दोलखाबाट घट्याे जडिबुटी निर्यात

इश्वर बिश्वकर्मा

चरिकोट, साउन १५
जडिबुटीका लागि उर्वर जिल्ला दोलखाको निजी तथा सामुदायिक वनबाट शक्तिबद्र्धक एवं बहुमूल्य जडिबुटी निर्यात घटेकाे छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष जडिबुटी संकलन, उत्पादन तथा निर्यात कम भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा १ लाख १३ हजार केजी जडिबुटी निकासी भएको थियो । गत आर्थिक वर्ष २०७६÷०७७ मा ६१ हजार ६ सय ७५ केजी मात्र उत्पादन तथा निकासी भएको छ ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ५१ हजार ३ सय ४४ कम जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । गत बर्ष ७ प्रकारको जडिबटी उत्पादन भई बिक्री भएको छ । खोटो, मजिटो, लोक्ता, सुगन्धवाल, अर्गेली, मच्छिनो र चोत्रो गरि ७ प्रकारका जडिबुटी उत्पादन तथा निकासी भएको हो ।
जिल्लामा सबैभन्दा बढी २३ हजार ८ सय केजी खोटो उत्पादन तथा बिक्री भएको छ । सबैभन्दा कम मच्छिनो अर्थात् धसिङ्गारे करिब ४ सय केजी उत्पादन तथा बिक्री भएको कार्यालयले जनाएको छ । चोत्रो १७ हजार, अर्गेली १२ हजार ३ सय ७५, सुगन्धवाल ४५ सय, लोक्ता १४ सय, मजिटो २२ सय केजी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका अधिकृत एवं सुचना अधिकारी शम्भु बराइलीले बताए ।
अघिल्लो वर्ष ११ प्रकारको जडिबुटी उत्पादन तथा निकासी भएको थियो । उक्त वर्ष १ लाख १३ हजार १९ केजी उत्पादित जडिबुटी बिक्री भएको थियो । जिल्लामा मच्छिनो ९ हजार ७ सय ९७ केजी, अर्गेली १४ हजार ८ सय ७४, चोथ्रो ९ हजार ९ सय ५०, लोक्ता ३ हजार ८ सय ३०, मजिठो २ हजार ६ सय, तितेपाती १ हजार ५ सय केजी परिमाणमा उत्पादन तष्था निकासी भएको थियो । साथै खोटो ४७ हजार ८ सय ७३, नागबेली पाउडर २ सय २३, लौठसल्ला २० हजार २ सय ५०, कोइला १ हजार २ सय, नेपाली कागज ९ सय २२ केजीको परिमाणमा उत्पादन तथा निकासी भएको छ । जिल्लाको २ लाख १४ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमध्ये ४७ दशमलब ३७ प्रतिशत वन क्षेत्र रहेको छ । १३ दशमलब ७७ प्रतिशत क्षेत्र भने घाँसे भूमिले ढाकेको छ ।

Shares

Be the first to comment on "दोलखाबाट घट्याे जडिबुटी निर्यात"

Leave a comment

Your email address will not be published.


*