दोलखाबाट काँकडभित्ता बस सेवा

दीक्षण समाचार
चरिकोट, ५ बैशाख
दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा चल्ने भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरु भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले उनीहरुको सुविधाका लागि काँकडभित्तासम्म सिधा बस सेवा चल्ने भएको हो ।
दोलखाको रोल्वालिङ यातायात सहकारी संस्थाको अगुवाइमा चरिकोटदेखि काँकडभित्तासम्म बस सेवा चल्ने भएको हो । सिधा बस सेवा सञ्चालनका लागि पछिल्लो २ महिनामा चरिकोट र काठमाडौंमा विभिन्न व्यवसायीक समितिहरुसँग छलफल भएको छ ।
रोल्वालिङले २ वर्ष अघि नै चरिकोटबाट बस छुटाए तापनि त्यो बस सिन्धुलीमा अवरोध भएपछि रोकिएको थियो । चरिकोटबाट छुटेको बस रामेछाप, सिन्धुली बर्दिबास हुँदै काँकडभित्ता पुग्ने छ । भोलीपल्ट सोही बस काँकडभित्ताबाट चरिकोटसम्म चल्ने छ । बस दैनिक रात्री सेवामा चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
रोल्वालिङ यातायातले ३ वर्ष अघि नै झापाको मेची यातायातसँगको सहकार्यमा बस सञ्चालन तयारी गरेको थियो । पछि ढोली खोलाको पुल बगाएको र वीपी राजमार्गमा बसलाई परमिट विवाद लगायतका कारणले रोकिएको थियो ।
सिधा बस सेवा सञ्चालन भएपछि दोलखा र रामेछापबाट व्यवसाय र रोजगारका सिलसिलामा भारतको सिक्किम, दार्जिलिङ पुगेकाहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यसैगरी पूर्वी नेपालबाट दोलखाको भ्रमणमा आउनेहरुलाई पनि सहज हुने छ । यात्रुहरुको माग र आवश्यकताका आधारमा सिधा बस सेवा सञ्चालन गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
पछिल्लो चरण्मा रोल्वालिङ, अरनिको र विपी यातायात बीच सहमति भएको छ । तर पूर्वका मेचीमा धेरै यातायात समिति भएकाले उनीहरु बीचमा सहमति हुन नसक्दा ढिला भएको रोल्वालिङका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए । अब उनीहरु बीच सहमति भए पनि नभए तापनि बैशाख दोस्रो सातापछि बस सेवा चल्ने उनले बताए । चरिकोटदेखि काँकडभित्तासम्मको दूरी ४ सय ६० किलोमिटर छ ।

Shares

Be the first to comment on "दोलखाबाट काँकडभित्ता बस सेवा"

Leave a comment

Your email address will not be published.


*