दोलखामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, असोज २
दोलखाको सदरमुकाम चरिकोटमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “आत्महत्या रोकथाममा हामी सबैको सहकार्य” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
जीवन ठूलो हो । जिउनु महान कार्य हो । त्यसैले आत्महत्या जस्तो पलायनको प्रकृतिबाट टाढा हुँदै जीवनलाई गतिशीलता प्रदान गरी जिउनुपर्ने कार्यक्रमका वक्तारहरूको जोड थियो । मानसिक तनाव र पीडाबाट प्रताडित व्यक्तिलाई त्यसबाट मुक्त गराउँदै आत्महत्या जस्तो गलत र जीवन समाप्त हुने बाटो रोज्नबाट रोक्न घरपरिवार, समुदाय सबैको जिम्मेवारी हुने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख उत्तमराज खनालले गरिबी, असफलता, अवसरबाट वञ्चित हुन, बेरोजगारी, अभाव, इच्छाको पूर्ति नहुनु लगायतका कारण मानसिक रुपमा हुने दबाब र तनावलाई व्यक्तिले बेलैमा व्यवस्थापन गर्न सकेमा यस्ता घटना नहुने सुनाउनु भयो । तनाव र पीडाले ग्रसित व्यक्तिलाई जीवन प्रतिको आशा जगाउन मनोपरामर्श प्रदान र उपचार सेवा उपलब्ध गराउन सकेमा सो व्यक्तिको मानसिक रुपमा आएको तनाव जन्य परिस्थिति हटाउन सकिने उहाँले बताउनु भयो ।
आत्महत्या पूर्व व्यक्तिले विभिन्न संकेत तथा लक्षणहरू देखाउने गर्दछ । ती लक्षण देखिनासाथ हेलचेक्र्याइँ र ढिला नगरी व्यक्तिलाई मनोपरामर्श र उपचार सेवा उपलब्ध गराए दुर्घटनाबाट जोगाउन सकिन्छ । तनाव र पीडाका कारणहरू पहिचान गरी त्यसको निराकरण तथा व्यवस्थापन गरी सन्तोषी, खुशी र सुन्दर जीवन बनाइनु पर्छ । कार्यक्रममा वक्ताहरूले आत्महत्या बढ्दै गएकोले त्यसलाई न्यूनीकरण र रोकथामका लागि बलियो संयन्त्र बनाइनुपर्ने र सचेतना कार्यक्रमलाई व्यापक पार्नुपर्ने, मनोपरामर्श सेवालाई समुदाय स्तरमा सहज पहुँचयुक्त बनाइनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो । कोणसभा पूर्व टुँडिखेलबाट निकालिएको सचेतनामूलक ¥यालीले बजार परिक्रम गरिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो । २५ गते विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्लामा तय भएको सचेतना कार्यक्रम बेलायती रानी एलिजावेथको निधनका कारण स्थगित गरिएको थियो ।

Shares

Be the first to comment on "दोलखामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*