दोलखामा धमाधम क्वारेन्टाइन निर्माण गरिदैँ

मेलुङ्ग गाउँपालिकाकाे क्वारेन्टाइन व्यवस्थापन गरिएकाे विद्यालय भवन

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ४
नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरसले हिमाली जिल्ला दोलखालाई हायलकायल बनाएको छ । बैशाखको पहिलो साताबाटै अन्य जिल्ला र तेस्रो मुलुकका नागरिकहरु जिल्ला फर्किन थाले । उनिहरुलाई क्वारेन्टाइन नराखी बिना परीक्षण सिधैँ घर पठाइयो । जसले गर्दा कोरोना संक्रमणले समुदाय स्तरमा प्रवेश गरेको छ । पहिलो लहरको कोरोना कहरमा अन्य जिल्ला र मुलुकबाट आउनेलाई क्वारेन्टाइनमा राखेर उनिहरुकाे नमूना स्वाबकाे पिसिआर परीक्षण पश्चातमात्र घर पठाउने गरेका स्थानीय तहले यो वर्षको नयाँ भेरियन्ट सहितको कोरोना फैलन सुरु गर्दा पनि क्वारेन्टाइनमा नागरिक राख्न कुनै चासो दिएनन् । तर कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि जिल्लाका स्थानीय तहले बाहिरबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न चाँजोपाँजो मिलाइरहेका छन् । ९ वटै स्थानीय तहले पहिल्यै निर्माण गरिएका क्वारेन्टाइनलाई व्यवस्थित र नयाँ निर्माण कार्यलाई तीव्र बनाएका छन् । ति क्वारेन्टाइनमा अन्य जिल्लाबाट स्थानीय तहमा फर्किने सबै नागरिक १० दिन अनिवार्य रुपमा बस्नुपर्ने छ । क्वारेन्टाइनमा बस्नेहरुको नमूना स्वाबको पिसिआर परीक्षण पश्चात कोभिड संक्रमण पुष्टि नभएमा घर पठाइने छ । ९ वटै स्थानीय तहले विद्यालय, क्याम्पास, सामुदायिक भवन, लगायतका भवनमा आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण गरिरहेका छन् । जिल्लाको तामाकोशी गाउँपालिकालको सबै वडामा १० शैयाको क्वारेन्टाइन क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसारमा सबै क्वारेन्टाइनमा स्वयंसेवकको समेत व्यवस्था गरिएको छ । पालिकाको वडा नं. १ को नारायणी मावि, वडा नं. २ मा अमर मावि, वडा नं. ३ को चनौटे मावि, वडा नं. ४ को गोल्मेश्वर मावि, वडा नं. ५ को पुरानो स्वास्थ्य चौकी भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । त्यस्तै वडा नं. ६ को महेन्द्र मावि र वडा नं. ७ को अम्बिका माविमा क्वारेन्टाइन निर्माण गरिएको छ । आवश्यकता अनुसार थप शैयाको व्यवस्थापन गर्न सकिने समेत बताइएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई प्रतिदिन प्रतिव्यक्ति ३ सय रुपैयाँ बराबरको खानाखाजा उपलब्ध गराउने पालिकाकाे निर्णय रहेकाे छ ।  अध्यक्ष पोखरेलका अनुसार केही वडाको क्वारेन्टाइनमा नागरिकहरु बसिरहेका छन् । भीमेश्वर नगरपालिकाले मंगलबारदेखि गौरीशंकर क्याम्पासमा २० शैयाको क्वारेन्टाइन सञ्चालनमा ल्याउँदै छ । आवश्यकता अनुसार थप गर्न सकिने स्वास्थ्य संयोजक श्याम खड्काले जानकारी दिए । कालिन्चोक गाउँपालिकाले कालिका मावि सुन्द्रावति र जालपाश्वरी मावि बाबरेमा ६० शैयाको क्वारेन्टाइन व्यवस्थापन गरेको छ । पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नेलाई प्रतिव्यक्ति ४ सय रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले बताए । मेलुङ गाउँपालिकामा सितलीमा रहेको १५ शैयाको क्वारेन्टाइनलाई सञ्चालनमा राखिएको छ । डाडाँखर्क माविमा पनि क्वारेन्टाइन निर्माण गरिएको छ । आवश्यकता अनुसार सबै वडामा क्वारेन्टाइन निर्माण व्यवस्थापन गर्न सकिने मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए । केही दिन अघिदेखि नै १ बसका चालक सहित केही संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा आवश्यक स्वयमसेवक परिचालन गरिएको र खानाको पनि प्रबन्ध गरिएको छ । विगु गाउँपालिकामा ५० शैयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ । जहाँ १९ जना व्यक्ति बसिरहेका छन् । जिल्लाबाहिरबाट नागरिकहरु आउने क्रम नरोकिएकोले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी थालिएको स्वास्थ्य संयोजक इश्वर कुमार खड्काले जानकारी दिए । कोरोना प्रभावित जिल्ला तथा देशबाट फर्किएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमाब बस्न पालिकाहरुले अनुरोध गरेका छन् ।

Shares

Be the first to comment on "दोलखामा धमाधम क्वारेन्टाइन निर्माण गरिदैँ"

Leave a comment

Your email address will not be published.


*