दोलखामा कोभिडका विरामी नभएपछि आइसोलेशन सेन्टर बन्द

इश्वर बिश्वकर्मा /चरिकोट –पाँच महिना कोरोना संक्रमितले भरिभराउ भएको अक्सिजनसहितका आइसोलेसन शैयाहरु अहिले संक्रमित बिरामी नभएपछि सुनसान बनेको छ । संघिय, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा जिल्लाको विभिन्न स्थानमा कोभिड विषेश अस्पताल खडा गरिएको थियो, भने कुनै अस्पतालमा संक्रमितको लागि आइसोलेन बेड छुट्याइएको थियो । बैशाखदेखि फैलिन सुरु गरेको कोरोना भाइरसको दोस्रो लहरमा ती अस्पतालका आइसोलेसन बेडहरु कोरोनाका बिरामीले भरिएको थियो । तर अहिले कोरोना संक्रमण घटेपछि मानिसहरु संक्रमित हुन छाडेको र भएका संक्रमितहरु पनि संक्रमणमुक्त भएर घर फर्केपछि आइसोलेसन बेड रित्तिएको हो । बैशाखदेखि भदौसम्ममा कोरोना संक्रमितको दर बढ्दा अस्पतालमा तथा आइसोलेसन कक्षहरुमा बेडहरूको अभाव, अक्सिजन व्यवस्थापनमा समस्या, जनशक्तिको अभाव लगायत थुप्रै चुनौतीको सामना गर्नुपरेको थियो । तर अहिले कोरोना संक्रमण घटेपछि संक्रमित हुने क्रम रोकिएको र आइसोलेसनमा बस्नुपर्ने बिरामी नभएपछि आइसोलेसन खाली भएको पालिकाहरुको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाको बैतेश्वर अस्पतालमा अक्सिजनसहितको आइसोलेसन १० बेड छुट्याइएको थियो । कोरोना संक्रमण बढेको बेला यो आइसोलेसन कोरोना संक्रमितका लागि निकै काम लागेको थियो । तर अहिले संक्रमित नै नभएपछि बन्द गरिएको जनस्वास्थ्य निरिक्षक रुपेश चापागाईँले बताउनुभयो । “संक्रमित फेला परी आइसोलेसनमा राख्नुपर्ने भए ती आइसोलेसन खुल्छ । अहिले कोही पनि संक्रमित छैनन्, त्यसैले बन्द गरिएको छ ।” पालिकामा दुई सय ८५ जना नागरिक कोरोना संक्रमित भएकोमा अहिले सबै निको भएका छन् । शैलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीका अनुसार पालिकामा सुरुवाती दिनमा पालिका कार्यालय नजिकैको भवनमा छ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको थियो । त्यहाँ केही बिरामीले उपचार सेवा लिए । पछि २५ बेडको दुई तले भवनमा कोभिड विषेश अस्पताल निर्माण गरी उपचार सेवा सुरु गरिएको थियो । तर अहिले संक्रमित बिरामी नभएपछि जनरल सेवा सोही अस्पतालबाट दिन थालिएको छ । पालिकाका एक सय ९२ जना कोरोना संक्रमित भएकोमा अहिले सबै निको भएको र नयाँ संक्रमित नभएपछि कोरोना मुक्त पालिका बनेको प्रमुख कार्कीले बताउनुभयो । तामाकोशी गाउँपालिकामा मालु कोभिड अस्पताल सञ्चालनमा छ । अहिले यो अस्पतालको कोभिड आइसोलेसन शैया खाली छ । कोरोना संक्रमण घटेपछि अहिले यो अस्पतालबाट अन्य स्वास्थ्य उपचार सेवा प्रवाह गर्न थालिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले बताउनुभयो । कोरोना संक्रमित बढेको खण्डमा कोरोना संक्रमितको उपचारमा सम्पूर्ण शक्ति केन्द्रित हुने उहाँले बताउनुभयो । पालिकामा छ सय १३ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले ती सबै निको भएपछि सक्रिय संक्रमित शून्य रहेको प्रमुख मिश्रले बताउनुभयो । जिल्लाको जिरी नगरपालिकामा जिरी अस्पतालमा कोभिड संक्रमण दर बढेको बेला संक्रमितको उपचारको लागि १० बेडको आइसोलेसन छुट्याइएको छ । पालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार अहिले अस्पतालको कोभिड आइसोलेसन बन्द रहेको छ । संक्रमित नभएपछि आइसोलेसन बन्द भएको हो । पालिकामा तीन सय २ जना कोरोना संक्रमण भएकोमा सबै संक्रमणमुक्त भईसकेका छन् । यो पालिका पनि कोरोना मुक्त बनेको छ । दोलखामा कोरोना संक्रमण रोकथाम र उपचारका लागि भीमेश्वर नगरपालिकामा रहेको चरिकोट अस्पतालले महत्वपुर्ण भूमिका निर्वाह गरेको थियो । यस अस्पतालमा आवश्यक जनशक्ति तथा स्वास्थ्य पूर्वाधारको व्यवस्था भएकोले सबै पालिकाका जटिल प्रकारका कोभिड बिरामीले यहीँबाट उपचार पाएपछि निको भएका थिए । जिल्लामै पहिलोपटक यो अस्पतालमा पिसीआर प्रयोगशाला स्थापना गरिएको छ । अक्सिजन प्लान्ट जडानको तयारी अन्तिम चरणमा पुगेको छ । यस अस्पतालमा अहिले कोरोना संक्रमित छैनन् । जिल्लामा सोमबारसम्मको आंकडाअनुसार दोस्रो लहरमा तीन हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये तीन हजार ७ सय ११ जना निको भएका छन् भने भीमेश्वर नगरपालिकामा दुई र मेलुङ गाउँपालिकामा एक जना गरी तीन जना मात्र सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण घटेर जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ । जिल्लामा धेरैले कोरोना विरुद्धको खोप लगाएको तथा मास्कको प्रयोग बढ्नाले कोरोना संक्रमण त्रास घटेको छ । कोरोना संक्रमण हटेको नभई घटेको हो । यो बढ्न पनि सक्ने भएकोले कोरोना नियन्त्रणका लागि यसअघिका पूर्वाधार तथा जनशक्ति यथावत् राख्नुपर्ने तथा सम्पूर्ण स्वास्थ्य मापदण्ड पालनामा कडाई गरिनुपर्ने देखिएको छ ।

Shares

Be the first to comment on "दोलखामा कोभिडका विरामी नभएपछि आइसोलेशन सेन्टर बन्द"

Leave a comment

Your email address will not be published.


*