दोलखामा नाम मात्रको निषेधाज्ञा

इश्वर बिश्वकर्मा
चरिकोट, असार २२
कोरोना संक्रमणको जोखिम यथावत रहेको बेला यसको ख्यालै नगरी निषेधाज्ञा थप खुकुलो बनाएर लम्ब्याइएको छ । कोरोना जोखिमको कुनै विश्लेषण नगरी काठमाडौँ उपत्यकाको देखासिकीमा प्रशासनले निषेधाज्ञालाई अझ खुकुलो बनाएर नाम मात्रको निषेधाज्ञा लागू गरेको हो । प्रशासनले खुकुलो बनाएर असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यसअघिको निषधाज्ञामा सबै प्रकारका बजार, दोकान, पसल व्यापार, होटल, रेष्टुरेन्ट लगायत अन्य सबै व्यवसाय साँझ छ बजेसम्म मात्र संचालन गर्न पाइने आदेश रहेकोमा उक्त आदेश खारेज गर्दै व्यापार व्यवासय संचालनको समयावधी लम्बाएर सात बजे पु¥याएको छ । त्यसैगरी यातायातका साधन जोरविजोर प्रणालीमा संचालन हुँदै आएकोमा अब त्यो व्यवस्था पनि हटाइएको छ । अत्यावश्यक कामका लागि उपत्यका प्रवेश गर्न चाहनेले प्रशासनको अनुमति लिई सार्वजनिक गाडीमा जान पाइने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । निषेधाज्ञाको समयमा भने सबै प्रकारका शिक्षण संस्था संचालनमा रोक लगाइएको छ । सभा, गोष्ठि र सेमिनार, सम्मेलन, तालिम, सिनेमा हल, पार्टीप्यालेस, लगायत खेलकुद तथा मनोरञ्जन स्थल र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारको कार्यक्रम संचालन गर्न नपाइने र यस किसिमको व्यवासय संचालन गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ । यसरी कुनै व्यवसाय संचालन गर्न दिने र कुनै व्यवसाय बन्द गरिदिने प्रशासनको निर्णय प्रति स्थानीयहरुले अचम्मित हुँदै असन्तुष्टि जनाएका छन् । कोहीलाई काखा र कोहीलाई पाखा गर्ने प्रशासन विभेदकारी र निकम्मा बनेको स्थानीयको आरोप रहेको छ । केही निश्चित व्यवसाय मात्र बन्द गरेर सम्पुर्ण व्यवसाय संचालन गर्ने गरी लागू गरिएको निषेधाज्ञाको प्रभाव नहुने तर उल्टै कोरोनालाई गिज्याउने र जोखिमलाई बढवा दिने सरोकारवालाहरु बताउँछन् ।  सभा, गोष्ठि लगायतका कार्यक्रम गर्न नपाइने प्रशासनकाे अादेश विपरीत जिल्लामा बजेट सक्नका लागि विभिन्न तालिम, गोष्ठि आयोजना हुने गरेको छ । तर प्रहरीप्रशासनको आँखा त्यसतर्फ जान सकेको छैन् । जसले निषेधाज्ञाको खिल्ली उडेको छ । हिजो मात्रै सयौँ मानिस भेला भएर माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्धघाटन भयो । प्रशासन रमिते भएर मात्र बसेको थियो । ताकी भीडलाई व्यवस्थापन गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गराउन कुनै चासो थिएन ।यसरी निषेधाज्ञाको सरकारी पक्षबाटै उल्लघंन हुन थालेको छ । जिल्लामा कोरोना जाँच सुस्त हुँदा कोरोना संक्रमित थपिनेको संख्या न्यून भएको छ । तर कोरोना संक्रमणको जोखिम घटेको छैन् । यस्तो अवस्थामा निषेधाज्ञा नाम मात्रको लागु हुनु प्रशासनको यसतर्फ ध्यान नदिएको भन्ने कुरा बुझ्न सकिन्छ । यसअघि पनि निषेधाज्ञा जारी मात्र गर्ने तर कार्यान्वयनको पाटोमा निकै कमजोर बनेको प्रशासनले आगामी असार ३१ गतेसम्मको लागि अत्यन्तै खुकुलो निषेधाज्ञा लागू गरेको छ । यसले गर्दा पसलव्यवसाय खोल्न पाउनेहरु र यातायात व्यवसायीहरु खुसी भएका छन् । तर कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्छ भन्नेमा उनीहरुको चासो छैन् ।

Shares

Be the first to comment on "दोलखामा नाम मात्रको निषेधाज्ञा"

Leave a comment

Your email address will not be published.


*