दोलखामा ट्राफिक नियमको उल्लंघन बढ्दो

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक नियम विपरितका क्रियाकलाप बढ्दो छ । यसले गर्दा दुर्घटनामा बृद्धि भएको छ । ट्राफिक प्रहरीले सचेतना कार्यलाई प्राथमिकता दिई नियम कार्यान्वयनमा सक्रियता बढाएको छ । तर चालकलाई नियम सम्बन्धमा थाहा भएपनि पालना गर्न मान्दैनन् । त्यस्ता सवारीलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याउने गरेको छ । गत भदौ महिनामा ट्राफिक प्रहरीले अनुगमनका शिलशिलामा ट्राफिक नियम उल्लंघन गर्ने चार सय वटा सवारी साधनलाई कारबाही गरेको छ । जसबापत तीन लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख भानुभक्त नेपालले बताउनुभयो । ट्राफिक नियम उल्लंघन गर्नेमा अन्य सवारीको तुलनामा मोटरसाइकल धेरै रहेको छ । भदौमा एक सय ३४ वटा मोटरसाइकल कारबाहीमा परेको छ । त्यसैगरी बस एक सय ३, ट्रक÷टिफर ९८, कारजिप÷भ्यान ६४ वटा, ट्याक्टर एक वटा कारबाहीमा परेको उहाँले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल कारबाहीबाट एक लाख ३५ हजार पाँच सय, बसलाई कारबाही गर्दा ७२ हजार, ट्रकटिफरबाट ८२ हजार, कारजिपभ्यानबाट ५६ हजार र ट्याक्टर कारबाहीबाट एक हजार रुपैयाँ राजस्व संकलन भएको छ । सवारी साधन अनुमति पत्र साथमा नभएका, क्षमताभन्दा बढी बोकेको, प्रयोजन विपरीत चलेको, गति तिब्र भएको, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने लगायतका नियम विपरीत गतिविधि गर्ने सवारी साधनलाई कारबाही गरिन्छ । जिल्लामा कागजात नबोक्ने र सवारी चालक अनुमति पत्रबिना चलेका सवारी साधन धेरै कारबाहीमा परेको छ । एक सय ६० वटा सवारी कागजात पत्र नबोकेको कारण कारबाहीमा परेको छ । भने एक सय २८ वटा सवारी अनुमति पत्र साथमा नभएको कारण कारबाहीमा परेको प्रमुख नेपालले बताउनुभयो । रुट परमिटबिना चल्ने २० वटा, क्षमताभन्दा बढी सामान बोक्ने दुई वटा, तिव्र गतिका दुई वटा, प्रयोजन विपरीत चलाउने २७ वटा, अन्य नियम पालना नगर्ने ५७ वटा सवारी साधन कारबाहीमा परेको छ । प्रहरीले दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत सवारी चालकलाई सचेतनासगैँ नियम मिच्नेबाट जरिवाना असुल्ने गरेको छ । प्रमुख नेपालले भन्नुभयो “सवारी साधनको चाप बढ्दो छ । त्यसैले अनुगमनलाई पनि तिब्र पारेका छौँ । चालकलाई ट्राफिक ज्ञान दिएर सचेत पार्ने कार्य फराकिलो बनाएका छौँ । हाम्रो प्रमुख उद्धेश्य दुर्घटना न्यूनिकरण गर्नु हो । जरिवाना असुल्नु होइन ।”दुर्घटनाको पहिलो कारण ट्राफिक नियम उल्लंघन हो । त्यसैले चालक जिम्मेवार भई नियम पालना गर्नुपर्छ । प्रहरीले दुर्घटना न्यूनिकरणको लागि सचेतना प्रदान गर्ने, स्वास्थ्यकर्मीसँगको सहकार्यमा चालकको स्वास्थ्य परीक्षण गर्ने, सवारी साधनको ईन्जिीन जाँच गर्ने लगायतका कार्यहरु गरिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा ट्राफिक नियमको उल्लंघन बढ्दो"

Leave a comment

Your email address will not be published.


*