दोलखामा जिल्लास्तरीय संयुक्त दलित संयन्त्र गठन

दीक्षण समाचार
चरिकोट, असार २७
दोलखामा दलित समुदायको हकअधिकारको क्षेत्रमा सक्रियताका लागि जिल्ला स्तरीय संयुक्त दलित संयन्त्र गठन गरिएको छ । नन्दराज घतानीको संयोजकत्वमा गठन गरिएको संयन्त्रले दलित समुदाय माथि हुने विभेद र छुवाछुतको विरुद्ध काम गर्नुका साथै हकअधिकारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । जिल्लामा दलित समुदायका क्षेत्रमा उल्लेख्य काम हुन नसकिरहेको अवस्थामा संयन्त्रले सरकार र सरोकारवालाको समन्वयमा काम गर्ने सचिव राजेन्द्र नेपालीले बताउनुभयो । त्यसैगरी दलित समुदायलाई आर्थिक रुपमा सबल बनाउनको लागी राजन धनुकेको अध्यक्षतामा सहकारी गठन समिति गठन गरिएको छ । 
अन्तरक्रिया सम्पन्न
सदरमुकाम चरिकोटमा दलित समुदायको सवालमा छलफल तथा अन्तरक्रिया गरिएको छ । समानता फाउन्डेसन नेपालद्वारा आयोजित दलित समुदायको सामाजिक न्यायसहितको राजनैतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले दलित समुदायमा शैक्षिक जागरण अभिवृद्धि गराउँदै अधिकार प्रति सचेत र सजग गराउन आवश्यक रहेको बताउनुभयो । दलित समुदायमा रहेका समस्यालाई पहिचान, न्यूनीकरण र समाधान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गरी राजनैतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने सुनाउनुभयो । उहाँले जिल्लामा दलित अधिकार संरक्षणका लागि आफ्नो तर्फबाट सदैव सक्रियता हुने बताउनुभयो । दलित अगुवा नन्दराज घतानीले कार्यपत्र प्रस्तुत गर्दै राज्यका सम्पूर्ण अङ्ग, क्षेत्र र सुविधामा दलित समुदायको प्रतिनिधित्व र पहुँच सुनिश्चित भए मात्र उक्त समुदायको उत्थानसँगै रूपान्तरण हुने सुनाउनुभयो । प्रस्तुत कार्यपत्रमा टिप्पणी गर्नुहुँदै राजेन्द्र नेपालीले राज्यले चाहेमा दलित समुदायको राजनैतिक, आर्थिक र सांस्कृतिक लगायतका क्षेत्रमा रूपान्तरण चाँडै सम्भव हुने बताउनुभयो । कार्यक्रममा सैलुङ गाउँपालिका वडा नं १ का वडाअध्यक्ष वीर बहादुर घतानीले दलित समुदायको उत्थानका निम्ति वडाका तर्फबाट काम गर्ने बताउनुभयो । 
 

Shares

Be the first to comment on "दोलखामा जिल्लास्तरीय संयुक्त दलित संयन्त्र गठन"

Leave a comment

Your email address will not be published.


*