दोलखाबाट चोरिएका दुई सम्पदा विदेशमा फेला

दीक्षण समाचार
चरिकोट, असोज १
दोलखाको निजी पारिवारिक सङ्ग्रहबाट चोरी भएको दुई वटा पुरातात्विक सम्पदा विदेशमा फेला परेको छ । १६ औँ शताब्दी तिर निर्माण भएको पुरातात्विक महत्वको ती दुई सम्पदा १९९० तिर हराएको र अहिले विदेश स्थित छुट्टाछुट्टै स्थानमा फेला परेको लस्ट आर्ट्स अफ नेपालले जनाएको छ । उसका अनुसार दोलखाबाट चोरी भएको तामाको सुनौलो बज्रधारा बेलायतमा र सुनौलो भैरवको मुकुन्डो अमेरिकामा फेला परेको हो ।
कोरछेँ स्थित श्रेष्ठ परिवारमा रहेको सुनौलो बज्रधारा अहिले लण्डन स्थित आर्ट डिलर रोस्सी एण्ड रोस्सीको सङ्ग्रहमा राखिएको छ । नकछेँ स्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मुकुन्डो अहिले अमेरिका न्यूयोर्क स्थित रुबिन म्युजियम फ आर्टमा फेला परेको छ । ती सम्पदाहरूको शिरताज (क्राउन) फेरिएको तथा रङ्गरोगन थपेर केही संशोधन गरिएको देखिएको लस्ट आर्ट्स अफ नेपालले जनाएको छ । प्रधान परिवारको गुठीबाट विगतमा अरु सम्पदा पनि चोरी भएको थियो ।
लस्ट आर्ट्स अफ नेपालले नेपालबाट हराएका वा चोरिएका सम्पदाको पहिचान गर्नुका साथै राखिएको स्थान र अवस्थाबारे सूचना दिने गर्दछ ।  

Shares

Be the first to comment on "दोलखाबाट चोरिएका दुई सम्पदा विदेशमा फेला"

Leave a comment

Your email address will not be published.


*