दोलखामा जग्गा सम्बन्धी काम रोक्का

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १
दोलखामा मालपोत कार्यालयबाट हुने जग्गा सम्बन्धी काम रोकिएको छ । भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ व्यवस्था अनुसार काम गर्नुपर्ने भएपछि सोमबारदेखि कित्ताकाट, दृष्टिबन्धक, धितो बन्धक, अंशबन्डा पासको काम रोक्का भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको परिपत्र र नियमावली अनुसार स्थानीय तहले जमिनको कृषि क्षेत्र र गैरकृषि क्षेत्रको वर्गीकरण गर्नुपर्ने भएपछि सो कार्य नभइन्जेलसम्मको लागि जग्गाको उल्लेखित काम रोक्का गरिएको हो। कार्यालय प्रमुख धनकुमार तामाङले स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि रोकिएको जग्गा सम्बन्धी काम र सेवा प्रवाह सुचारु हुने बताउनुभयो । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका जग्गाको कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरी मालपोत कार्यालयमा बुझाउँछन् । त्यसपछि जग्गाको मूल्याङ्कन गरी पुनः जग्गा सम्बन्धी रोकिएका सम्पूर्ण काम सुचारु हुने कार्यालय प्रमुख तामाङले बताउनुभयो । उहाँले ऐन, नियमावली तथा परिपत्रमा भएको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गर्नुभयो ।
फिल्ड रेखाङ्कन स्थगित
नापी कार्यालय दोलखाले बुधबारदेखि जग्गाको फिल्ड रेखाङ्कन कार्य रोकेको छ । वर्षा सुरु भएकोले चार महिनाको लागि फिल्ड रेखाङ्कन गर्न बन्द गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख अशोक श्रेष्ठले जग्गा नाप जाँच तथा नक्सा स्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशिका, २०७३ अनुसार वर्षाको बेलामा फिल्डमा गएर जग्गाको रेखाङ्कन कार्य स्थगित भएको बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा जग्गा सम्बन्धी काम रोक्का"

Leave a comment

Your email address will not be published.


*