दोलखामा गत बर्ष ८ सय १० जना महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास

दीक्षण समाचार ÷चरिकोट, –दोलखामा गत आर्थिक वर्ष २०७८÷०७९ मा आठ सय १० जना महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास भएको छ । राजस्वमा छुटको व्यवस्थाको भएको महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास बढेको हो । रजिष्ट्रेशन दस्तुरमा छुट पाउने भएपछि महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास भएको मालपोत कार्यालयले जनाएको छ । पुरुषको नाममा जग्गा पास गर्दा छुट नपाइने तर महिलाको नाममा जग्गा पास गर्दा नगर क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा भए ३० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
यही व्यवस्थाका कारण पनि महिलाको नाममा जग्गाजमिनको लालपूर्जा बनाउने क्रम बढेको मालपोत कार्यालय दोलखाका प्रमुख धनकुमार तामाङले बताउनुभयो । गत आर्थिक वर्ष महिलाको नाममा लालपूर्जा बन्दा ५७ लाख ३६ हजार ८ सय ३९ रुपैयाँ राजस्व छुट भएको छ । त्यसैगरी ४४ जना दलितको नाममा लालपूर्जा बनेपछि २४ लाख ४ हजार २०२ राजस्व छुट दिइएको छ ।
१६ जना ७० वर्ष माथिका जेष्ठ नागरिकको नाममा जग्गापास हुँदा २१ हजार ४ सय ८६ रुपैयाँ राजस्व छुट दिइएको छ । यस्तै दुई अपाङ्गता भएका व्यक्ति र दुई नाबालकको नाममा जग्गा पास भएको छ । दलितको नाममा जग्गा पास हुँदा ५० प्रतिशत छुट, जेष्ठ नागरिकको हकमा २५ प्रतिशत र नाबालकको हकमा २५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा गत बर्ष ८ सय १० जना महिलाको नाममा जग्गा रजिष्ट्रेशन पास"

Leave a comment

Your email address will not be published.


*