दोलखामा एक घर पाँच जडीबुटी अभियान सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन २३
दोलखामा बिहिबार देखि एक घर पाँच जडीबुटी अभियान सुरु गरिएको छ ।
जडिबुटीको संरक्षण गर्दै उपचार पद्धतिको प्रयोगमा जोड दिने उद्देश्यले अभियान सुरु गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले प्रत्येकको घरआगनमै रहेका तरपनि प्रयोगविहीन अवस्थाका जडिबुटीको संरक्षण गरि प्रयोगमा जोड दिन अभियान सुरु गरेको छ ।
केन्द्रले एक घर पाँच जडीबुटी, पाँच योग र पाँच व्यवहारको विषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरि अभियान सुरु भएको जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा केन्द्रका कविराज निरिक्षक तथा निमित्त कार्यालय प्रमुख विमल श्रेष्ठले स्थानीय घरगाउँ वनजङ्गलमा पाईने जडिबुटीद्वारा विविध रोगहरुको सफल उपचारका लागि समेटिएको जानकारीमुलक कार्यपत्र प्रस्तुत गरे ।
उनले औषधीको रुपमा प्रयोग हुने जडिबुटीको पहिचान हुन आवश्यक रहेको भन्दै करिब ३० भन्दा बढी जडिबुटीको उपयोगीता बारे जानकारी दिए ।
अदुवा, निम, मरिच, अमला, तुलसी, दुबो लगायतबाट अथाह लाभ लिन सकिने भएकाले त्यस्ता जडिबुटी सबैको खेतबारीमा रोप्नु पर्ने बताए ।
पाँच व्यहारबारे जानकारी दिदैं जीवनशैली स्वस्थ बनाउन अनुशासित पुर्वक व्यवहार गरिनुपर्ने बताए । मानव स्वस्थ रहन समयको ख्याल गर्दै सकरात्मक सोचको विकास गरिनुपर्ने बताए ।
अभिमुखिकरण कार्यक्रममा योग प्रशिक्षक पर्वत थापाले सुर्य नमस्कार, भ्रामरी लगायत योग, आसान, व्यायामबाट हुने फाइदाबारे जानकारीका साथै अभ्यास गराएका थिए ।
उनले पाँच प्रकारका सरल योग अभ्यास गराउदैं लामो समयसम्म जीउन योग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै डबल पाण्डेले एक घर पाँच जडिबुटी अभियानलाई सफल पार्न अहिले आफ्नो घरमा भएको भन्दा नयाँ किसिमको जडिबुटी लगाउनु सबैको दायित्व रहेको बताए ।
उनले पछिल्लो समय जडीबुटी र योगको महत्व बढ्दै गएको हुँदा रोग लाग्न नदिन योग र रोग लागेमा जडीबुटीको प्रयोग गर्न सल्लाह दिएका छन् ।


भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले अभियानलाई सार्थकता दिन कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा पुर्ण रुपमा लागु गर्नुपर्ने बताए । उनले अभियानबारे सबै स्थानीय तहहरुसँग समन्वय गरि अभिमुखिकरण कार्यक्रम गर्न आयुर्वेद स्वास्थ्य केन्द्रकलाई आग्रह गरे ।


कार्यक्रममा सहभागीहरुले आफ्नो घरमा पाँच जडीबुटी अनिवार्य रुपमा रोप्ने प्रतिबद्धता जनाएका छन् । भीमेश्वर नगरपालिका ३ तारथलीका पदम बहादुर सुवेदीले धेरै जडीबुटीको प्रयोग विधी कार्यक्रमबाट थाहा भएको बताए । उनले आफ्नो घरमा नयाँ किसिमको पाँच जडीबुटी रोप्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मुरारी राज शिवाकोटी, पत्रकार बाबुराम शर्मासहित करिब २५ जना बढीको सहभागिता रहेको थियो ।
एक घर पाँच जडिबुटी कार्यक्रमका लागि प्रदेश सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराएको केन्द्रले जनाएको छ । नि ः शुल्क र सहज उपचार पाउन थालेसँगै पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने बिरामीको संख्या बढ्दै गएको छ ।

तस्बिर साैजन्य बिमल श्रेष्ठ

Shares

Be the first to comment on "दोलखामा एक घर पाँच जडीबुटी अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*