दोलखामा छुटेका १८ बर्ष माथिकालाई खोप लगाइदै

चरिकोट(दीस) –, दोलखामा यस अघि छुटेका १८ वर्ष माथिका नागरिकलाई २५ गतेदेखि कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाइने भएको छ । कार्तिक १७ गते बसेको जिल्ला कोभिड १९ खोप समन्वय समितिको बैठकले १८ बर्ष उमेर समुह माथिका पहिलो मात्रा खोप लगाउन बाँकी रहेका पालिकाहरुमा खोप लगाइने निर्णय गरेको हो ।
जिल्लाको भिमेश्वर नगरपालिका, शैलुङ, कालिन्चोक तामाकोशी र बैतेश्वर गाउँपालिकामा २५ गतेदेखि ३० गतेसम्म पाँच दिने खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको अनुसार शैलुङ गाउँपालिकामा कार्तिक २५, २६ र २७ गते, भिमेश्वर नगरपालिकामा कार्तिक २६, २७ र २८ गते, कालिन्चोक गाउँपालिकामा कार्तिक २७, २८ र २९ गते खोप अभियान चलाइने छ ।
त्यसैगरी बैतेश्वर र तामाकोशी गाउँपालिकामा कार्तिक २८, २९ र ३० गते सम्म १८ बर्ष उमेर पुगेका पहिलो मात्रा खोप लगाउन बाँकी सबै ब्यक्तीहरुलाई कोभिड १९ विरूद्वको खोप कोभिशिल्डको पहिलो मात्रा खोप लगाउने अभियान तय भएको हो ।
यो खोप अभियान संगै दोलखामा पहिलो मात्रा खोप लगाउन बाँकी १८ बर्ष उमेर पुगेका सबै ब्यक्तीहरुले पहिलो मात्रा खोप लगाइसक्ने कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।

उहाँले उमेर खुल्ने सरकारी कागजात साथमा ल्याई स्वास्थ्यसंस्था तथा पालिकाले तोकेका खोप केन्द्रमा गई अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी खोप लगाउन अनुरोध गर्नुभएको छ ।
कोरोना संक्रमण घटेपनि यसको अन्त्य भईनसकेकोले यसबाट जोगिन तथा कोरोना भई मृत्युबाट जोगिन कोरोना विरुद्धको खोप लगाउन अपरिहार्य छ । त्यसैले पालो आएको बेला ढुक्क भई खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
यसैबीच कार्तिक ५ गतेदेखि १६ गतेसम्म भएको खोप अभियानमा १८ हजार ४ सय ८३ जनाले कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाएका छन् ।
भेरोसिलको १६ हजार १ सय १४ जना र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्राको लागि एस्ट्राजेनिकाको खोप दुई हजार ३ सय ५९ जनाले लगाएका हुन् ।
भिमेश्वर नगरपालिकामा ६ सय ९५ जना, जिरी नगरपापिलकामा ६ सय ७० जना, गौरिशंकर गाउँपालिकामा २ हजार ९ सय २९ जना, विगु गाउँपालिकामा ३ हजार ६ सय ४६ जनाले भेरोसिल खोप लगाएका छन् ।
त्यसैगरी कालिन्चोक गाउँपालिकामा १ हजार ७ सय ६५ जना, शैलुङ गाउँपालिकामा १ हजार ३ सय १७ जना, मेलुङ गाउँपालिकामा १ हजार ४६० जना, तामाकोशि गाउँपालिकामा १ हजार ६ सय ७४ जना र बैतेश्वर गाउँपालिकामा १ हजार ९ सय ५८ जना गरी जम्मा १६११४ जनाले खोप लगाएका छन् भने एस्ट्राजेनिका खोप २ हजार ३ सय ५९ जनाले लगाएका हुन् ।

Shares

Be the first to comment on "दोलखामा छुटेका १८ बर्ष माथिकालाई खोप लगाइदै"

Leave a comment

Your email address will not be published.


*