दोलखामा आठ सय ७२ पिन्ट रगत संकलन, दुई सय २४ पिन्ट गरियो नष्ट

ईश्वर विश्वकर्मा
चरिकोट, साउन १
दोलखामा १६ महिनाको अवधिमा आठ सय भन्दा बढी रगत सङ्कलन भएको छ । २०७७ माघ देखि २०७९ जेठ मसान्त सम्म रक्तसञ्चार केन्द्रबाटै र विभिन्न संघसंस्था र कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रमबाट आठ सय ७२ पिन्ट रगत सङ्कलन भएको हो । वार्षिक उत्सव, विभिन्न दिवस, वार्षिक साधारण सभा लगायतका दिनको अवसरमा संघसंस्था, कार्यालय र राजनीतिक दलका भातृ संगठन गरी ३० भन्दा बढी सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । रक्तदानको वार्षिक कार्यतालिका अनुरूप नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रको समन्वयमा ’रक्तदान जीवनदान’ भन्ने नाराका साथ हुने कार्यक्रममा रक्तदाताको सहभागिता उत्साहजनक भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार रक्तदान गर्नेमा पुरुष धेरै रहेका छन् । पछिल्ला समयमा महिलाहरूको सहभागिता पनि रक्तदान कार्यक्रम हुन थालेको पाइएको छ ।
खपत कति ?
रगत अभावलाई मध्यनजर गर्दै संकलन गरिएको रगत मध्ये दुइ सय ४८ पिन्ट जिल्लामै खपत भएको छ । सभापति पोखरेलका अनुसार सबैभन्दा बढी पशुपति चौलागाईं स्मृति अस्पतालमा खपत भएको छ । अन्य अस्पताल तथा स्वास्थ्य चौकीहरूमामा पनि रगतको खपत भएको छ । शल्यक्रिया गर्नुपर्ने सुत्केरी, चोटपटक र रक्तअल्पता भएका बिरामीहरूका लागि रगत खपत भएको हो ।
७० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था अति कमजोर भएका बिरामीहरूका लागि निशुल्क रगत उपलब्ध गराइदिन पालिकाबाट सिफारिस गरिएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइको छ भने, अन्य बिरामीहरूको लागि भने पाँच सय शुल्क लाग्छ।
दुई सय २४ पिन्ट गयो खेर
रक्तदान कार्यक्रमबाट संकलित सबै रगत प्रयोग गर्न नमिल्ने किसिमको पनि हुन्छ । लो भोलम भएको, बोसोको मात्रा बढी भएको, हेमोग्लोबिन मात्रा कम भएको तथा सरुवा रोग देखिएको र म्याद सकिएको रगत प्रयोग गर्नु हुँदैन । जिल्लामा संकलित आठ सय ७२ रगत मध्ये दुई सय पिन्ट सोही किसिमको देखिएपछि नष्ट गरिएको छ । सभापति पोखरेलका अनुसार मापदण्ड नपुगेको र म्याद सकिएको रगत प्रयोग गर्न नमिल्ने भएकाले नष्ट गरिएको बताउनुभयो।
भक्तपुर पठाइयो चार सय पिन्ट
जिल्लामा खपत नभएका रगत म्याद सकिनु अगावै भक्तपुर पठाइने गरिएको छ । १६ महिनाको अवधिमा ४ सय पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको रक्तसञ्चार केन्द्रमा पठाइएको छ । भक्तपुर जिल्ला शाखासँग रक्तसञ्चार सेवाको सम्झौता भई दोलखाबाट रिफर भएका बिरामीहरूलाई भक्तपुर जिल्ला शाखाबाट रगत सहज रुपमा उपलब्ध भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले २०६५ देखि स्वास्थ्य कार्यालयको भवनमा रक्तसञ्चार केन्द्रको सुरु गरेको थियो । रक्त सञ्चार सेवा केन्द्रले जिल्लाभित्र सञ्चालित अस्पतालहरूमा उपचाररत बिरामीका लागि आवश्यक पर्ने रगत सहज र सुलभ तरिकाले उपलब्ध गराउने कार्य गर्दै आएको छ ।

Shares

Be the first to comment on "दोलखामा आठ सय ७२ पिन्ट रगत संकलन, दुई सय २४ पिन्ट गरियो नष्ट"

Leave a comment

Your email address will not be published.


*