दोलखामा अनियमित विद्युतले “स्मार्ट” बनेन भान्सा

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ १
दाउरा र ग्यासमा भन्दा विद्युतीय चुलोमा छिटो खाना पाक्छ । यसले भान्सालाई स्वच्छ र सहज बनाउँछ । भान्साको कार्य अवधि र बोझ घटाउँछ । यसले दाउरा र ग्यासमा खर्च हुने पैसा जोगाउँछ । विद्युतीय चुलाले भान्सा “स्मार्ट” बनाउँछ । यस्तो प्रकारको विशेषता भएको विद्युतीय चुलो दोलखाका मुख्य बजारका भाँडा पसलमा केही वर्षदेखि पर्याप्त मात्रामा उपलब्ध छ । तर माग, बिक्री र प्रयोग भने शून्य जस्तै रहेको छ । नागरिकको भान्सालाई प्रविधिमैत्री र “स्मार्ट” बनाउन दाउरा र एलपी ग्यासको विकल्पमा विद्युतीय चुलोको प्रयोग उपयुक्त रहेको छ । सरकारले समेत विद्युतको खपत बढाउन र भान्सालाई दाउरा र ग्यास विकल्पमा विद्युतीय चुलोको प्रयोगमा जोड दिएको छ । तर यसको प्रयोग सबै ठाउँमा हुन सकेको छैन । यसको पहुँच सबै भान्से कहाँ पुगेको छैन ।
उपभोक्तालाई मध्यनजर गर्दै सदरमुकाम चरिकोटका भाँडा पसलहरूमा विद्युतीय चुलो र उक्त चुलोका लागि भाँडाहरू पर्याप्त रहेका छन् । तर खरीद बिक्री भने न्यून रहेको व्यवसायीहरुले बताएका छन् । चरिकोटका भाँडा व्यवसायी भीमराज थापाले उपभोक्तालाई सहज उपलब्धताको लागि विद्युतीय चुलो बिक्रीमा राखिएको भएपनि खरीद भने अति न्यून हुने गरेको बताउनुभयो । “विद्युतीय चुलोको विशेषता र उपयोगिता विशिष्ट किसिमको छ । यसको प्रयोगले भान्सा सहज र छोटो बनाउँछ । दाउरा र ग्यासलाई विस्थापन गरी सर्वसाधारणको पहुँचमा विद्युतीय चुलोको प्रयोग बढाउने लक्ष्य सरकारको पनि रहेको छ ।” उहाँले भन्नुभयो, “सोही उद्देश्य पुरा गर्न साथ दिँदै हामी व्यवसायीले पनि उपभोक्तालाई मध्यनजर गरी विद्युतीय चुलोको मुल्य लिएर उपलब्ध गराउँछौँ । तर यसको माग निकै कम रहेको छ ।” ग्यासको भाउ बढ्दा केही मानिसले विद्युतीय चुलोको विषयमा चासो राखेर खरीद गरेका थिए । तर बिक्रीका लागि काठमाडौँबाट ढुवानी गरी ल्याइएका चुलो बिक्री नहुँदा सबै मौज्दात बसेको भाँडा व्यवसायी थापाले बताउनुभयो ।

उहाँले आफ्नो पसलमा मात्र होइन, अरु पसलमा पनि उही अवस्था रहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा विद्युत अनियमित हुने समस्या, विद्युतीय चुलोको प्रचारप्रसारको अभाव लगायतका कारण यस्तो प्रकारको चुलोको माग र प्रयोग बढ्न नसकेको बताउनुभयो । “ जिल्लामा पहिलो कुरा विद्युत आपूर्ति अनियमित हुने गरेको छ । जसले गर्दा विद्युतीय चुलोमा भर पर्न सकिने अवस्था छैन । विद्युत नहुँदा विद्युतीय चुलोको कामै छैन । फेरी उही ग्यास र दाउरामै फर्किन पर्ने हुन्छ ।” उहाँले भन्नुभयो “विद्युत अनियमित हुनुले पनि निकै क्षति हुने गरेको छ । त्यसैले विद्युतको आपूर्ति नियमित गर्नुका साथै विद्युतीय चुलोको प्रचारप्रसार बढाइनुपर्छ ।”


