दोलखामा आलु जोन कार्यक्रम सञ्चालन हुने

दीक्षण समाचार चरिकोट, मङ्सिर २६

दोलखामा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र आलु जोन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत चालु आवदेखि जिल्लाको पाँच वटा वडामा आलु जोन कार्यक्रम सञ्चालन हुने भएको हो । सडक तथा सिंचाइ पूर्वाधारको सुविधा भएको तथा बढी मात्रामा आलु उत्पादन हुने जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ९ र शैलुङ गाउँपालिकाको वडा नं. १, ३, ६ र ८ लाई आलु जोनका लागि छनौट गरिएको छ । जोन कार्यक्रम अन्तर्गत ती वडाहरुमा आलु उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि इकाईले विशेष प्राथमिकताका साथ अनुदान तथा सहयोग उपलब्ध गराउनेछ । इकाईका बरिष्ठ कृषि अधिकृत यामकुमार श्रेष्ठका अनुसार जोन क्षेत्रमा ५० देखि ८५ प्रतिशत सम्म अनुदानका कार्यक्रम सञ्चालन गरिने छ । चालु आर्थिक वर्ष जोन कार्यक्रम सञ्चालनको लागि कूल ४१ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ । सो बजेटबाट यान्त्रिकीकरण सहयोग, सिंचाई पुर्वाधार निर्माण तथा मर्मत सम्भार, उत्पादन, प्रविधि, पोष्ट हार्भेष्ट तथा अभिमुखीकरण, खायन आलु जातीय उत्पादन प्रदर्शन कार्यक्रम, बीउ आलु उत्पादन प्रदर्शन कार्यक्रम, बाली संरक्षण सेवा, आलुको प्याकेजिङ, लेवलिङ तथा बजारीकरण कार्यहरु हुने छ । त्यसैगरी नयाँ जोनको आधारभूत तथ्याङ्क संकलन र अद्यावधिक, प्रतिवेदन तयारी तथा प्रकाशनका क्रियाकलापहरु सञ्चालन हुने बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सुचिकृत हुन अनुरोध

परियोजनाले केही दिन अघि एक सूचना जारी गर्दै आलु जोन कार्यक्रममा सहभागी हुन चाहने कृषक समूह, कृषि समिति, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनीलाई सुचिकृत हुन आह्वान गरेको छ । पुस ७ गतेसम्म इकाई कार्यालयमा आवश्यक कागजात साथ लिएर आई सुचिकृत हुन सकिने छ । सुचिकृत हुनका लागि रु दशको हुलाक टिकट टाँस गरी निवेदन, सुचिकृत विवरण फारम, वडा कार्यालको सिफारिस, समूह, सहकारी, समिति, कृषि कम्पनीको हकमा निर्णयको माईन्युटको प्रतिलिपी, अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, गत आवको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी र आलुबाली खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी आवश्यक पर्दछ । किवी जोन कार्यक्रम सञ्चालन गर्दै आएको इकाईले चालु आवबाट आलु जोन कार्यक्रम सञ्चालन गर्ने भएपछि किसानहरु उत्साहित भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा आलु जोन कार्यक्रम सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*