दोलखामा किवी भण्डारण सफल

इश्वर बिश्वकर्मा/ चरिकोट, –दोलखाका तीन जना कृषकले उत्पादित किवी सुुरक्षित भण्डारण गरी भाउ बढेको बेला बिक्री गर्न गत वर्ष घरमैँ कोल्ड च्याम्बर जडान गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको ६० प्रतिशत आर्थिक सहयोगमा जिरी नगरपालिका र भीमेश्वर नगरपालिकाका व्यावसायिक किवी कृषकले अमेरिकी कुलबुट प्रविधिमा आधारित च्याम्बर जडान गर्नुभएको हो । परियोजना र कृषकको लागत साझेदारीमा करिब ४ लाख लागतमा निर्माण भएको तीन वटै च्याम्बरको कुल क्षमता १५ मेट्रिक टन रहेको छ । जिल्लाको भीमेश्वर नगरपालिकाका–६ का श्यामकृष्ण थापा, जिरी नगरपालिकाका–७ का ओलक जिरेलले र जिरी नगरपालिका–२ का कृषक पासाङ तेन्जी शेर्पाले च्याम्बर जडान गर्नुभएको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत याम कुमार श्रेष्ठले बताउनुभयो । कृषक थापाको आठ सय बोट विरुवासहितको किवी बगैँचा रहेको छ । अर्का कृषक जिरेलको बगैँचामा एक हजार २ सय बोट रहेको छ । भने शेर्पाको बगैँचामा छ सय बढी किवी बिरुवा रहेको छ । उहाँहरु च्याम्बर जडान सहयोग कार्यक्रममा छनौट भएपछि इकाईले सहयोग रकमका साथै प्राविधिक सहयोग उपलब्ध गराएको थियो । किवी उत्पादन हुने मौसम विषेशतः कार्तिक मंसिर र पुस महिना हो । तर यो मौसममा उत्पादित किवी भाउ बढेको बेला वा बेमौसममा बिक्रीका लागि सुरक्षित भण्डारणको आवश्यकता थियो । त्यसका लागि कुलबुट प्रविधिमा आधारित च्याम्बर परीक्षणका लागि तीन कृषकको घरमा जडान गरिएको हो । परीक्षणका लागि भण्डारण गरिएको किवी जेठ असारसम्म सुरक्षित बसेको कृषकहरुले बताएका छन् । परीक्षण कार्य सफल भएपछि यो प्रविधिको भण्डारणले व्यावसायिक किवी खेतीमा आबद्ध किसानलाई फाइदा पुग्ने भन्दै चालु आवमा पनि लागत साझेदारीमा च्याम्बर जडान कार्यक्रम गरिने इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।
बिउ स्रोत केन्द्र निर्माण
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा गत बैशाखदेखि बिउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । परियोजना कार्यान्वयन इकाई र पालिका र हिमचुली बहुउद्धेश्यीय सहकारी संस्थाको लागत साझेदारीमा ३६ लाख ६ हजार रुपैयाँमा बिउ स्रोत केन्द्र स्थापना गरिएको हो । जसमा इकाईको तर्फबाट ८५ प्रतिशत अर्थात २९ लाख ३० हजार तीन सय रुपयौँ अनुदान उपलब्ध गराएको थियो । पालिकाले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । बाँकी रकम सहकारीले व्योहोरेको इकाईका विवेक सुनारले बताउनुभयो । एक तल्लाको भवन निर्माण गरी आवश्यक प्रविधिको व्यवस्थापन पछि बिउ स्रोत केन्द्र सञ्चालनमा आएको हो । कोरोनाको कारण बिउ स्रोत केन्द्रको भवन निर्माणमा चुनौती खडा भएपछि ढिलाई भएको थियो । यद्यपी सामान्य परिस्थिति भएपछि केन्द्र निर्माण सम्पन्न गरी उपयोग सुरु गरिएको बताइएको छ । केन्द्रमा रैथाने तथा विभिन्न प्रजातिको बिउ संकलन तथा भण्डारण गरी आवश्यक अनुसार उपयोग गर्न सकिने सुनारले बताउनुभयो । यसले स्थानीयलाई खेतीपातीका लागि बिउ खोज्ने झन्झटबाट मुक्ती मिल्ने अपेक्षा गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा किवी भण्डारण सफल"

Leave a comment

Your email address will not be published.


*