फिर्ता लिएका थिए ।
जिल्लामा विषेश गरी एमाले र चारदलीय गठबन्धनबीच प्रतिष्पर्धा हुदै छ । २०७४ को निर्वाचनमा अधिकांश पालिका र वडामा वियजी भएको एमालले एक्लै चुनावी मैदानमा छ । भने अर्का तिर कांग्रेसको नेतृत्वमा, नेकपा माओवादी केन्द्र, नेकमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर चुनावमा होमिएको छ । एमालेलाई विरासत जोगाउने तयारीमा छ, भने गठबन्धनलाई प्रतिष्ठा जोगाउने चिन्ता छ । तर दोलखाका २ पालिका र वडाहरुमा गठबन्धन नभएको र भएकोमा पनि टुटेको छ । उम्मेदवारहरुमध्ये २ जना निर्विरोध निर्वाचित भएका छन् । जिरी नगरपालिका वडा नं. ९ मा दलित महिला सदस्य र गौरीशंकर गाउँपालिका वडा नं. ५ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।


यसरी गर्ने मतदान
निर्वाचन कार्यालयका प्रमुख एवं निर्वाचन अधिकारी राइका अनुसार बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा निर्धारित समयअनुसार बिहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म मतदान हुने छ । मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति मतदान स्थलमा सहभागी भई मतदान गर्न पाउछन् । मतदान गर्ने स्थलमा पुगेर मतदाताका लाइनमा उभिने र नाम रूजू गराउने, औंलामा मसी लगाउन दिने र मतपत्र लिनुपर्छ । निर्वाचनका लागि अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, दुई महिला (एक दलितसहित) सदस्य गरी जम्मा सात पदका लागि मतदान गर्नुर्छ । मतपत्रमा पहिलो लहरमा अध्यक्ष वा प्रमुख, दोस्रो लहरमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लहरमा वडाध्यक्ष, चौथौमा महिला सदस्य, पाँचौँमा दलित महिला सदस्य तथा छैटौं र सातौं लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि रहेको छ । मतदान गर्दा पहिलो लहरको प्रमुख पदमा स्वस्तिक छाप हानेर दोस्रो लाइनको उपप्रमुख वा तेस्रो लाइनको वडाध्यक्षमा मतदान गर्न सकिन्छ । त्यसैगरी अन्य पदमा स्वस्तिक छाप कोठा नछुने गरी लगाउनुपर्छ । त्यसपछि मसी नलतपतिने गरी पट्याएर मत पेटिकामा खसाल्नुपर्दछ ।

Shares

Be the first to comment on "दोलखामा निर्वाचनको तयारी पुरा, डेढ लाख भन्दा बढीले मतदान गर्दै"

Leave a comment

Your email address will not be published.


*