दोलखामा जनगणनाको तिब्र तयारी ः कार्यालय स्थापना

कार्यालयकाे उद्धघाटन गर्दै जिसस प्रमुख डबल पाण्डे

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ३
दोलखाको सदरमुकाम चरिकोटमा मंगलबार जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । जिल्ला समन्वय समिति दाेलखाको भवनको खाली कोठामा कार्यालयको स्थापना गरि सञ्चालनमा ल्याइएको हो । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले कार्यालयको साइनबोर्ड वाचन गरी कार्यालयको उद्धघाटन गरे । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नाराका साथ आगामी वर्ष हुने १२ औँ राष्ट्रिय जनगणना, २०७८ लाई कार्यालयले सहज, द्रुत, व्यवस्थित र प्रभावकारी बनाउने छ । तत्कालका लागि कार्यालयमा ७ जना कर्मचारी रहने र जनगणनाको आन्तरिक तयारी तथा प्रचारप्रसारलाई व्यापक बनाइने जिल्ला जनगणना अधिकारी रचना प्रधानले जानकारी दिइन् । जनगणनालाई थप व्यस्थित बनाउन बैशाखदेखि जिल्लाको ४ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना हुने छ । जनगणना अधिकारी प्रधानका अनुसार भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, विगु गाउँपालिका र मेलुङ गाउँपालिकामा कार्यालय स्थापना हुने छ ।

जिल्ला जनगणना अधिकारी रचना प्रधान

४ सय ५० जनालाई रोजगारीको अवसर
जनगणनाका कार्यका लागि जिल्लामा ४ सय ५० जनाले रोजगारी पाउने भएको छन् । जसमा गणकमा ३ सय ६० जना र सुपरिवेक्षकमा ९० जनाले करारमा रोजगारी पाउने भएका हुन् । अर्थात् गणक तथा सुपरिवेक्षक गरी ४ सय ६० जना व्यक्ति जनगणनाको लागि परिचालित हुने भएका छन् ।  केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको अनलाइनबाट सुपरिवेक्षक र गणक पदमा रोजगारीका लागि दरखास्त दिन सक्ने तथा अनलाइनमा छुटेकाले चैत्र ५ देखि ११ गते सम्म कार्यालयमै गई दरखास्त दिन सकिने जिल्ला जनगणना अधिकारी प्रधानले बताइन् । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ वा प्रमाणपत्र तह उत्र्तीण भएको हुनुपर्ने उनले बताइन् । छनोट भएका गणक तथा सुपरिवेक्षकले आगामी जेठ २५ गते देखि असार ८ गतेसम्म जिम्मेवारी अनुसार जनगणनाको कार्य सम्पन्न गर्ने छन् । केन्द्रीय तथ्याङ्क विभागको २०७७÷१०÷११ मा प्रथम पटक अनलाइनमा प्रकाशित सूचनाअनुसार उक्त सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र दरखास्त दिन सूचित गरिएको छ । नेपाली भाषाको अतिरिक्त स्थानीय भाषा बोल्न, बझ्न र अरुलाई बुझाउन सक्ने, राष्ट्रियस्तरको गणना तथा सर्वेक्षण वा विभागबाट सञ्चालित कुनै पनि कार्यमा अनुभव हासिल गरेका वा तालिम लिएका, तथ्याङ्क वा जनसंख्या विषय लिई स्नाकोत्तर तह अध्ययनरत विद्यार्थी वा सो सरह उत्तीर्ण गरेका व्यक्तिलाई विषेश प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ । छनोट भएका १ जना गणकले २ सय घरपरिवारको सूचक तथा प्रश्नावलीको आधारमा जनगणना गर्ने छन् । ४ जना गणकलाई १ जना सुपरिवेक्षकले सुपरिवेक्षण गर्ने छन् ।

Shares

Be the first to comment on "दोलखामा जनगणनाको तिब्र तयारी ः कार्यालय स्थापना"

Leave a comment

Your email address will not be published.


*