दोलखामा किवीमा कृषकको आर्कषण ः किवी रोप्नेले पाउँछन् यसरी अनुदान

इश्वर बिश्वकर्मा /चरिकोट–फलफूलको राजा मानिने स्वादिलो र गुणकारी किवी फलको माग बढ्दै गएपछि यसको व्यावसायिक उत्पादन तर्फ किसानहरुको आकर्षण बढेको छ । बैदेशिक रोजगारबाट फर्किएका र अन्य कामको विकल्पको खोजीमा रहेका युवाहरु किवी खेतीमा सहयोग तथा प्रोत्साहन पाएपछि किवी खेती तर्फ संलग्न हुन थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाई, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किवी खेती विस्तार अभियानमा प्रोत्साहित गर्ने गरेको छ । किवी खेतीको प्रर्वद्धनका लागि २०७५÷०७६ आवमा चरिकोटमा स्थापित परियोजना कार्यान्वयन इकाईमा सुचिकृत हुने लाभग्राहीको संख्या दुई सय १८ पुगेको छ । गत वर्ष ८० लाभग्राही सुचिकृत भएपछि लाभग्राहीको संख्या दुई सय १८ पुगेको हो । कुल सुचिकृत लाभग्राहीमध्ये भीमेश्वर नगरपालिकामा ९८, जिरी नगरपालिकामा ३०, शैलुङ गाउँपालिकामा ४५, कालिन्चोक गाउँपालिकामा २०, विगु गाउँपालिकामा नौ र गौरीशंकर गाउँपालिामा १६ रहेको बताइएको छ । कृषक समुह ३०, सहकारी १८, निजी उद्यमी एक सय ६८ र जल उपभोक्ता समिति दुई रहेका छन् । परियोजनामा वर्षेनी सुचिकृत हुने क्रम बढ्दो रहेको वरिष्ठ कृषि अधिकृत याम कुमार श्रेष्ठले बताउनुभयो ।गत आवमा किवी जोनको क्षेत्रफल एक सय ४८ हेक्टर क्षेत्रफल थपिएको छ । इकाइ कार्यालयको अनुसार जोन क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत ५५ हेक्टर, चक्लाबन्दी क्षेत्र विस्तार कार्यक्रमबाट २५ हेक्टर क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञान केन्द्र रामेछाप मार्फत किवी ब्लक कार्यक्रमबाट किवी जोन कार्य क्षेत्र भित्र ३५ हेक्टर क्षेत्र विस्तार भएको छ । त्यसैगरी स्थानीय तहको पकेट कार्यक्रमबाट विगु गाउँपालिकामा १४ र भीमेश्वर नगरपालिकामा १४ हेक्टर गरी कुल २८ हेक्टर क्षेत्रफल किवी जोनको कार्यक्षेत्र समावेश भएको छ । यसरी किवी खेती विस्तार भएपछि किवी जोनको कार्य क्षेत्र बढेको वरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।
किवी जोनको सहयोग
किसानलाई किवी खेतीमा प्रोत्साहन तथा उत्पादन बृद्धिमा सघाउका लागि किवी जोनले अनुदान सहयोग उपलब्ध गराउदैँ आएको छ । गत वर्षपनि व्यवासायिक रुपमा किवी खेती गर्दै आएका र किवी जोनमा आबद्ध किसानलाई अनुदान प्रदान गरेको छ । इकाइका अनुसार जोन÷सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम अन्तर्गत २५ वटा मिनीटिलर, छ वटा डिगर मेशिन, १८ वटा डिजिटल तराजु, १८ वटा पुनिङस, एक सय ८६ वटा प्लाष्टिक क्रेट, २२ वटा सिकेचर, १२ वटा वायर पुलर, एक वटा रिफ्याक्टोमिटर लगायतका प्रविधि अनुदानमा दिएको छ । त्यसैगरी किवी बगैँचा थाँक्रामा ५० प्रतिशत अनुदान अन्तर्गत किवीफलको १९ हेक्टर क्षेत्रफल बगैँचामा थाँक्रा विस्तार गरिएको छ । जी.आई. पाइपको एक हजार छ सय ७८ वटा थाँक्रा निर्माण भर्य आठ हेक्टर क्षेत्रफलमा थाँक्रा विस्तार, सिमेन्टेड पोष्टको दुई हजार छ सय ९० वटा थाँक्रा निर्माण भई नौ हेक्टर क्षेत्रफलमा थाँक्रा विस्तार भएको र फलामको तीन सय ३३ वटा थाँक्रा निर्माण भई दुई हेक्टर क्षेत्रफलमा थाँक्रा विस्तार भएको कार्यालयाले जनाएको छ । त्यसैगरी किवी खेतीका लागि सिंचाई पूर्वाधार निर्माण कार्याक्रम अन्तर्गत ३२ वटा साना सिंचाई पूर्वाधार निर्माणका लागि सहयोग गरेको छ । जसमा ३२ वटा संस्थाहरुको डिजाइन इस्टिमेट अनुसार सिमेन्टेड पोखरी, निषेचन थोपा सिंचाई सहितको सिंचाई पूर्वाधार निर्माणमा सहयोग गरिएको इकाईका विवेक सुनारले बताउनुभयो ।
दुई वटा किवी नर्सरी केन्द्रलाई सहयोग
जिल्लामा किवी खेतीतर्फ किसानको आकर्षण बढेपनि किवीको बोटविरुवा पाउन मुस्किल पर्ने अवस्था छ । तर जिल्लामा औँलामा गन्न सकिने किवी नर्सरी स्थापना भएका छन् । ती नर्सरीलाई प्रर्वद्धन तथा संरक्षणमा सघाउने हेतुका साथ प्रविधि सहयोग गरिएको इकाईका कर्मचारी सुनारले बताउनुभयो । गत वर्ष सहयोग प्राप्त गर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ९ को धनजित कृषि फर्म र सोही वडाको सेतीचन्द्र भूमे प्रांगारिक कृषि सहकारी संस्था लिमिटेड रहेको छ । किवी लगायत अन्य विरुवा उत्पादनको लागि दुई वटा जीआइपी पाईप निर्माण गरिएको छ । उच्च प्रविधि नर्सरी भित्र उत्पादन हुने विरुवाको सिंचाईको लागि ड्रममा संचित भएको पानीलाई मोटर पम्मपको मद्धतबाट मिष्ट सिंचाई प्रणाली जडानमा सहयोग गरिएको बताइएको छ । ती नर्सरीबाट २० हजार रुटस्टक तथा २० हजार कलमी विरुवा उत्पादन भईरहेको छ । किवी खेतीमा प्रोत्साहनका लागि सहयोग प्राप्त भएपछि किसान उत्साहित छन् । खेतीको सुरुवातमा लगानी बढी भएपनि दिर्घकालसम्म आम्दानी लिन सकिने भएपछि किसानको मोह किवीमा बढेको छ । जसका कारण धान, गहुँ लगायतका बाली लगाउन छाडेर किवी खेतीतर्फ लाग्ने किसानको संख्या बढ्न थालेको छ ।

Shares

Be the first to comment on "दोलखामा किवीमा कृषकको आर्कषण ः किवी रोप्नेले पाउँछन् यसरी अनुदान"

Leave a comment

Your email address will not be published.


*