दोलखामा एम्बुलेन्स सेवा लिनै सकस

साँकेतिक तस्बिर

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २५
विश्वभर गत वर्षदेखि फैलिएको कोरोना भाइरसले नेपालमा पनि विध्वंस मच्चायो । केहि महिनाका लागी कोरोना महामारी मथ्थरजस्तो भएको थियो । जनजीवन सामान्य बन्दै गएको थियो । तर फेरी पनि अन्य मूलुकसहित नेपालमा पनि कोरोना महामारी झन शक्तिशाली भई ‘भुसमा लागेको आगो सल्किए झैँ तीव्र गतिमा फैलिरहेको छ । यसको आक्रमणमा परी सयौँ मानिस स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजनको सहारामा कोरोनासँग जुधिरहेका छन् । यो संकटलाई व्यवस्थापन र न्युनिकरणका लागि आ–आफ्नै तह र तप्काबाट विविध प्रयास भईरहेका छन् । यो संकटको घडीमा कोरोना प्रभावित व्यक्ति अथवा बिरामीलाई सुरक्षित हुदैँ एम्बुलेन्समार्फत् अस्पतालसम्म सहज ढंगले ओसारपसार गरी बिरामीको जीवन रक्षा गर्ने पहिलो जिम्मेवारी एम्बुलेन्स चालकको हो । एम्बुलेन्स चालकलाई ‘फ्रन्टलाइनर’को रुपमा लिइन्छ । तर यि फ्रन्टलाइनरले नै स्वास्थ्य संकटको बेला एम्बुलेन्स सेवा दिन विलम्ब गर्ने, आनाकानी गर्ने र सहजै सेवा उपलब्ध नगराएमा कस्तो होला ? त्यो स्थिति पक्कैपनि दुखद हुन्छ । हो जिल्लामा यस्तै समस्या भोग्नुपरेको सर्वसाधारण नागरिकहरुले गूनासो गरेका छन् । बिरामी अस्पताल लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा फोन अफ राख्ने, नउठाउने गरेको गूनासो नागरिकहरुले गर्न थालेका छन् । त्यस्तै फोन उठिहालेपनि एम्बुलेन्स चालकले एम्बुलेन्स सेवा दिन आनाकानी गर्ने, ढिला गर्ने गरेको बिरामी तथा सर्वसाधारणको गूनासो रहेको छ । जिल्लामा अहिले निषेधाज्ञा जारी छ । निजी सवारी साधन पाउन पनि कठिन छ । कोहीकसैको स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पतालसम्म पुर्याउन एम्बुलेन्स बाहेकको विकल्प छैन् । यस्तो अवस्थामा एम्बुलेन्सले सेवा दिन ढिलाई गर्नु, आनाकानी गर्नु नागरिकको स्वास्थ्यमाथी खेडवाड गर्नु हो । चरिकोटका सागर लामा भन्छन् “जिल्लाको सदरमुकामसमेत रहेको भीमेश्वर नगरपालिकास्थित चोथाङका एक बिरामीलाई जटिल अवस्थामा पनि एम्बुलेन्स चालकले एम्बुलेन्स लिएर आउन मानेन् । उनलाई ढिला गरी अस्पताल पुर्याइयो । अन्य पालिकामा पनि यो किसिमको समस्या उत्पन्न भएको पाइएको छ ।” स्वास्थ्य कार्यालय दोलखाका अनुसार ९ वटै स्थानीय तहमा एम्बुलेन्सको पहुँच रहेको छ । जिल्लामा निजी अस्पताल र सरकारी स्वास्थ्य संस्थामा गरी २० वटा एम्बुलेन्स चालु अवस्थामा रहेका छन् । तर जिल्लाका सर्वसाधरण नागरिकहरुबाट एम्बुलेन्सले सहज सेवा उपलब्ध गराउन नसेको गुनासो गरेका छन् । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले यो विपत्तिको समयमा नागरिक कोरोनाबाट जोगिएर बस्नुपर्छ । यदि यद्यपी कोरोना संक्रमण भएमा वा अन्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त अस्पताल जानका लागी एम्बुलेन्स चालकलाई सम्पर्क गर्न सकिने बताए । उनले भने “यो महामारीको सामना गर्न जिल्लामा २० वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । ति एम्बुलेन्सले तत्कालिन अवस्थामा पर्याप्त छन् । यद्यपी अन्य बैकल्पिक उपायमा जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स बनाउन सकिन्छ।” स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बिरामी बोक्न अनुमति दिइएका गाडी र एम्बुलेन्स चालकहरुले आफू अनुकूल अवस्थामा भएपनि आफ्नो जिम्मेवारी पूरा नगर्ने चालकलाई कारवाही हुने बताएका छन् । साथै उनले यो विपत्तिमा एम्बुलेन्स चालक जिम्मेवारीबाट पन्छिएर हैन, सुरक्षित भएर जनता बचाउने काम गरी पूण्य कमाउनुपर्ने बताएका छन् । यत्ता सरकारी स्वास्थ्यसंस्थामार्फत् सञ्चालन हुने एम्बुलेन्स चालकहरुले भने एम्बुलेन्स सेवा दिन आफूहरु प्रतिबद्ध रहेका बताएका छन् । भीमेश्वर नगरपालिकाका चरिकोट अस्पतालका एम्बुलेन्स चालकले आफूहरु बिरामीकै सेवामा व्यस्त भएको खण्डमा अरु बिरामीलाई तत्काल सेवा उपलब्ध गराउन सम्भव नभएको बताए । त्यस्तो अवस्थामा बाहेक अरुबेला भने दिनरात नभनी २४ सै घण्टा बिरामीको सेवा हाजिर भएको र हुने पनि प्रतिबद्धता जनाएका छन् । सरकारी स्वास्थ्य संस्थामा सञ्चालित एम्बुलेन्स चालकले भने आफू अनुकुल भएको बेला सेवा दिएको जिकीर गरेपनि निजी अस्पतालका एम्बुलेन्स भने संक्रमित बोक्ने वा अन्य बिरामी बोक्नै नआउने गरेको स्थानीयले आरोप लगाएका छन् । “एम्बुलेन्स भनेको बिरामी बोक्नकै लागी हो । तर यहाँका निजी अस्पतालमा सञ्चालित एम्बुलेन्सले त बिरामीको सेवा गर्नै मान्दैनन् ।” एक स्थानीयले गुनासो गरे ।
एम्बुलेन्स सेवा व्यवस्थित बनाउन बैठक
एम्बुलेन्सले सेवा सम्बन्धि नागरिक तथा सञ्चारकर्मीहरुबाट गुनासो आएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाले बैठक डाकेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले एम्बुलेन्स नियमन तथा व्यवस्थित र अनुगमन गर्ने गरी आज १ बजे बैठक बसी ठोस निर्णय गरिने बताए । बैठकले एम्बुलेन्स सेवा प्रभावकारी बनाउन संयन्त्र निर्माण गर्ने बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा एम्बुलेन्स सेवा लिनै सकस"

Leave a comment

Your email address will not be published.


*