“दोलखामा डेङ्गुको जोखिम छैन, तर होसियारी जरुरी ”

ईश्वर विश्वकर्मा
चरिकोट, साउन १५
देशका विभिन्न ठाउँमा डेङ्गु फैलिरहेको बेला दोलखामा सतर्कता अपनाउन थालिएको छ । देशका विभिन्न जिल्ला सहित बागमती प्रदेशका केही जिल्लामा डेङ्गुका बिरामी फेला परेपछि सम्पूर्णको ध्यानाकर्षण भएको बेला दोलखा पनि सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक तयारी थालिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख उत्तमराज खनालले अहिले डेङ्गुको जोखिममा दोलखा नरहे पनि आवश्यक सचेतता र सावधानी जरुरी रहेकोले जिल्लाका स्थानीय तहमा सावधान र सतर्कताका लागि अनुरोध गरिएको बताउनुभयो । “बागमती प्रदेशका केही जिल्लामा डेङ्गुको संक्रमण पुष्टि भएको पाइएको छ । यसले सबैको ध्यान खिचेको छ । दोलखा भने यसको जोखिममा छैन ।” स्वास्थ्य कार्यालय प्रमुख खनालले भन्नुभयो, “जोखिम छैन भनेर ढुक्क भएर बस्ने अवस्था पनि छैन । त्यसैले आवश्यक तयारी सुरु गरिसकेका छौँ ।” जिल्ला तथा पालिका स्तरीय द्रुत प्रतिकार्य टोलीलाई हाइअर्लटमा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो । शंका लागेका व्यक्तिलाई पालिकाबाटै आरडिटी परीक्षणको लागि टेस्ट किटको तयारी अवस्थामा राखिएको छ । जिल्लाका सबै पालिकामा डेङ्गु परीक्षणको लागि टेस्ट किट पठाइएको छ, भने स्वास्थ्य कार्यालयसँग चार सय किट मौज्दात रहेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय नागरिकको स्वास्थ्य प्रति चिन्ता गर्ने र सुरक्षामा सहयोग गर्ने कार्यालय भएको बताउँदै उहाँले हरेक किसिमको महामारीमा स्थानीय तहको सहकार्य र समन्वयमा नागरिकको साथमै रहने सुनाउनुभयो । उहाँले जिल्लामा सबै प्रकारका महामारी रोकथामका लागि दु्त प्रतिकार्य टोली सक्रिय हुने गरेको बताउनुभयो ।
डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकोले लामखुट्टे हुने स्थानमा सबैको विषेश होसियारी आवश्यक रहेको बताउनुभयो । डेङ्गु भएका व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा डेङ्गुको संक्रमण सर्ने भएकोले लामखुट्टेको टोकाइबाट जोगिनु नै बुद्धिमानी हुन्छ । तर पनि यदि कोही कसैलाई डेङ्गुको आशंका भएमा तत्काल परीक्षण गर्नका लागि पालिका तथा सिधै स्वास्थ्य कार्यालयसँग सम्पर्क गर्न सकिने स्वास्थ्य कार्यालय प्रमुख खनालले बताउनुभयो । हिमाली जिल्ला दोलखामा पनि लामखुट्टे पाइने हुँदा यसको टोकाइबाट सर्ने सम्पूर्ण महामारीबाट जोगिनका लागि लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको छ ।

Shares

Be the first to comment on "“दोलखामा डेङ्गुको जोखिम छैन, तर होसियारी जरुरी ”"

Leave a comment

Your email address will not be published.


*