दोलखामा किवी प्रशोधन तालिम सम्पन्न

कविराज थामी
चरिकोट, पौष १३
दोलखाको सदरमुकाम चरिकोटमा किवी फल खेती तथा प्रशोधनसम्बन्धी ३ दिने तालिम आइतबार सम्पन्न भएको छ ।
शुक्रबारबाट सूरु भएको तालिम फलफुलको राजा मानिने किवीलाई प्रशोधन गरि अन्य खाद्य पदार्थ निर्माण प्रक्रियाबारे जानकारी दिई आइतबार सम्पन्न भएको हो ।
तालिममा खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बरमहल काठमाडौँकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुमा कुमारी बखिम राई र विभागकी प्राविधिक सहायक लक्ष्मी पौडेलले सहजीकरण गरेका थिए ।
तालिममा किवीफललाई प्रशोधन गरि जाम, क्यान्डी, वाइन, स्क्वास र माडा बनाउने विधी, सामग्री लगायतको विषयमा प्रयोगात्मक जानकारी दिएका थिए ।
तालिम समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले किवी फलको पहिलो पटक उत्पादन तथा विस्तार दोलखामा भएको बताए ।
उनले किवीको बजार अत्याधिक भएपनि कुनै उत्पादन बृद्धि गरि आयमा अभिबृद्धिका लागि किवी प्रशोधन गरि अन्य खाद्य वस्तु निर्माण गर्नुपर्ने बताए ।
उनले चरिकोटमा भ्रमण वर्षको शुभारम्भमा आउँदो पौष १६ देखि साताव्यापी किवी महोत्सवको आयोजना गरिने भएकाले सबैलाई सहभागी हुन आग्रह गरे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (किवी जोन) का प्रमुख वरिष्ठ कृषि अधिकृत मोहन प्रसाद खतिवडाले किवी प्रशोधनका लागि किवी कृषकहरुलाई आवश्यक सहयोगका लागि इकाई प्रतिबद्ध रहेको बताए ।

तालिममा किवी जोनमा आबद्ध २१ जना कृषकहरुको सहभागिता रहेको थियो । सहभागी कृषकहरुले तालिममा जानकारी भएको कुराहरुलाई प्रयोग गर्ने बताएका छन् । तालिममा किवी फल प्रशोधन गरि उत्पादन भएका सामग्रीहरुलाई किवी महोत्सवमा राखिने बताइएको छ ।
तालिम किवी जोन आयोजना र किवी जोन सञ्चालक समिति दोलखाको सहआयोजनामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "दोलखामा किवी प्रशोधन तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*