भीमेश्वर नगरपालिका वडा न. ४ जिलुका इन्द्र बहादुर श्रेष्ठले दाउरा बालिने चुलोको सट्टामा विद्युतीय चुलोको प्रयोग गर्ने चाहना भएपनि जिल्लामा अघोषित लोडसेडिङले आफ्नो चाहना र मनस्थिति मोड्न बाध्य भएको सुनाउनुभयो । “ दाउरा बालेर खाना पकाउँदा धुँवा हुन्छ । फुफु फुकेर बस्नुपर्छ । यसबाट मुक्त हुनका लागि हामीले पनि विद्युतीय चुलोको खरीद गर्न कहाँ मन नगरेको होर ।” उहाँले भन्नुभयो “ तर के गर्नु अहिले बिजुली दिनमा दश पटक भन्दा बढी आउनेजाने गर्छ । यसले प्रयोग गरिरहेका विद्युतीय सामाग्री त बिग्रिएला भन्ने डर छ । विद्युतीय चुलोको त दिवा सपना मात्र हो ।”


नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले भने विद्युतीय चुलोको महत्व र मूल्यको प्रचारप्रसार हुन नसक्दा माग र प्रयोग समेत हुन नसकेको बताउनुभयो । “ग्यासको प्रयोग भन्दा विद्युतीय चुलोको प्रयोग सस्तो पर्छ । यसले ग्यास किन्नुपर्ने झन्झटबाट पनि मुक्ति पाइन्छ । खर्च पनि जोगिन्छ ।” उहाँले भन्नुभयो “तर यस विषयमा जानकारी हुन नसक्दा मानिसको भान्सामा दाउरा र ग्यासको भरमा खाना पाक्छ । विद्युतीय चुलो प्रति आकर्षण बढेको छैन ।” विद्युतीय चुलो बजारमा छ, सात हजारदेखि माथीका मूल्यमा खरीद गर्न सकिन्छ । चुलोसँगै त्यसलाई मिल्ने भाँडा समेत खरीद गर्न भुल्नुहुँदैन । गुणस्तरीय चुलो एकपटक खरीद गरेपछि दिगो र टिकाउयुक्त हुन्छ । प्रमुख ढकालका अनुसार अहिले जिल्लामा विद्युतको खपत हुन नसकी खेर गइरहेको छ । तर भान्सामा विद्युतको खपत गरी खेर जानबाट बचाउन सकिने भएपनि त्यस्तो हुन सकेको छैन । उहाँले विद्युत खपत बढाउन र भान्सालाई सहज बनाउन विद्युतीय चुलोमा जोड दिनपर्ने सुनाउनुभयो । गुणस्तरीय तारको जडान र किफायती र गुणस्तर चुलोको प्रयोगले विद्युतीय दुर्घटनाको कुनै जोखिम हुँदैन ।


हाइड्रो र विद्युतको हब दोलखाका अधिकांश भु–भागमा विद्युत विस्तार भइसकेका छन् । बाँकी रहेका क्षेत्रमा समेत भौगोलिक कठिनाई तथा जोखिम मोलेरै भएर पनि विद्युत विस्तार भईरहेका छन् । त्यसैले विद्युतको पहुँच भएको ठाउँमा विद्युतीय चुलोको प्रयोगले भान्सालाई प्रविधियुक्त बनाउन सकिन्छ । विद्युत चुलोको प्रयोग हुँदा दाउरा र ग्यासलाई विस्थापन गर्छ । जसले गर्दा समय, पैसा र श्रमको समेत बचत हुन्छ । उहाँले जिल्लामा विद्युत नियमित आपूर्तिका लागि विद्युत प्रणालीको गुणस्तर सुधार र नयाँ प्रविधिको विस्तार गरिरहेकोको बताउनुभयो । नियमित विद्युत आपूर्ति, चुलोको सुरुवाती मूल्य सस्तो र यसको प्रचारप्रसारमा व्यापक पार्ने हो, भने जसरी बिजुली पुगेर सबैको हातहातमा स्मार्ट फोन पुगेको छ । भविष्यमा त्यसरी नै हरेका घरको भान्सामा विद्युतीय चुलो प्रयोग हुने देखिन्छ ।

Shares

Be the first to comment on "दोलखामा अनियमित विद्युतले “स्मार्ट” बनेन भान्सा"

Leave a comment

Your email address will not be published.


*