दोलखामा काठको पोल हटाउदै प्राधिकरण

ईश्वर बिश्वकर्मा /चरिकोट, –विद्युत प्राधिकरण दोलखाले विस्थापन अभियान अन्तर्गत चार सय बढी काठे पोल विस्थापन गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाको विभिन्न स्थानमा जिर्ण अवस्थामा रहेका चार सय ४ वटा काठे पोल हटाएर फलामे पोल राखिएको हो । दिगो फाइदा हुने भएपछि काठे पोल हटाएर फलामे पोल राखिएको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी शैलुङ गाउँपालिकामा एक सय २० वटा र सबैभन्दा कम विगु गाउँपालिकामा १२ वटा फलामे पोल राखिएको छ । भीमेश्वर एक सय १२, जिरी नगरपालिकामा ३०, तामाकोशी गाउँपालिकामा १३, बैतेश्वर २९, मेलुङ ७५, गौरीशंकर गाउँपालिका १४ वटा पोल विस्थापन गरी फलामे पोल राखिएको प्राधिकरणका ईन्जिनियर राजेन्द्र चौधरीले बताउनुभयो ।
जिर्ण पोलका कारण समस्या भएको भन्दै उपभोक्ताहरु गुनासो लिएर प्राधिकरणको कार्यालयमा आउछन् । यहाँका कर्मचारीले पोलको अवस्थाबारे निरीक्षण गरेपछि पुरानो हटाएर नयाँ पोल राखिन्छ ।
ईन्जिनियर चौधरीले भन्नुभयो “घामपानीका कारण काठे पोल पाँच वर्ष नबित्दै मक्किने, भाँच्चिने हुन्छ । यसले दुर्घटना निम्त्याउँछ । यस्ता जोखिम हटाउन प्राधिकरणले उपभोक्तासँगको सहकार्यमा काठे पोल विस्थापन अभियान चलाएको हो ।”
जिल्लामा पाँच हजार भन्दा बढी काठेपोल विस्थापन हुन बाँकी रहेको छ । अभियान अन्तर्गत ती पोलहरु हटाएर फलामे पोल राख्ने काम भईरहेको छ । अबको केही वर्षमा जिल्लालाई काठेपोल मुक्त घोषणाका लागि अभियानलाई तीव्रता दिइएको ईन्जिनियर चौधरीले दीक्षण दैनिकलाई सुनाउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा काठको पोल हटाउदै प्राधिकरण"

Leave a comment

Your email address will not be published.


*