दोलखामा आलु जोन कार्यक्रमले उत्साह

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ १९
दोलखामा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र आलु जोन कार्यक्रम सञ्चालन भएपछि किसानहरू उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मार्फत गत आर्थिक वर्ष २०७८÷०७९ देखि आलुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि जिल्लाको पाँच वडामा आलु जोन कार्यक्रम सुरु भएको हो । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ९ र सैलुङ गाउँपालिकाको वडा नं. १, ३, ६ र ८ लाई आलु जोनमा समेटिएको छ । यी वडामा आलु खेती गर्ने किसानहरूको संख्या धेरै छ । परियोजनामार्फत जोन कार्यक्रम सुरु भएपछि किसानहरू थप उत्साहित भएका हुन् ।

जोन क्षेत्रमा आलु उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि इकाईले विशेष प्राथमिकताका साथ अनुदान, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । यसबाट लाभान्वित किसानहरू खुशी हुनुका साथै नयाँ किसानहरू समेत आलु खेतीतर्फ आकर्षित हुन थालेको आलु जोन सञ्चालक समितिका सदस्य रमेश अधिकारीले बताउनु भयो ।
इकाईका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत प्रज्ञा श्रेष्ठले आलु खेतीमा लागत कम र उत्पादन बढाउन लागू गरिएको जोन कार्यक्रमले किसानहरू उत्साहित भएको बताउनु भयो । “सडक तथा सिन्चाइ पूर्वाधारको सुविधा भएको र अन्य ठाउँमा भन्दा प्रचुर मात्रामा आलु उत्पादन हुने वडालाई जोन कार्यक्रममा समावेश गरिएको छ । त्यहाँबाट वर्षेनी लाखौँको  आलु उत्पादन तथा निर्यात भइरहेको थियो ।” उहाँले भन्नुभयो “अहिले आधुनिकीकरण, विशिष्टीकरण र आधुनिकीकरणमा जोड दिदैँ अनुदान र सहयोग उपलब्ध गराउने गरी जोन कार्यक्रम सञ्चालन भएपछि किसानहरू खुशी भएका छन् ।”

उहाँका अनुसार जोन क्षेत्रमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान र सहयोगका कार्यक्रम सञ्चालन भइरहेको छ । हाल आलु जोनमा ७७ कृषि फर्म, १५ कृषक समूह, ११ सहकारी र चार कम्पनी सूचिकृत छन्, भने तीन सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ । कार्यक्रमको प्रभावकारिताले खेतीको क्षेत्रफल बढ्ने इकाईका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।
गत वर्ष आलु जोन क्षेत्रमा कुल ४१ लाख ३३ हजार रुपैयाँको मात्र कार्यक्रम सञ्चालन गरिएको थियो । सञ्चालित कार्यक्रमबाट ४२ वटा फर्म, समूह र सहकारी लाभान्वित भएका थिए । त्यसको प्रभावकारिताको विश्लेषण गर्दै चालु आर्थिक वर्ष भने परियोजनाले एक करोड ९ लाख ८५ हजार बराबरको कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।
कार्यक्रम अन्तर्गत चक्लाबन्दीमा उन्नत बिउको क्षेत्र विस्तार कार्यक्रम, खायन आलु जातीय उत्पादन प्रदर्शन कार्यक्रम, बिउ आलु उत्पादन प्रर्दशनी, मेसिनबाट आलु रोप्ने ड्याङ बनाउने प्रदर्शन कार्यक्रम, बाली संरक्षण कार्यक्रम हुने भएको छ ।
पिबिएसबाट आलु उत्पादनको लागि स्किन हाउस निर्माण, जोनमा कृषि यान्त्रिकरणमा सहयोग, डिजिटल तौल गर्ने मेसिन अनुदान, सिँचाइ पूर्वाधार तथा मर्मत सम्भार कार्यक्रम सञ्चालन गरिने हुने बताइएको छ । त्यसैगरी आलु प्याकेजिङ तथा लेवलिङ बजारिकरण सहयोग कार्यक्रम, औद्योगिक जातका आलु उत्पादन प्रर्दशन, जोनस्तर तालिम, बालिवस्तु विशेष स्थलगत तालिम लगायतका कार्यक्रम सञ्चालन हुने छ ।

परियोजना मार्फत सञ्चालित किवी जोन कार्यक्रम अन्तर्गतका कार्यक्रम सञ्चालनको लागि दुई करोड २६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।  संघीय कृषि मन्त्रालयको कार्यक्रमहरु खासगरी “संरक्षित कृषि, सुनिश्चित बचत”को दीर्घकालिन सोच कार्यान्वयन गर्न आव २०७५÷०७६ मा कार्यालय स्थापना गरी जिल्लामा परियोजना लागू गरिएको थियो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उक्त परियोजनाको मुख्य उद्धेश्य रहेको छ । जिल्लामा परियोजना आएपछि किवी जोन कार्यक्रम सञ्चालन भएको थियो । त्यसको तीन वर्ष पछि आलु जोन कार्यक्रम सञ्चालन भएको हो ।

Shares

Be the first to comment on "दोलखामा आलु जोन कार्यक्रमले उत्साह"

Leave a comment

Your email address will not be published.


*