दोलखामा कर कार्यालयद्धारा आठ करोड ९० लाख राजस्व संकलन

ईस्वर विक/चरिकोट,–दोलखामा कर शिक्षाको सचेतना र करदाता सेवा कार्यालयको सक्रियता लगायतको कारण राजस्व संकलनमा वृद्धि भएको छ । कार्यालयका अनुसार चालु आवको साउनदेखि कार्तिकसम्म चार महिनाको अवधिमा आठ करोड ९० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आय कर शीर्षकबाट पाँच करोड ३८ लाख ४४ हजार, मूल्य अधिबृद्धि कर तीन करोड १९ लाख ६१ हजार, अन्तशुल्क शीर्षकबाट २५ लाख ५४ हजार र अन्य शीर्षकमा राजस्व संकलन भएको हो । चालु आवमा ३१ करोड ७० लाख संकलन गर्ने लक्ष्य प्राप्त भएको छ । कार्यालय प्रमुख कर अधिकृत गणेश बहादुर डाँगीले लक्ष्य तुलनामा कार्तिकसम्म ११० प्रतिशत राजस्व संकलन भएको हो । जिल्लामा मूल्य अभिबृद्धि करमा एक हजार ६६ जना, अन्तशुल्कमा चार सय ४९ जनाको दर्ता भएको छ । एक हजार ८ सय ७९ व्यक्तिगत र आठ हजार पाँच सय ६६ जनाले व्यावासायिक स्थायी लेखा नम्बर लिएको उहाँले बताउनुभयो । कर तिर्नु नागरिकको दायित्व भएको सुनाउँदै कार्यालय प्रमुख एवं कर अधिकृत डाँगीले भन्नुभयो “ जिल्लामा करदाताहरु बढिरहेका छन् । यसले कर तिर्नुपर्छ भन्ने मान्यता नागरिकमा स्थापित भएको बुझ्न सकिन्छ ।” करदाता सेवा कार्यालय २०७७ असोजमा स्थापना भएको थियो, भने आश्विन ३० गते कार्यालयको सेवा शुभारम्भ भएको थियो । यो कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता, व्यवसायिक स्थायी लेखा नम्बर दर्ता, भ्याट दर्ता, व्यवसायी दर्ता लगायतका सेवा प्रवाह गरिरहेको छ ।
सकियो कर सप्ताहः
‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धीः सुशासान, विकास र समृद्धि’ भन्ने नाराको साथ मंसिर १ गतेदेखि सुरु भएको कर सप्ताह मंगलबार सकिएको छ । यस अवसरमा करदाताको स्वेच्छिक कर सहभागिताको लागि आवश्यक पर्ने नीति, विधि र प्रक्रिया बारे जानकारी दिन दोलखामा पनि विविध कार्यक्रम आयोजना भयो । तर ती कार्यक्रमहरु सदरमुकाम चरिकोटमा मात्र सीमित थियो । करदाता सेवा कार्यालय प्रमुख एवं कर अधिकृत गणेश बहादुर डाँगीले कार्यालयको कामको कारण सरदमुकाम बाहेकका स्थानमा कार्यक्रम गर्न नसकिएको बताउनुभयो । सप्ताहको पहिलो दिन अर्थात दशौँ कर दिवसको अवसरमा करदाता सेवा कार्यालयबाट पहिलो पटक व्यावासायिक प्यान लिने करदातालाई सम्मान गरिएको थियो । त्यसैगरी मंसिर ३ गते उत्कृष्ट करदाताको रुपमा सिम्पानी निर्माण सेवा प्रा.लिलाई सम्मान गरिएको छ । कर कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेका करदाताहरुमध्ये कर सहभागिता जनाई २०७६÷०७७ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोले सो कम्पनीलाई उत्कृष्ट करदाता घोषणा गरी सम्मान गरिएको हो । सोही दिन आर्थिक ऐन, २०७८ ले व्यवस्था गरेको छुट तथा सुविधाहरु सम्बन्धमा छलफल समेत गरिएको थियो । हरेक नागरिकलाई करको दायरामा स्वतःस्फुर्त आउनका लागि उत्प्रेरित गर्न कर सप्ताह अन्तर्गत करदाता शिक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको अधिकृत गणेश डाँगीले बताउनुभयो । वि.सं २०५४ साल मंसिर १ गतेबाट नेपालमा मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको सम्झनामा प्रत्येक वर्षको मंसिर १ गतेलाई कर दिवसको रुपमा मनाइन्छ ।

Shares

Be the first to comment on "दोलखामा कर कार्यालयद्धारा आठ करोड ९० लाख राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*